images
images
images

तेह्रथुम सरोकार समाजको नयाँ वर्ष शुभकामना कार्यक्रम सम्पन्न, जिल्लाको विकास एजेन्डामाथि व्यापक छलफल

images

पूर्वाधार वाच, काठमाडौं।

तेह्रथुम सरोकार समाजद्वारा आयोजित नयाँ वर्ष २०८३ को शुभकामना आदानप्रदान कार्यक्रम काठमाडौंमा भव्यताका साथ सम्पन्न भएको छ। समाजका अध्यक्ष डिल्लीराम ढुंगेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तेह्रथुम जिल्लाबाट निर्वाचित जनप्रतिनिधि, पूर्वमन्त्री, विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व तथा राजधानीमा बसोबास गर्ने तेह्रथुमवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

बजेटमा तेह्रथुमका प्राथमिकता समेट्न माग

कार्यक्रममा आगामी आर्थिक वर्षको बजेटमा तेह्रथुम जिल्लाका प्राथमिकताका योजना तथा विकास एजेन्डा समेट्नुपर्ने विषयमा विस्तृत छलफल गरिएको थियो। पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि तथा रोजगारीका विषयलाई प्राथमिकतामा राख्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।

सो अवसरमा विभिन्न क्षेत्रबाट समाज तथा जिल्लाको विकासमा योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई सम्मान समेत गरिएको थियो। कार्यक्रममा स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक हरिपतिलाल श्रेष्ठले व्यक्त गरेका थिए भने सञ्चालन उपमहासचिव बिरेन्द्र कुरुवाङले गरेका थिए।

एकता र सामाजिक योगदानमा जोड

समारोहलाई सम्बोधन गर्दै अध्यक्ष डिल्लीराम ढुंगेलले जिल्लाको समग्र विकासका लागि सबै तेह्रथुमवासी एकजुट हुनुपर्ने आवश्यकता औंल्याए। उनले तेह्रथुम सरोकार समाज कुनै राजनीतिक आग्रह वा पूर्वाग्रहबाट प्रभावित नभई सामाजिक योगदानलाई मात्रै आधार मानेर अघि बढिरहेको स्पष्ट पारे।

उनले पछिल्लो राजनीतिक परिवर्तन र नयाँ सरकार गठनसँगै देशमा विकास, सुशासन र स्थायित्वको नयाँ आशा जागेको उल्लेख गर्दै त्यसको सकारात्मक प्रभाव जिल्लामा पनि पर्ने विश्वास व्यक्त गरे।

राजधानीमा तेह्रथुमवासीलाई जोड्ने साझा संस्था

तेह्रथुम सरोकार समाज तेह्रथुमवासीहरूबीच एकता कायम राख्ने, जिल्लाको सामाजिक–आर्थिक विकासमा योगदान दिने तथा राजधानीमा समस्यामा परेका तेह्रथुमे नागरिकलाई सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको सामाजिक संस्था हो।

वि.सं. २०८१ सालको साधारणसभाबाट डिल्लीराम ढुंगेलको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको थियो। समाजले जिल्लाको हितका विषयमा निरन्तर आवाज उठाउँदै विभिन्न सामाजिक तथा रचनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।


विशिष्ट व्यक्तित्वहरूको सहभागिता

कार्यक्रममा प्रतिनिधिसभा सदस्य सन्तोष सुब्बा, विष्णुमाया बी.क., पूर्वमन्त्रीहरू भानुभक्त ढकाल, सीता गुरुङ, भवानी खापुङ, पूर्वसांसद डा. विजय सुब्बा, बागमती प्रदेशकी मन्त्री उर्मिला के.सी., विभिन्न प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधि, पूर्व सुरक्षा अधिकारी, शिक्षाविद्, सामाजिक अभियन्ता तथा तेह्रथुमका विभिन्न पालिकाका प्रमुखहरूको उपस्थिति रहेको थियो।

समारोहमा सहभागीहरूले आपसी एकता, सहकार्य र समन्वयमार्फत तेह्रथुम जिल्लाको विकासलाई तीव्रता दिन साझा प्रतिबद्धता व्यक्त गरेका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्