काठमाडौं।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, जुम्लामा गैरकानुनी रूपमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) जारी गरेको अभियोगमा तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले कार्यालयका तत्कालीन निमित्त प्रमुख मदनप्रसाद देवकोटा, मेकानिकल सुपरभाइजर शम्भु दाहाल र प्रहरी नायब निरीक्षक (सई) गंगाराम विश्वकर्माविरुद्ध आइतबार मुद्दा दायर गरेको हो।
अख्तियारको अनुसन्धानअनुसार वैदेशिक रोजगारीका लागि मलेसियामा रहेका शालिकराम भण्डारीको नाममा जुम्लाबाट वर्ग ‘बी’ को सवारी चालक अनुमतिपत्र जारी गरिएको पाइएको छ। भण्डारी २०७० भदौ १९ गते मलेसिया गएको र २०७५ भदौ २३ गते मात्र नेपाल फर्किएको देखिन्छ।
तर उनी मलेसियामै रहेको समयमा २०७५ साउन २० गते लिखित तथा प्रयोगात्मक परीक्षा उत्तीर्ण गरेको देखाई साउन २५ गते लाइसेन्स (नं. १४–००४५२३०) जारी गरिएको अख्तियारले जनाएको छ। जसकारण सरकारी सेवा प्रणालीमाथि नै प्रश्न उठाएकाे छ ।
फेल र अनुपस्थितलाई ‘सेटिङ’मा पास
अनुसन्धानका क्रममा भण्डारीबाहेक अन्य १७ जना परीक्षार्थी, जो प्रयोगात्मक परीक्षा ९ट्रायल० मा फेल भएका वा अनुपस्थित थिए, उनीहरूलाई समेत गैरकानुनी रूपमा उत्तीर्ण गराइएको खुलासा भएको छ। कम्प्युटर प्रणालीमा रहेको ‘फेल’ वा ‘अनुपस्थित’ नतिजालाई ‘युजर आईडी ४६७’ प्रयोग गरी अनधिकृत रूपमा सच्याएर ‘पास’ बनाइएको अख्तियारको दाबी छ।
लाइसेन्स पाउनेहरूमा फेल भएका शिवबहादुर क्षेत्री, अंकबहादुर शाही, शान्ता कुमारी चौलागाई, प्रेमप्रसाद उपाध्याय, मेघराज डाँगी, मीनबहादुर मल्ल, सरस्वती भुर्तेल, सबिका दाहाल, दीपक शाही, रेशम अधिकारी, नेत्रकला जैसी, आस्था भट्टराई, विकास खत्री, आरती न्यौपाने, लोकेन्द्र मल्ल र ताराबहादुर थापा रहेका छन्। त्यस्तै, अनुपस्थित भएका हिमाल बोहोरा र कुङ सन्डुप लामालाई पनि उत्तीर्ण देखाएर लाइसेन्स जारी गरिएको छ।
यातायात व्यवस्था विभागको सूचना प्रविधि शाखाको प्राविधिक प्रतिवेदनअनुसार तत्कालीन निमित्त कार्यालय प्रमुख मदनप्रसाद देवकोटाले आफ्नो युजर आईडी प्रयोग गरी परीक्षाको नतिजा फेरबदल गरेको पुष्टि भएको छ। राष्ट्रसेवक कर्मचारीहरूले बदनियतका साथ सरकारी कागजात तथा विद्युतीय अभिलेखमा हेरफेर गरी भ्रष्टाचार गरेको अख्तियारको निष्कर्ष छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्