पूर्वाधार वाच, काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन आयोजना कार्यान्वयन इकाई प्रमुख इन्जिनियर बिनेश मुनकर्मीले भ्रष्टाचारमार्फत् अकुत सम्पत्ति आर्जन गरेको दात्रबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत उक्त विमानस्थल निर्माणका क्रममा आयोजना प्रमुख इ. मुनकर्मीले पदीय मर्यादा विपरीतका कार्यहरू गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्नेसमेत व्यहोराको उजुरीका आधारमा अनुसन्धान हुँदा उनको आर्थिक गडबडी सतहमा आएको अख्तियारका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीको जानकारी दिए ।
मुनकर्मीले सरकारी जागिर सुरु गरेको वि.सं. २०५४ फागुन १ गतेदेखि वि.सं २०८० मंसिर १४ गतेसम्म अवधिमा उनले पेश गरेको सम्पत्ति विवरण, पारिश्रमिकरतलब बचत, जग्गा बिक्री आय, ऋणरसापटी आय, शेयर बिक्री आय, लाभांशरमुनाफा आय, विमा परिपक्करसमर्पण आय, दैनिक भ्रमण भत्ता बचत, पुरस्कार रकम, कार्यालयबाट प्राप्त बोनस आय रकम, प्रोत्साहन भत्ता बचत, ब्याज कर लगायत विश्लेषण गर्दा उनले कमाएको भन्दा करोडौं रकम अकुत आर्जन गरेको भेटिएको अख्तियारको दाबी छ ।
स्रोत पुष्टि हुन नसकेको गैरकानूनी सम्पत्तिमा मुनकर्मीविरुद्ध २ करोड ५० लाख ३४ हजार पाँच सय सत्र रुपैयाँको बिगो मागदाबी गरेको छ ।
अख्तियारले दायर गरेको मुद्दामा भनिएको छ, ‘निजले वार्षिक रुपमा पेस गरेको सम्पत्ति विवरण फारममा वास्तविक सम्पत्तिको विवरण उल्लेख नगरी सम्पत्ति लुकाई छिपाई झुट्टा विवरण पेस गरेको पुष्टि भएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (२) बमोजिमको कसूरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (२) बमोजिम कैद र जरिवाना गरी यसरी लुकाई छिपाई राखिएको सम्पत्ति जफत हुन समेत मागदाबी लिइएको छ।’
उक्त मुद्दामा बिनेश मुनंकर्मीको श्रीमती पूर्ण केशरी गोसाईलाई समेत अख्तियारले प्रतिवादी बनाएको छ । मुनकर्मीले स्रोत नखुल्ने आयबाट श्रीमतीको नाममा खरिद गरिएका सम्पत्तिहरु जफत प्रयोजनार्थ पूर्ण केशरी गोसाईलाई समेत प्रतिवादी कायम गरेको जनाएको छ ।
‘बिनेश मुनंकर्मीले सार्वजनिक सेवाको पदमा रहँदाका बखत अख्तियारको दुरुपयोग गरी गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको स्रोत नखुल्ने सम्पत्तिहरूबाट श्रीमतीको नाममा खरिद गरिएका सम्पत्तिहरु साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ग ऐ. ऐनको दफा द्दढ को उपदफा (१) र हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (२), ऐ. ऐनको दफा ४७ को उपदफा (२), ऐ. ऐनको दफा ४७, अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख, समेतका प्रचलित कानूनबमोजिम जफत गर्ने प्रयोजनार्थ मात्र निजको श्रीमती पूर्ण केशरी गोसाईलाई प्रतिवादी कायम गरिएको छ।’, अख्तियारले भनेकाे छ ।
पछिल्लो समय पोखरा विमानस्थल जस्तो राष्ट्रिय गौरवको आयोजनामा नेतृत्वदायी भूमिकामा रहेका व्यक्ति नै अस्वाभाविक धनार्जनमा संलग्न रहेको पाइएपछि यसले राज्यको कार्यप्रणाली र कर्मचारीहरुको भ्रष्ट आचरण समेत उजागर गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता भएको दाबीसहित यसअघि नै ५ जना पूर्वमन्त्रीसहित ५६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा गर्दा गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्