पूर्वाधार वाच, काठमाडौं ।
नेपाल र फिनल्यान्डबीच व्यापार, लगानी, पर्यटन, प्रविधि, शिक्षा तथा नवप्रवर्तनका क्षेत्रमा सहकार्य विस्तार गर्न निजी क्षेत्रको सक्रियता बढाउनुपर्नेमा जोड दिइएको छ । नेपाल–फिनल्यान्ड चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको चौथो वार्षिक साधारणसभामा सहभागी वक्ताहरूले दुई देशबीचको आर्थिक तथा व्यापारिक सम्बन्धलाई थप सुदृढ बनाउन निजी क्षेत्रले सेतुको भूमिका निर्वाह गर्नुपर्ने बताएका हुन् ।
साधारणसभामा फिनल्यान्डका लागि नेपालस्थित राजदूत पेट्री पुभाक्का प्रमुख अतिथिका रूपमा सहभागी थिए । कार्यक्रममा चेम्बरका अध्यक्ष प्रज्वल जंग पाण्डेले सन् २०२२ मा स्थापना भएको संस्थाले नेपाल र फिनल्यान्डबीच आर्थिक कूटनीति तथा व्यापारिक साझेदारी सुदृढ गर्न सक्रिय भूमिका निर्वाह गर्दै आएको बताए ।
उनले नेपाली उत्पादनको फिनल्यान्डमा निर्यात प्रवर्द्धन, व्यापारिक सम्बन्ध विस्तार तथा लगानीका नयाँ अवसर सिर्जना गर्न चेम्बरले प्राथमिकता दिएको उल्लेख गरे । नेपाल र फिनल्यान्डबीच पर्यटन, प्रविधि, नवप्रवर्तन तथा दिगो विकासका क्षेत्रमा सहकार्यको ठूलो सम्भावना रहेको उनको भनाइ थियो ।
फिनल्यान्डको आधुनिक प्रविधि तथा नवप्रवर्तनलाई नेपालको प्राकृतिक स्रोत, पर्यटन र व्यावसायिक सम्भावनासँग जोडेर नयाँ साझेदारी विकास गर्न सकिने अध्यक्ष पाण्डेले बताए ।
नेपाली उत्पादनको बजार विस्तारमा पहल
कार्यक्रममा चेम्बरका मानार्थ सदस्य राजेश काजी श्रेष्ठले नेपाली उत्पादनलाई फिनल्यान्डको बजारमा स्थापित गराउन भइरहेका प्रयासबारे जानकारी गराए । उनका अनुसार नेपाली चिया, गलैंचा, कफी, हस्तनिर्मित सामग्री, हर्बल साबुन, नेपाली कागज तथा जुत्तालगायत उत्पादनको बजार प्रवर्द्धनका लागि पहल भइरहेको छ ।
नेपाली कफी, नेपाली कागज र गोल्डस्टार जुत्ताको ब्रान्ड प्रवर्द्धनमा समेत प्रयास गरिएको उनले बताए । श्रेष्ठले फिनल्यान्डको दूतावास तथा त्यहाँका व्यावसायिक संस्थासँग सहकार्य विस्तार गर्दै व्यापारका अतिरिक्त शिक्षा, पर्यटन, प्रविधि र लगानीका क्षेत्रमा समेत सम्बन्ध सुदृढ गर्नुपर्नेमा जोड दिए ।
लगानी र प्रविधि हस्तान्तरणका अवसर
प्रमुख अतिथि राजदूत पेट्री पुभाक्काले नेपाल र फिनल्यान्डबीच हाल व्यापारको मात्रा अपेक्षाकृत कम भए पनि यसको विस्तारका लागि पर्याप्त सम्भावना रहेको बताए । नेपालमा जलविद्युत्, पर्यटन, सूचना प्रविधि, कृषि व्यवसाय तथा उद्यमशीलताका क्षेत्रमा लगानीका अवसर रहेको उल्लेख गर्दै उनले फिनल्यान्डको प्रविधि, नवप्रवर्तन र दिगो व्यावसायिक अभ्यासबाट नेपालले लाभ लिन सक्ने बताए ।
स्वच्छ ऊर्जा, चक्रीय अर्थतन्त्र, शिक्षा तथा प्रविधिका क्षेत्रमा निजी क्षेत्रको सक्रिय सहभागिताले दुई देशबीचको सम्बन्ध थप मजबुत बनाउने विश्वास उनले व्यक्त गरे ।
पर्यटन तथा व्यापार क्षेत्रमा योगदान पुर्याउने सम्मानित
चेम्बरको चौथो वार्षिक साधारणसभाका अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गरिएको छ । पर्यटन क्षेत्रमा योगदान पुर्याएको भन्दै शिव ढकाललाई ‘टुरिजम एक्सिलेन्स अवार्ड’ प्रदान गरिएको छ । त्यस्तै, व्यापार क्षेत्रमा योगदान पुर्याएको भन्दै उत्तम सिलवाललाई ‘ट्रेड एक्सिलेन्स अवार्ड’ प्रदान गरिएको छ ।
चेम्बरलाई विशेष सहयोग तथा योगदान पुर्याएको भन्दै राजेश काजी श्रेष्ठलाई ‘आउटस्ट्यान्डिङ सपोर्ट अवार्ड’बाट सम्मान गरिएको संस्थाले जनाएको छ ।
कार्यक्रमको समापन गर्दै चेम्बरका वरिष्ठ उपाध्यक्ष विश्वेश श्रेष्ठले सहभागी, अतिथि, सहयोगी तथा सदस्यहरूलाई धन्यवाद व्यक्त गरे । उनले साधारणसभाले नेपाल र फिनल्यान्डबीच व्यापारिक, आर्थिक तथा संस्थागत साझेदारी विस्तारमा थप योगदान पुर्याउने विश्वास व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्