images
images
images

‘होलिडे इन’ र क्लव चौलानी लिमिटेडबीच होटल व्यवस्थापन सम्झौता, धनगढीमा पहिलो अन्तर्राष्ट्रिय पाँचतारे होटल बन्दै

images

पूर्वाधार वाच, काठमाडौं।

अन्तर्राष्ट्रिय होटल चेन ‘होलिडे इन’क्लव चौलानी लिमिटेडबीच होटल व्यवस्थापनसम्बन्धी महत्वपूर्ण सम्झौता सम्पन्न भएको छ। नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलको प्रमुख आतिथ्यतामा बुढानिलकण्ठस्थित होलिडे इन रिसोर्टमा आयोजित विशेष कार्यक्रममा सम्झौतामा हस्ताक्षर गरिएको हो।

सम्झौतामा क्लव चौलानी लिमिटेडका तर्फबाट अध्यक्ष डा. राजेन्द्र के. सी. र ‘होलिडे इन’को दक्षिण एसियाका प्रबन्ध निर्देशक सुदीप जैनले हस्ताक्षर गरेका छन्। उक्त अवसरमा आयोजित पत्रकार भेटघाटमा परियोजनाको संरचना, लगानी मोडालिटी तथा आगामी कार्ययोजनाबारे विस्तृत जानकारी गराइएको थियो। साथै, आईपीओ निष्कासन तथा बिक्री व्यवस्थापनका लागि गरिमा क्यापिटललाई प्रवर्द्धक (इश्यू म्यानेजर) को रूपमा नियुक्त गरिएको जानकारी पनि दिइयो।

सम्झौताअनुसार धनगढीमा निर्माण हुन लागेको ‘होलिडे इन, धनगढी’ सुदूरपश्चिम प्रदेशकै पहिलो अन्तर्राष्ट्रिय होटल चेनअन्तर्गतको पाँचतारे होटल हुनेछ। होटलमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार ५ प्रिमियम सुइटसहित ११५ वटा अत्याधुनिक अतिथि कक्ष, करिब १८,५०० वर्गफुट क्षेत्रफलको भव्य व्यान्क्वेट हल, ७०० जनासम्म अट्ने कार्यक्रम स्थल, रूफटप स्विमिङ पुल, बहु–परिकार रेष्टुरेन्ट, पूर्ण रूपमा सुसज्जित फिटनेस सेन्टर, विभिन्न सम्मेलन तथा बैठक कक्ष र विशेष निजी डाइनिङ सुविधाहरू रहने जनाइएको छ।

परियोजनाको कुल लागत करिब रु. २२० करोड रहने अनुमान गरिएको छ। जसमध्ये ६५ प्रतिशत (रु. १४३ करोड) बैंक ऋणबाट र बाँकी ३५ प्रतिशत (रु. ७७ करोड) प्रवर्द्धकहरूको स्व–पूँजीबाट व्यवस्थापन गरिनेछ।

धनगढी प्राकृतिक सौन्दर्य, धार्मिक–सांस्कृतिक सम्पदा, जैविक विविधता र आर्थिक सम्भावनाले भरिपूर्ण क्षेत्र मानिन्छ। भारतका उत्तराखण्ड र उत्तर प्रदेशका प्रमुख सहरसँग नजिक रहेकाले यहाँ भारतीय पर्यटकको ठूलो आगमन सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका सातै जिल्लाको प्रमुख प्रवेशद्वारका रूपमा विकसित हुँदै गएको धनगढी, महेन्द्रनगर नजिक तथा धनगढी विमानस्थलबाट करिब ८ किलोमिटर दूरीमा अवस्थित छ।

‘होलिडे इन, धनगढी’ परियोजनाले सुदूरपश्चिम प्रदेशमा अन्तर्राष्ट्रियस्तरको आतिथ्य सेवा, गुणस्तरीय आवास र व्यावसायिक पर्यटनको नयाँ युगको सुरुआत गर्ने अपेक्षा गरिएको छ। यसले स्थानीय रोजगारी सिर्जना गर्नुका साथै क्षेत्रीय पर्यटन प्रवर्द्धन र आर्थिक गतिविधिमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्