पूर्वाधार वाच, काठमाडौं।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ६१औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको रक्तदान तथा नि:शुल्क स्वास्थ्य शिविर मंगलबार सम्पन्न भएको छ। बैंकको केन्द्रीय कार्यालय काठमाडौंसहित विभिन्न प्रदेशस्थित प्रादेशिक कार्यालयहरूमा सञ्चालन गरिएको रक्तदान कार्यक्रममा कुल ४१३ जना रक्तदाताले रक्तदान गरेका छन्।
त्यसैगरी, बैंकको केन्द्रीय कार्यालय सिंहदरबार प्लाजामा सञ्चालन गरिएको नि:शुल्क स्वास्थ्य शिविरमा करिब २५० जना कर्मचारीले स्वास्थ्य परीक्षण गराएका छन्।
शिविरमा सुमेरु अस्पताल, जावलाखेल (ललितपुर) का अनुभवी चिकित्सकहरूको टोलीले मधुमेह, युरिक एसिड, आँखा परीक्षण तथा मृगौला परीक्षण (किड्नी फङ्सन टेस्ट) जस्ता सेवा नि:शुल्क रूपमा प्रदान गरेको थियो। साथै, यूएसजी (USG) टेस्टलगायत अन्य स्वास्थ्य परीक्षण सेवा सहुलियतपूर्ण शुल्कमा उपलब्ध गराइएको बैंकले जनाएको छ।
वि.सं. २०२२ सालमा पूर्ण सरकारी स्वामित्वमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंक आउँदो माघ १० गते आफ्नो स्थापना भएको ६० वर्ष पूरा गरी ६१औँ वर्षमा प्रवेश गर्दैछ। हाल बैंकले सातै प्रदेशका ७७ जिल्ला सदरमुकामसहित दुर्गम क्षेत्रहरूमा समेत सेवा विस्तार गर्दै आएको छ।
बैंकले देशभर ३१३ वटा शाखा कार्यालय, ७१ वटा एक्सटेन्सन काउन्टर, ३२२ वटा एटीएम तथा ९९ वटा शाखारहित बैंकिङ सेवामार्फत आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ। सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य र रक्तदानजस्ता कार्यक्रममार्फत समुदायप्रति बैंकको प्रतिबद्धता झल्किएको बताइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्