पूर्वाधार वाच, काठमाडौं ।
सरोकारवालाले काठमाडौं जस्ता शहरमा खुला स्थानको संरक्षण अत्यावश्यक रहेको बताएका छन् ।
सोमबार सञ्चारिका समूहद्वारा राजधानीमा आयोजित एक अन्तरक्रियामा सहभागी विशेषज्ञ र अधिकारीहरूले प्राकृतिक विपद्का बेला सर्वसाधारणको सुरक्षाका लागि खुला स्थानको अभाव गम्भीर चुनौती बन्दै गएको बताएका हुन् ।
कार्यक्रममा विज्ञहरूले नेपाल भूकम्पीय रूपमा संवेदनशील भएकाले सङ्घ, प्रदेश र स्थानीय तह सबैले खुला स्थान व्यवस्थापनलाई नीतिगत प्राथमिकतामा राख्नुपर्ने धारणा राखे ।
वातावरण र शहरी विकासबारे अध्ययन गर्दै आएका पत्रकार मुकेश पोखरेलका अनुसार काठमाडौं उपत्यकाको कुल क्षेत्रफल करिब ७२१ वर्ग किलोमिटर भए पनि खुला स्थानको अनुपात अत्यन्तै न्यून छ ।
काठमाडौं उपत्यका विकास प्राधिकरणको तथ्याङ्कअनुसार जहाँ ४० देखि ५० प्रतिशत खुला क्षेत्र हुनुपर्नेमा हाल ०.५१ प्रतिशत मात्र खुला स्थान छ ।
जलवायु र जनजीविका क्षेत्रका विज्ञ दिनेश गुरुङले खुला स्थानको महत्वबारे चर्चा भए पनि संस्थागत गर्न कठिनाइ भइरहेको बताए ।
विपद् व्यवस्थापन ऐन भए पनि यसको प्रभावकारी कार्यान्वयन चुनौतीपूर्ण रहेको उनको टिप्पणी थियो ।
कार्यक्रमका अन्य सहभागीहरूले सार्वजनिक जग्गा अतिक्रमण बढ्दै गएको र खुला स्थान संरक्षणप्रति सरकारी निगरानी कमजोर भएकाले स्थानीय तहका जनप्रतिनिधि बढी जिम्मेवार बन्नुपर्ने सुझाव दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्