नेपाली कांग्रेसको आयोजनामा ‘वृहत् तरुण युवा भेला’ आज काठमाडौंमा सम्पन्न भएको छ । सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ का कांग्रेस उम्मेदवार बंशलाल तामाङको समर्थनमा आयोजित उक्त कार्यक्रम पिस ब्याङ्क्वेट, नारायणटार काठमाडौंमा भएको थियो ।
युवा परिचालन एवं निर्वाचन प्रचार–प्रसार समितिको आयोजनामा सम्पन्न भेलामा सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं. २ अन्तर्गतका विभिन्न पालिकाबाट आएका युवाहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा युवाहरूले परिवर्तन, सुशासन र दिगो विकासको एजेन्डासहित कांग्रेस उम्मेदवार तामाङलाई विजयी गराउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले कांग्रेसले आत्मसमीक्षा र सुधारको प्रक्रियालाई अघि बढाउँदै सुशासन तथा पारदर्शितालाई प्राथमिकतामा राखेको बताएका थिए । उनीहरूले बंशलाल तामाङले इन्द्रावती गाउँपालिकाको नेतृत्व सम्हाल्दा इमान्दार र पारदर्शी रूपमा काम गरेको उल्लेख गर्दै अब संघीय संसदमा पुगेर क्षेत्र नं. २ को समग्र विकासका लागि प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
उम्मेदवार तामाङले सन्तुलित तथा दिगो विकासलाई आफ्नो मुख्य प्राथमिकता हुने दोहोर्याउँदै हेलम्बु गाउँपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकालाई ‘अर्गानिक भ्याली’ का रूपमा विकास गर्ने योजना पुनः सार्वजनिक गरे । कृषि, पर्यटन र स्थानीय उत्पादन प्रवर्द्धनमार्फत युवाहरूलाई रोजगारी सिर्जना गर्ने आफ्नो स्पष्ट कार्यदिशा रहेको उनले बताए ।
कार्यक्रममा सहभागी युवाहरूले पाँच वर्षभित्र क्षेत्र नं. २ लाई नमुना क्षेत्रका रूपमा विकास गर्ने लक्ष्यका साथ चुनावी अभियानमा सक्रिय रूपमा जुट्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
नेपाली कांग्रेसले “राष्ट्रियता, लोकतन्त्र र समाजवाद” को मूल नारासहित सञ्चालन गरेको युवा भेलाले चुनावी माहोललाई थप सक्रिय बनाएको आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्