images
images
images

सिन्धुपाल्चोक–२ मा बंशलाल तामाङको समर्थनमा युवा एकजुट, अर्गानिक भ्याली र रोजगारी सिर्जनाको प्रतिबद्धता

images

पूर्वाधार वाच, काठमाडौं ।

सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ का नेपाली कांग्रेसका उम्मेदवार बंशलाल तामाङको समर्थनमा युवाहरू एकजुट भएका छन् । सोमबार काठमाडौंमा आयोजित युवा भेलामा मेलम्ची नगरपालिका सहित क्षेत्र नं. २ अन्तर्गतका विभिन्न स्थानबाट उल्लेख्य संख्यामा युवाहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिव सुनारले पार्टीभित्र सुधार र आत्मसमीक्षा प्रक्रिया अघि बढिसकेको बताउँदै भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनमा कांग्रेस प्रतिबद्ध रहेको दाबी गरे । उनले इन्द्रावती गाउँपालिकाको नेतृत्व सम्हाल्दा तामाङले इमान्दार र पारदर्शी ढंगले काम गरेको उल्लेख गर्दै विदेशमा आर्जित अनुभवलाई स्थानीय विकासमा रूपान्तरण गर्ने स्पष्ट कार्ययोजना रहेको बताए ।

नेपाली कांग्रेस सिन्धुपाल्चोकका पूर्व जिल्ला सचिव तथा महाधिवेशन प्रतिनिधि बिलबहादुर तामाङले युवाहरू राजनीतिक रूपमा सचेत र जिम्मेवार बन्नुपर्नेमा जोड दिए । नेतृत्वका कमजोरीप्रति प्रश्न उठाउने साहस युवामा हुनुपर्ने उल्लेख गर्दै उनले लोकतन्त्रको सुदृढीकरणका लागि कांग्रेसलाई विजयी गराउनु आवश्यक रहेको धारणा राखे ।

उम्मेदवार बंशलाल तामाङले पार्टीले सुधारको मार्ग अवलम्बन गरेको उल्लेख गर्दै सन्तुलित तथा दिगो विकास आफ्नो प्राथमिकता हुने बताए । उनले हेलम्बु गाउँपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकालाई “अर्गानिक भ्याली” का रूपमा विकास गर्ने योजना सार्वजनिक गर्दै कृषि, पर्यटन र स्थानीय उत्पादनमार्फत युवाका लागि रोजगारी सिर्जना गर्ने प्रतिबद्धता जनाए । पाँच वर्षभित्र बृहत् विकास योजना कार्यान्वयन गरी क्षेत्र नं. २ लाई नमुना क्षेत्रका रूपमा स्थापित गर्ने उनको भनाइ थियो ।

मेलम्ची नगरपालिका–१० का वडाध्यक्ष तथा वडासभापति अमृत खनालले नगरपालिकामा कांग्रेस नेतृत्व आएपछि विकास निर्माणले गति लिएको दाबी गर्दै युवामैत्री कार्यक्रमहरूलाई प्राथमिकतामा राखिएको बताए ।

युवा नेता भिम बिकले बंशलाल तामाङलाई विजयी गराउन युवाहरू सक्रिय रूपमा चुनावी अभियानमा जुट्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा सहभागी युवाहरूले परिवर्तन, सुशासन र रोजगारी सिर्जनालाई मुख्य एजेन्डा बनाएर अघि बढ्ने साझा प्रतिवद्धता जनाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्