पूर्वाधार वाच, पोर्चुगल।
पोर्चुगलको लिस्बनस्थित रहेको नेपाली दूतावासले सामुद्रिक टापु ‘मदेइरा’मा राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणसम्बन्धी ‘कन्सुलर’ सेवा दिन सुरु गरेको छ ।
पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलको नेतृत्वमा गएको दूतावासको टोलीले मदेइरा आइल्याण्डको फुन्चालमा घुम्ती शिविर सञ्चालन गरेर शनिबारदेखि राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणसम्बन्धी ‘कन्सुलर’ सेवा दिन थालेको हो । घुम्ती सेवा सुरु भएसँगै शिविरस्थलमा सेवाग्राही आउने क्रम चलिरहेको र झण्डै २० नेपालीले सेवा लिइसकेको टोलीले जनाएको छ ।
राहदानी नवीकरण तथा प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) लगायतका कागजात प्रमाणीकरणसम्बन्धी समस्यामा परेका नेपालीलाई घुम्ती शिविरमार्फत मदेइरामै सेवा दिन सुरु गरिएको राजदूत पौडेलले बताए ।
दुई दिनसम्म सञ्चालन हुने घुम्ती शिविरबाट मदेइरा क्षेत्रमा बसोबास गर्ने एक सय बढी नेपालीले सेवा लिने अपेक्षा गरिएको उनले बताए। आइतबारसम्म सञ्चालन हुने शिविरमा उपस्थित भई राहदानी नवीकरणलगायतका कागजात प्रमाणीकरणसम्बन्धी सेवा लिन मदेइरावासी नेपाली समुदायलाई विशेष आग्रहसमेत गरे ।
शिविर अवधिभर दूतावासको टोलीले राहदानीको म्याद सकिएका, हराएका, क्षति भएका तथा राहदानीको म्याद छ महिनाभन्दा कम रहेकाको विद्युतीय राहदानी (ई–पासपोर्ट)का लागि जैविक विवरणसहितको आवेदन सङ्कलन गर्नेछ ।
यस्तै प्रहरी रिपोर्ट, पारिवारिक कागजातलगायत अन्य कागजात प्रमाणीकरण, अधिकृत वारेसनामा प्रमाणीकरणलगायतका सेवा प्रदान गरिने दूतावासले जनाएको छ । दूतावासले मदेइरा टापुमा पहिलोपटक घुम्ती शिविर सञ्चालन गरेको हो ।
घुम्ती शिविरले राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणसम्बन्धी समस्यामा परेका मदेइराबासी नेपालीलाई राहत मिलेको गैर आवासीय नेपाली सङ्घ पोर्चुगलका पूर्वमहासचिव निराजन सुवेदीले बताए ।
मदेइरामै राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणसम्बन्धी सेवा लिन पाउँदा मदेइरा क्षेत्रमा बसोबास गर्ने नेपालीहरूका लागि अत्यन्तै सहज भएको सुवेदीले बताए । यसअघि गत महिना पनि दूतावासले पोर्चुगलको फारो सहरमा घुम्ती शिविर सञ्चालन गरेर दुई सय नेपालीलाई सेवा दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्