पूर्वाधार वाच, काठमाडौं।
काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडको १७औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेजको मल्टिपर्पोज हलमा शुक्रबार सम्पन्न सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणसहित विभिन्न प्रस्तावमाथि छलफल गरी निर्णय गरेको हो ।
साधारण सभाले सञ्चालक समितिका तर्फबाट कार्यकारी अध्यक्ष सोइना शर्मा द्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ। सभामा कम्पनीको आर्थिक अवस्था, वार्षिक गतिविधि तथा आगामी कार्ययोजनासँग सम्बन्धित विभिन्न विषयमा विस्तृत छलफल भएको थियो।
सभामा प्रमुख अतिथिका रूपमा नेपाली कांग्रेसका नेता तथा गिरिजाप्रसाद कोइराला फाउन्डेसनका सभापति डा. सुनीलकुमार शर्मा उपस्थित हुनुहुन्थ्यो। त्यसैगरी, विशिष्ट अतिथिका रूपमा सहभागी च्यारिटी इन्टरनेशनल नेपालका अध्यक्ष अर्जुनप्रसाद बास्तोलाले नेपालमा निजी मेडिकल कलेज स्थापना गर्दाका पुराना स्मरणहरू साझा गर्नुभएको थियो भने केएमसीका प्राचार्य प्रा. डा. रतीन्द्रनाथ श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो। साधारण सभालाई व्यवस्थित रूपमा सञ्चालन गर्न कम्पनी सचिव योगेन्द्र भट्टराईले सहजीकरण गर्नुभएको थियो। त्यस्तै, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरू छलफल गरी अनुमोदन गरिएको छ ।
साधारणसभाले आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत पारित गरेको छ ।
२५ प्रतिशत नगद लाभांश प्रस्ताव
सभामा आर्थिक वर्ष २०८२/८३ को नाफा तथा वितरणयोग्य सञ्चित मुनाफाबाट कम्पनीको चुक्ता पुँजीको २५ प्रतिशत नगद लाभांश करसहित शेयरधनीलाई वितरण गर्ने प्रस्ताव पेश गरिएको छ ।
त्यसैगरी, कम्पनीको नियमावलीको नियम ३२ बमोजिम कार्यकारी अध्यक्षको पारिश्रमिक वृद्धि तथा अन्य सुविधासम्बन्धी प्रस्तावमाथि पनि छलफल भएको छ ।
आधुनिक उपकरण थप्दै स्वास्थ्य सेवा विस्तार
काठमाडौं मेडिकल कलेजले अस्पतालको स्तरवृद्धिसँगै आधुनिक स्वास्थ्य उपकरण खरिद गरी स्वास्थ्य सेवा विस्तार गर्ने योजना अघि सारेको छ । स्वास्थ्य सेवा सञ्चालनका लागि आवश्यकताअनुसार घरजग्गा खरिद गर्न तथा बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने प्रस्ताव पनि सभामा पेश गरिएको थियो ।
हाइड्रो र सोलार क्षेत्रमा लगानी गर्ने योजना
व्यवसाय विस्तारका क्रममा समान उद्देश्य भएका कम्पनीहरू खरिद गर्ने तथा हाइड्रो इनर्जी र सोलार इनर्जीसँग सम्बन्धित कम्पनीहरूको शेयरमा लगानी गर्ने अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्तावसमेत साधारणसभामा पेश गरिएको छ ।
कम्पनीले आगामी दिनमा स्वास्थ्य शिक्षा तथा स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धिसँगै अस्पतालको पूर्वाधार, आधुनिक उपकरण र स्वास्थ्य सेवाको विस्तारलाई प्राथमिकतामा राख्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्