म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दर्मीजामा बहुउद्देश्यीय सामुदायिक भवन निर्माण भएको छ । रु ४२ लाखको लागतमा करिब ३०० जना क्षमताको सामुदायिक भवन निर्माण भएको हो । भवन निर्माणका लागि गण्डकी प्रदेश सरकारबाट रु १५ लाख र रघुगङ्गा गाउँपालिकाबाट रु २० लाख बजेट विनियोजन भएको उपभोक्ता समितिका अध्यक्ष विप्रसाद पुनले जानकारी दिए ।
दर्मीजा प्रभावित क्षेत्र रहेको माथिल्लो राहुघाट जलविद्युत् आयोजनाको प्रवद्र्धक तुदी पावर कम्पनीले रु पाँच लाख सहयोग गरेको छ । आयोजनाको सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत थप रु तीन लाख विनियोजन भएको वडाध्यक्ष पविन गर्बुजाले बताए ।
निर्माण सुरु भएको तीन वर्षमा भवन सम्पन्न भएको हो । भवन निर्माण भएपछि भेला, बैठक, छलफल, सांस्कृतिक कार्यक्रम आयोजना गर्न सहज भएको छ । विवाह, छेवार, किरियालगायत संस्कारगत कार्य र भोजभतेरका लागि टहरा बनाउनुपर्ने समस्या हटेको छ ।
दर्मीजामा १०० घरपरिवारको बसोबास छ । यसअघि पञ्चायतकालमा निर्माण भएको भवन सामुदायिक भवन जीर्ण बनेपछि त्यसलाई भत्काएर नयाँ निर्माण गरिएको हो । भवनको दर्मीजाका ज्येष्ठ नागरिक पदमबहादुर गर्बुजा र प्रतिनिधिसभाका निर्वतमान सांसद खमबहादुर गर्बुजा (खम्बिर)ले शुक्रबार उद्घाटन गरेका छन्।
कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारी, पूर्वसांसद विनोद केसी, रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी, उपाध्यक्ष प्रेमकुमारी पुन लगायतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्