images
images
images

ऐतिहासिक श्री महलको पुनर्निर्माण सुरु

images

ललितपुर । पुल्चोकस्थित राणाकालीन ऐतिहासिक दरबार संरचना श्री महलको पुनर्निर्माण कार्य औपचारिक रूपमा सुरु भएको छ । विसं २०७२ को विनाशकारी भूकम्पबाट क्षतिग्रस्त बनेको यस महल लामो समयदेखि जीर्ण अवस्थामा रहँदै आएको थियो ।

वर्षौंदेखि उपेक्षित अवस्थामा रहेको श्री महललाई पुरानै मौलिक शैली र स्वरूपमा पुनर्निर्माण गर्ने उद्देश्यसहित सहरी विकास तथा भवन निर्माण विभागले गत भदौ १८ गते निर्माण सम्झौता गरी काम अगाडि बढाएको हो । सम्झौताअनुसार आयोजनाको कूल लागत रु ७२ करोड ९७ लाख २९ हजार ९४३ रहेको छ भने निर्माण कार्य दुई वर्षभित्र सम्पन्न गर्नुपर्नेछ ।

सहरी विकास तथा भवन निर्माण विभागको जिम्मेवारीमा रहेको यस आयोजनाअन्तर्गत प्रारम्भिक चरणको निर्माण कार्य सुरु भइसकेको विभागले जनाएको छ ।

यसअघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत प्रक्रिया अगाडि बढाइए पनि प्राविधिक कारणले काम अघि बढ्न नसकेको बताइएको छ । पछि सम्बन्धित निकायमा जिम्मेवारी सरेसँगै पुनर्निर्माण प्रक्रिया तीव्र बनाइएको हो ।

विभागका अनुसार श्री महलको पुनर्निर्माण गर्दा यसको ऐतिहासिक, सांस्कृतिक तथा वास्तुकलात्मक विशेषता यथावत राखिनेछ । आवश्यक अध्ययन, संरचनात्मक परीक्षण तथा ‘डिजाइन’ स्वीकृतिपछि निर्माण कार्य सुरु गरिएको जनाइएको छ ।

राणा युगमा निर्माण भएको श्री महल ऐतिहासिक तथा प्रशासनिक दृष्टिले महत्वपूर्ण सम्पदा मानिन्छ । पुनः निर्माण सम्पन्न भएपछि यस महललाई सरकारी प्रयोजन तथा सांस्कृतिक सम्पदाका रूपमा उपयोग गर्ने योजना रहेको सम्बन्धित निकायले जनाएको छ ।

स्थानीयवासी तथा सम्पदा संरक्षणकर्मीहरूले श्री महलको पुनर्निर्माण सुरु भएकोमा खुसी व्यक्त गर्दै समयमै गुणस्तरीय काम सम्पन्न गर्न माग गरेका छन् । लामो समयदेखि पर्खाइमा रहेको यस ऐतिहासिक संरचनाले अब फेरि जीवन पाउने अपेक्षा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्