पूर्वाधार वाच, गोरखा ।
गोरखा क्षेत्र नम्बर १ बाट आगामी २०८२ फागुन २१ गते हुन गइरहेको संसदीय निर्वाचनका लागि युवा समाजसेवी तथा पर्यटन क्षेत्रका अगुवा प्रेमकुमार खत्री नेपाली कांग्रेस बाट उम्मेदवार बनेका छन्। लामो समयदेखि सामाजिक सेवा, पर्यटन प्रवर्द्धन र स्थानीय रोजगारी सिर्जनामा सक्रिय खत्रीले “कुरा होइन, काम बोल्छ” भन्ने नारासहित चुनावी मैदानमा उत्रिएका छन्।
खत्रीले आफ्नो प्रमुख एजेन्डामा स्वास्थ्य तथा सामाजिक सुरक्षा, शिक्षा र बालबालिका, महिला तथा युवा सशक्तीकरण, साथै संस्कृति र रोजगारीलाई प्राथमिकतामा राखेका छन्। उनका अनुसार गोरखा जिल्लामा नियमित स्वास्थ्य शिविर सञ्चालन, दुर्गम क्षेत्रमा स्वास्थ्य चौकी सुदृढीकरण, विपन्न परिवारका लागि आवास निर्माण, र विपद् उद्धार तथा राहतलाई संस्थागत बनाउने लक्ष्य रहेको छ।
शिक्षा क्षेत्रमा उनले विद्यार्थीलाई पोसाक, स्टेशनरी सहयोग, आवासीय विद्यालय पूर्वाधार सुधार तथा आर्थिक रूपमा कमजोर बालबालिकाका लागि छात्रवृत्ति र सहयोग कार्यक्रमलाई निरन्तरता दिने बताएका छन्। महिला र युवाका लागि आयआर्जन, नेतृत्व विकास, आत्मनिर्भरता अभिवृद्धि गर्ने कार्यक्रम तथा खेलकुद र सीप विकासमा लगानी गर्ने उनको प्रतिबद्धता छ।
त्यसैगरी, पर्यटन पृष्ठभूमिबाट आएका खत्रीले स्थानीय संस्कृति संरक्षण, पर्यटन प्रवर्द्धन र स्वरोजगार सिर्जनालाई दीर्घकालीन विकासको आधार मानेका छन्। कृषि, कफी खेती र स्थानीय उत्पादनलाई बजारसँग जोडेर रोजगारी विस्तार गर्ने योजनालाई उनले आफ्नो प्रमुख कार्यसूचीमा राखेका छन्।
स्थानीयस्तरमै परिवर्तन सम्भव छ भन्ने विश्वाससहित खत्रीले सेवा, विकास र जवाफदेहितालाई केन्द्रमा राखेर संसदीय भूमिकामा प्रभावकारी उपस्थिति जनाउने लक्ष्य लिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्