काठमाडौं । सरकारले विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने भएको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले डोटीको विपीनगर, ताप्लेजुङको श्रीचङ्घा, डोल्पाको धो, मुगुको खत्याग, कालिकोटको रास्कोट, बाजुराको कोल्टी, दार्चुलाको गोकुलेश्वर, बैतडीको मेघौली र सङ्खुवासभाको हिदाङगढीमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधीमन्त्री जगदीश खरेलले गृह मन्त्रालयअन्तर्गतको सङ्गठन संरचना र दरबन्दी तेरिज तथा नागरिकता चौथो संशोधन नियमावली स्वीकृत गर्ने निर्णयसमेत गरिएको जनाकारी दिए ।
बैठकले पुस १५ गतेलाई राष्ट्रिय च्याउ दिवसका रूपमा मनाउने निर्णय गर्नुका साथै जापानमा प्रशिक्षार्थी कामदार पठाउनेसम्बन्धी निर्देशिका खारेज गरिएको पनि उनले बताए ।
सरकारले यसअघि नै जापानमा प्रशिक्षार्थी कामदार पठाउने निर्देशिका खारेज गर्ने तयारी गरेको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उक्त निर्देशिका खारेजीको तयारी थियो। त्यस विषयमा अध्ययन गर्न मन्त्रालयका सहसचिव तथा प्रवक्ता पिताम्बर घिमिरेको संयोजकत्वमा समिति गठन गरिएको थियो ।
मन्त्रालयले २०६६ सालमा जापानमा प्रशिक्षार्थी कामदार पठाउने निर्देशिका जारी गरेको थियो ।
सोही आधारमा जापान इन्टरनेसल ट्रेनिङ कोअपरेसन अर्गनाइजेसन (जिट्को)मार्फत नेपाली श्रमिकलाई जापानमा काम गर्न पठाउने गरी निर्देशिका बनेको थियो ।
जिट्को अन्तर्गत सूचीकृत भएका म्यानपावर व्यवसायीहरूले कामदार पठाउने गरेका थिए । जुन जापान सरकारले सन् २०१७ मा नै खारेज गरिसकेको थियो ।
सन् २०१७ मा जिट्को खारेज गरेर टेक्निकल इन्टर्न ट्रेनिङ प्रोग्राम (टीआईटीपी)मार्फत नेपालबाट प्रशिक्षार्थी कामदार पठाउने गरिएको थियो ।
जापानले यो समेत खारेज गरेर सन् २०२७ देखि इम्प्लोयमेन्ट फर स्किल डेभलपमेन्ट (ईएसडी) कार्यक्रम ल्याउँदैछ । सोही ईएसडी अन्तर्गत कामदार लैजाने तयारी जापानको छ ।
त्यसैगरी, वैदेशिक रोजगारीका सिलसिलामा इराक गई त्यहाँको आधिकारिक भिसा प्राप्त गरेका नेपाली नागरिकले नेपाल आएको बखत ‘रेसिडेन्सी कार्ड’को सक्कल र फोटोकपीसहित आवेदन पेस गरेमा श्रम स्वीकृतिका लागि स्वीकृति प्रदान गर्ने निर्णयसमेत गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्