images
images
images

आइडियादेखि उद्यमसम्म : ‘ग्लोबल ग्याम्बिट २०२६’ ले देखायो नयाँ सम्भावना

images

काठमाडौं। ग्लोबल कलेज इन्टरनेसनल (जीसीआई)को जीसीआई इन्टरप्रेनरसिप क्लबको आयोजनामा, ग्लोबल कलेज अफ टेक्नोलोजी (जीसीटी)को सहकार्य तथा द डुअर्स बिकम अ डुअर लगायत विभिन्न साझेदार संस्थाको सहभागितामा साउन १५ देखि १७ गतेसम्म सञ्चालन गरिएको ‘ग्लोबल ग्याम्बिट स् द पिचर्स एरिना २०२६’ भव्य रूपमा सम्पन्न भएको छ।

युवामा उद्यमशील सोच, नवप्रवर्तन, नेतृत्व क्षमता तथा शिक्षा–उद्योग सहकार्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित तीनदिने कार्यक्रममा एकेडेमिया–इन्डस्ट्री कनेक्ट, ग्लोबल बिजनेस मेला, बिजनेस आइडिया पिचिङ, एलिभेटर पिच तथा ट्रेडएक्स १०० लगायत विविध कार्यक्रम सञ्चालन गरिएको थियो। कार्यक्रममा काठमाडौं उपत्यकाका १३ वटा कलेजका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ।

कार्यक्रमको प्रमुख आकर्षणका रूपमा आयोजित ‘एकेडेमिया–इन्डस्ट्री कनेक्ट स् ह्वेयर आइडियाज मिट अपर्चुनिटिज’ विषयक प्यानल छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)की पहिलो महिला अध्यक्ष भवानी राणा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। उहाँले उद्योग, नेतृत्व, उद्यमशीलता तथा युवाको भूमिकाबारे आफ्ना अनुभव साझा गर्दै शिक्षा र उद्योगबीचको सहकार्य समयको आवश्यकता भएको बताउनुभयो।

प्यानल छलफलको सहजीकरण युवा अभियन्ता नवीन गिरी ले गर्नुभएको थियो। छलफलमा याङ्गो नेपालका कन्ट्री म्यानेजर सन्तोष पाण्डे, ब्राइट एकेडेमीकी संस्थापक सीए अनुपमा सङ्ग्रौला तथा एनवाइईएफ ललितपुरका प्रथम उपाध्यक्ष प्रकिरण श्रेष्ठ ले शिक्षा र उद्योगबीचको सहकार्य, नवप्रवर्तन, नेतृत्व विकास तथा विद्यार्थीलाई अवसरसँग जोड्ने विषयमा आफ्ना अनुभव र धारणा प्रस्तुत गर्नुभएको थियो।

त्यसैगरी, ग्लोबल बिजनेस मेला मा विद्यार्थी तथा युवा उद्यमीहरूले आफ्ना उत्पादन, सेवा तथा व्यवसायिक अवधारणाको प्रदर्शन गर्दै प्रत्यक्ष बजार परीक्षण गर्ने अवसर प्राप्त गरेका थिए। मेलाले विद्यार्थीलाई आफ्ना व्यवसायिक अवधारणाको परीक्षण, ग्राहकसँग प्रत्यक्ष अन्तरक्रिया तथा बजारको अनुभव हासिल गर्ने प्रभावकारी मञ्च प्रदान गरेको आयोजकको भनाइ छ।

कार्यक्रमअन्तर्गत आयोजित बिजनेस आइडिया पिचिङ प्रतियोगितामा १३ वटा कलेजका उत्कृष्ट टोलीबीच प्रतिस्पर्धा भएको थियो। प्रतियोगितामा टेक्सास इन्टरनेसनल कलेज प्रथम, काष्ठमण्डप ए–लेभल एकेडेमी द्वितीय तथा ग्लोबल कलेज अफ म्यानेजमेन्ट तृतीय भएका छन्।

त्यसैगरी, नेपालमै पहिलो पटक लिफ्टभित्र आयोजना गरिएको ‘एलिभेटर पिच’ प्रतियोगिताले विशेष आकर्षण सिर्जना गरेको थियो। सीमित समयभित्र आफ्नो व्यवसायिक अवधारणा प्रभावकारी रूपमा प्रस्तुत गर्नुपर्ने उक्त प्रतिस्पर्धामा काष्ठमण्डप ए–लेभल एकेडेमीका निशान्त ढकाल प्रथम घोषित भए।

उद्यमशीलताको व्यावहारिक अनुभव दिलाउने उद्देश्यले सञ्चालन गरिएको ट्रेडएक्स १०० कार्यक्रममा प्रत्येक टोलीलाई एक सय रुपैयाँ उपलब्ध गराई दुई घण्टाभित्र त्यसलाई प्रयोग गर्दै अधिकतम प्रतिफल सिर्जना गर्ने चुनौती दिइएको थियो। वास्तविक बजार, जोखिम व्यवस्थापन तथा व्यवसायिक निर्णय क्षमतामा आधारित उक्त प्रतिस्पर्धामा ग्लोबल कलेज इन्टरनेसनल ए–लेभल टोली विजेता बन्न सफल भएको छ।

कार्यक्रममा अनुप घिमिरे, साविया शाह र सदेश गैरे ले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो। कार्यक्रम इन्चार्ज नवीन गिरी का अनुसार ‘ग्लोबल ग्याम्बिट स् द पिचर्स एरिना २०२६’ ले विद्यार्थीमा सिर्जनशील सोच, समस्या समाधान क्षमता, नेतृत्व विकास, नवप्रवर्तन तथा उद्योगसँग प्रत्यक्ष सहकार्य गर्ने संस्कृतिलाई थप सुदृढ बनाएको छ। उहाँले शिक्षालाई व्यवहारसँग जोड्दै भावी उद्यमी, नवप्रवर्तक तथा नेतृत्वकर्ताको विकासमा कार्यक्रमले महत्त्वपूर्ण योगदान पुर्‍याएको बताउनुभयो।

तीन दिनसम्म सञ्चालन भएको यस कार्यक्रमले विद्यार्थी, शिक्षण संस्था तथा उद्योग क्षेत्रबीच सहकार्यको नयाँ आयाम स्थापित गर्दै नेपालमा विद्यार्थी केन्द्रित उद्यमशीलता प्रवर्द्धनका लागि प्रभावकारी मञ्चका रूपमा आफ्नो पहिचान स्थापित गर्न सफल भएको आयोजकको दाबी छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्