काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्माणाधीन संसद भवन परिसरमा जेनजी आन्दोलनका सहिदहरूको सालिक अनिवार्य रूपमा राख्नुपर्ने स्पष्ट सन्देश दिँदै सम्बन्धित निकायलाई कडा निर्देशन दिएकी छन्। प्रधानमन्त्रीले कुनै पनि बहाना वा ढिलासुस्ती स्वीकार्य नहुने भन्दै संसद भवन निर्माणको गुरुयोजना नै संशोधन गरेर भए पनि काम तुरुन्त अघि बढाउन आदेश दिएकी हुन्।
आज सिंहदरबारमा आयोजित उच्चस्तरीय छलफलमा प्रधानमन्त्री कार्कीले सहिदको सम्मान प्रतीकात्मक विषय मात्र नभई राज्यको नैतिक दायित्व भएको उल्लेख गरिन्। उनले आन्दोलनकारी जेनजीसँग सरकारका तर्फबाट गरिएको सम्झौता कागजमा सीमित नरहने र त्यसको कार्यान्वयन संसद परिसरबाटै देखिनुपर्ने स्पष्ट भनाइ राखिन्।
छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, खानेपानीमन्त्री मदन परियार र शहरी विकास मन्त्री कुमार इङ्नामसहित उच्च पदस्थ अधिकारीहरूको सहभागिता थियो।
प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार गोविन्दनारायण तिमिल्सिना, संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डे, प्रधानमन्त्री कार्यालय, अर्थ, सहरी विकास र कानुन मन्त्रालयका सचिवहरू पनि छलफलमा उपस्थित थिए।
सहरी विकास सचिव गोपाल सिग्देलले सहिदका सालिक राख्न पहिचान गरिएका स्थान र सम्भावित डिजाइनबारे जानकारी गराएपछि प्रधानमन्त्री कार्कीले ढिलाइप्रति असन्तुष्टि जनाउँदै तत्काल गुरुयोजना संशोधन प्रक्रिया सुरु गर्न निर्देशन दिइन्। उनले संसद भवन निर्माणसँगै सहिद स्मारकको काम समानान्तर रूपमा अघि बढ्नुपर्ने स्पष्ट गरिन्।
सरकारले जेनजी आन्दोलनका सहिदहरूको त्याग र बलिदानलाई सम्मान, न्याय र अर्थपूर्ण स्मृतिमा रूपान्तरण गर्ने प्रतिबद्धता जनाइसकेको स्मरण गराउँदै प्रधानमन्त्री कार्कीले अब प्रतिबद्धता कार्यान्वयनमा देखिनुपर्ने बताइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्