images
images
images

सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर

images

धौलागिरि । म्याग्दीको बेनी नगरपालिका–३, मरेककी एकल महिला कर्णकुमारी पुर्जा पुनले गत वर्षको सुन्तला बेचेर थालेकी पक्की घर निर्माण यस वर्षको सुन्तला बिक्रीसँगै सम्पन्न हुँदैछ । उमेरले ७२ वर्ष पुग्नुभएकी कर्णकुमारीले गत वर्ष सुन्तला बेचेर कमाएको रु १५ लाखसहित आफूसँग बचत रहेको केही रकम खर्चिएर बनाउँदै गरेको ढलान घरमा रङरोगन भइरहेको छ ।

यस वर्ष उनको बारीमा रु १० लाखभन्दा बढीको सुन्तला फलेको छ । कर्णकुमारीले फलाएको सुन्तलाको दुई वर्षकोे कमाइबाट घर ठडिन्छ । सुन्तलाबाट पर्याप्त आम्दानी हुन थालेपछि उनको पहिलो रोजाइमा घर निर्माण परेको हो । यसअघि उहाँको कच्ची घर जिर्ण अवस्थामा रहेको थियो ।

श्रीमान्को निधनपछि जोत्ने हलगोरू र काम गर्ने खेताला खोज्न झन्झट लागेर सुन्तलाखेती गरेकी कर्णकुमारीको बगैचा अहिले पहेँलपुर छ । मकै, कोदो, गहुँजस्ता परम्परागत खेतीबाली लगाउन छाडेर करिब २० वर्ष अगाडि सुन्तलाका केही थान बिरूवा ल्याएर खेती थालेकी कर्णकुमारीले पहिलो उत्पादन बेचेर रु एक हजार ६०० कमाएका थिए। सुन्तलाबाट रु एक सय, रु एक हजार हुँदै रु १५ लाखसम्म बझेका छन् । अहिले कर्णकुमारीको १० रोपनी क्षेत्रफलमा सुन्तला बगैँचा फैलिएको छ ।

कुनै वर्ष रोगले सुन्तला सखाप हुँदा निराश भए पनि हरेस नखाएकी कर्णकुमारीको दैनिकी सुन्तला बगैँचामै बित्ने गरेको छ । “आफ्ना सन्ततिलाई जस्तै गरी सुन्तलाको बोटलाई स्याहार गर्छु, मलाई खुसी दिने यही सुन्तलाका बोट बनेका छन्, बूढेसकालमा पनि मेरो दैनिकी सुन्तलासँगै चलेको छ”, उनले भने । गत वर्षको तुलनामा कम फले पनि उत्पादनबाट सन्तुष्ट रहेको कर्णकुमारी बताउँछन् ।

रोजगारीको सिलसिलामा अफगानिस्तान पुग्नुभएका श्रीमान्को २०६७ सालमा आतङ्ककारीको आक्रमणबाट निधन भएपछि घर व्यवहार धान्न हम्मेहम्मे परेको कर्णकुमारीले बताए । सुन्तलाले दैनिकी सहज बनाएको उनको भनाइ छ । सुन्तलाको कमाइले छोरीहरूको शिक्षादीक्षा, विवाहलगायतका घरायसी खर्चसँगै बचतसमेत गरेको कर्णकुमारीले बताउए ।

“आफ्नो संसार उजाडिएपछि मलाई बाँच्न सुन्तलाले सिकाएको छ, सुन्तलाले आर्थिक रुपमा बलियो बनाएको छ”, कर्णकुमारीले भने । सुन्तलाखेती बूढेसकालको सहारा बनेको छ । घरखर्च चलाउन श्रीमान्, सन्तानमाथि निर्भर हुनुपर्ने अवस्थाको अन्त्य गर्न फलफूल र तरकारीखेती गरे पुग्ने कर्णकुमारीको सुझाव छ ।

उनी मरेक गाउँमा सबैभन्दा धेरै सुन्तला फलाउने कृषकको रुपमा चिनिन्छन् । सुन्तला खरिदका लागि आएका व्यापारीले समेत कर्णकुमारीको बगैँचालाई पहिलो रोजाइमा पार्ने गर्दछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्