पूर्वाधार वाच, काठमाडौं।
विशेष अदालत काठमाडौंले सडक निर्माणको ठेक्का हात पार्ने प्रयोजनका लागि गलत लिखतका आधार बैंक ग्यारेन्टी राख्ने कार्यमा संलग्न राष्ट्रिय वाणिज्य बैंक जुम्लाका तत्कालीन म्यानेजरसहित ४ जना भ्रष्टाचारी ठहर गरेको छ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, तेजनारायणसिंह राई र रामबहादुर थापाको इजलासले उनीहरूलाई दोषी ठहर गर्ने सजाय आइतबार सुनाएको हो ।
विशेषले तीनवटा ठेकेदार कम्पनी र राष्ट्रिय वाणिज्य बैंकका म्यानेजर रामजनक चौधरीसहित ४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको थियो ।
सोनापुर सिमेन्ट फ्याक्ट्री जाने सडक निर्माणको ठेक्का पाएको तीनवटा कम्पनीले बैंक ग्यारेन्टी राख्न क्रममा गलत लिखत तयार पारी बैंक ग्यारेन्टी राखेको र उक्त गलत लिखतमा वाणिज्य बैंक जुम्लाका तत्कालीन म्यानेजर रामजनक चौधरीले सहयोग गरेको अख्तियारको आरोप पत्रमा दाबी गरिएको थियो ।
विशेषले बैंकका म्यानेजर चौधरीलाई दश महिना कैद र ४० हजार जरिवाना गर्ने फैसला सुनाएको छ । त्यस्तै ठेकेदारहरू माधवप्रसाद भण्डारी,अर्जुनबहादुर बुढाथोकी र पुन्नबहादुर शाहीलाई पाँच महिना कैद र २० हजार जरिवाना गर्ने फैसला सुनाएको छ।
सडक कार्यालय, दाङ अन्तर्गत ठेक्कामा पेस्की लिन विटीरटौदहरफस्कु जेभीले गलत लिखत तयार पारी राष्ट्रिय वाणिज्य बैंक जुम्लामा बुझाएको र उक्त लिखत गलत हो भन्ने थाहा पाउँदापाउँदै पनि बैंकका म्यानेजर लाभ लिएर स्वीकृत गरेको अभियोग पत्रमा उल्लेख छ ।
१९ लाख ५० हजार रुपैयाँ पेस्कीसमेत लिइसकेको उक्त अवस्थामा अनुसन्धान हुँदा गलत लिखत तयार पारिएको पाइएकाले गलत लिखतसम्बन्धी कसुरमा मुद्दा दायर भएको थियो ।
ठेक्का नम्बर ०३–०७०/०७१ सोनापुर सिमेन्ट फ्याक्ट्री सडक निर्माणमा राष्ट्रिय वाणिज्य बैंक, जुम्लाका तत्कालीन शाखा प्रबन्धक रामजनक चौधरीले विटीरटौदहरफस्कु जेभीको तर्फबाट मध्यपश्चिम सडक डिभिजन कार्यालय नम्बर २, दाङ, घोराहीको पक्षमा फर्जी अग्रिम भुक्तानी जमानी पत्र र सो जमानी पत्रको नवीकरण गरेको फर्जी अग्रिम भुक्तानी जमानत पत्रहरूमा हस्ताक्षर गरी गलत लिखत तयार पारेको अख्तियारले जनाएको छ ।
त्यस्तै गलत लिखत तयार पार्ने कार्यमा संलग्न विटीरटौदहरफस्कु जेभीका सदस्यहरू माधव प्रसाद भण्डारी, टौदह कन्स्ट्रक्सनका प्रतिनिधि पुन्न बहादुर शाही र फस्कु निर्माण सेवाका प्रोप्राइटर अर्जुन बहादुर बुढाथोकीविरुद्ध मुद्दा दायर भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्