पूर्वाधार वाच, काठमाडौं।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) काठमाडौँ जिल्ला समितिद्वारा आयोजित खेलकुद सप्ताह–२०८२ विविध खेल प्रतियोगिता र पुरस्कार वितरणसहित नेरीक एकेडेमीमा सम्पन्न भएको छ। मंसिर २२ गतेदेखि पुस १ गतेसम्म सञ्चालन भएको खेलकुद सप्ताहमा फुटसल, बास्केटबल, कबड्डी र तानडोरी प्रतियोगिता भएका थिए, जसमा १३९ भन्दा बढी विद्यालयका कक्षा ९ सम्मका विद्यार्थी सहभागी थिए।
फुटसलतर्फ निर्मल ज्योति, कबड्डीमा ज्ञानभूमि (छात्र) र भीमेश्वर (छात्रा), बास्केटबलमा हिमाली तथा तानडोरीमा एलिगेण्ट (छात्र) र माइलस्टोन (छात्रा) स्कुल विजेता बने। विजयी टिम तथा खेलाडीलाई ट्रफी, मेडल र नगद पुरस्कार प्रदान गरिएको थियो।
समापन समारोहमा नेशनल प्याब्सन काठमाडौँका अध्यक्ष अमृतकुमार खड्काले खेलकुदले विद्यार्थीको सर्वाङ्गीण विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो भने केन्द्रीय अध्यक्ष सुवाष न्यौपानेले निजी विद्यालयहरू शैक्षिकसँगै शारीरिक र सामाजिक विकासमा पनि उत्तरदायी हुनुपर्ने उल्लेख गर्नुभयो।
खेलकुद सप्ताहअन्तर्गत आयोजित मार्चपास प्रतियोगितामा एपेक्स स्कुल प्रथम, सगरमाथा स्कुल द्वितीय र निर्मल ज्योति स्कुल तृतीय भएका थिए। विभिन्न विद्यालयमा सञ्चालन गरिएका खेल प्रतियोगिताका लागि ग्राउण्ड उपलब्ध गराउने विद्यालय तथा कार्यक्रम सफल बनाउन सहयोग गर्ने खेल संयोजक, शिक्षक र स्वयंसेवकको आयोजकले प्रशंसा गरेको छ।
कार्यक्रमका प्रायोजकमा युनिक पब्लिकेशन, शुभकामना पब्लिकेशन, ट्रीटन कलेज र नेरीक एकेडेमी रहेका थिए। आयोजकका अनुसार खेलकुद सप्ताहले विद्यार्थीहरूमा अनुशासन, सहकार्य र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गराउँदै विद्यालयस्तरमा खेल संस्कृतिको प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान पुर्याएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्