काठमाडौं । तिहारको उल्लास, देउसी–भैलोको मौलिक लय र विपद्ले निम्त्याएको मानवीय पीडालाई एउटै सांगीतिक कथामा जोड्दै गायक तथा सर्जक जित सागर रावतले नयाँ गीत ‘दानी भाइ’ सार्वजनिक गरेका छन्। मनोरञ्जनको परम्परागत सीमाभन्दा माथि उठेर सामाजिक संवेदना, सांस्कृतिक विरासत र मानवीय बिछोडको कथा बोकेको गीतले यस वर्षको तिहारलाई फरक भावनात्मक आयामबाट प्रस्तुत गरेको छ।
भाद्र १० गते भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै तयार पारिएको गीतले विपद्बाट प्रभावित परिवारको पीडा, प्रियजन गुमाउँदाको वेदना र अधुरा सपनालाई देउसी–भैलोको सांगीतिक आख्यानमार्फत अभिव्यक्त गरेको छ। उत्सवको रौनकबीच पीडित परिवारको आँसु र बिछोडको सम्झना पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ भन्ने सन्देश गीतले दिन खोजेको छ।
गीतमा नेपाली तिहार परम्परासँग जोडिएको पौराणिक बलिराजाको प्रसङ्गलाई समेत रोचक ढङ्गले समेटिएको छ। जुवा खेल्दै स्वर्गलोक पुगेका ज्वारे भाइलाई एक दिनका लागि इन्द्रको राजा बनाइएको र स्वर्गको धनसम्पत्ति दान गरेपछि इन्द्रको श्राप भोग्नुपरेको कथालाई बलिराजाको जन्म प्रसङ्गसँग जोडेर प्रस्तुत गरिएको छ। यसले गीतलाई मनोरञ्जनसँगै धार्मिक तथा सांस्कृतिक महत्त्वको पक्षबाट पनि अर्थपूर्ण बनाएको छ।
‘दानी भाइ’मा शान्तिश्री परियार र जित सागर रावतको स्वर रहेको छ। गीतका शब्द तथा संगीत स्वयं रावतकै हुन्। सुदीप सागरले संगीत संयोजन गरेका छन् भने श्यामश्वेत रसाइलीले मिक्सिङ गरेका छन्। प्रिज्मा डिजिटलले प्राविधिक सहकार्य गरेको छ।
समीर ठोकरको निर्देशनमा तयार भएको भिडियोमा कविता न्यौपाने, गोविन्द पहाडी, सुर्बिर पण्डित (दारी बा), लक्ष्मी गिरी, झुपेन्द्र रोकाया र तिलक बुढाथोकीलगायत कलाकारको अभिनय रहेको छ। भिडियोको सह–निर्देशन जित सागर रावतले गरेका छन्। अजय रेग्मीको छायांकन रहेको भिडियोको सम्पादन तथा रङ संयोजन प्रवीण भट्टले गरेका हुन्।
सामान्यतः तिहारका देउसी–भैलो गीतमा उत्सव, उमङ्ग र मनोरञ्जनले प्राथमिकता पाउने गर्छन्। तर ‘दानी भाइ’ले चाडपर्वको खुसीसँगै समाजले भोगेका पीडा, विपद्का घाउ र बिछोडका सम्झनालाई पनि सांगीतिक अभिव्यक्ति दिएको छ।
मौलिक देउसी–भैलो संस्कृतिको संरक्षण गर्दै त्यसलाई समसामयिक सामाजिक यथार्थसँग जोड्ने प्रयास गरेको गीतले मनोरञ्जन मात्र होइन, विपद्मा ज्यान गुमाएकाहरूको सम्झना र प्रभावित परिवारप्रतिको ऐक्यबद्धतालाई समेत जीवन्त बनाउने अपेक्षा गरिएको छ। उत्सवको धुनभित्र मानवीय संवेदनाको स्वर मिसिएको ‘दानी भाइ’ यस वर्षको तिहारमा फरक अनुभूति दिने सांगीतिक सिर्जनाका रूपमा आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)










प्रतिक्रिया दिनुहोस्