पूर्वाधार वाच, काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले दोस्रो कार्यकाल सम्हालेको ३ वर्ष पुरा भएको छ। नेपाल सरकार मन्त्रिपरिषद्बाट वि.सं. २०७८ साउन २५ गते उनी विद्युत प्राधिकरणमा दोस्रो कार्यकालका लागि प्रबन्ध निर्देशक नियुक्त भएका थिए ।
४ वर्ष अवधिका लागि नियुक्त भएका प्रबन्ध निर्देशक घिसिङले शुक्रबार ३ वर्षे कार्यकालको एक पत्रकार सम्मेलनबीच आफ्नो ३ वर्षे कार्यकालको फेहरिस्त सार्वजनिक गरेका हुन् ।
उनले ट्रंक र डेडिकेटेड लाइनको बिल राखेर प्राधिकरण नाफामा देखाइएको भन्ने हल्ला गलत भएको उल्लेख गरे । उनले सार्वजनिक लेखा समितिलाई अनावश्यक डकुमेन्ट नपठाएको समेत बताए ।
प्रबन्ध निर्देशक घिसिङले ३ वर्षमा प्राधिकरणको नाफामा उल्लेख्य वृद्धि भएको दाबी गरेका छन् । उनले आर्थिक वर्षमा २०७८/७९, २०७९/८० र २०८०/८१मा क्रमशः १३ अर्ब ३४ करोड, ९ अर्ब ४२ करोड र १३ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा गरेको जनाएका छन् ।
प्राधिकरणले कुलमानको नेतृत्वमा आर्थिक वर्ष २०७८/७९, २०७९/८०, २०८०/८१ मा क्रमशः २४ अर्ब ७७ करोड, ३३ अर्ब ६४ करोड र ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफा गरेको छ ।
यस्तै आ.व. २०७८/७९, २०७९/८०, २०८०/८१ मा क्रमशः ८७ अर्ब १५ करोड, १ खर्ब ३ अर्ब र १ खर्ब १६ अर्ब रुपैयाँ आम्दानी भएको कुलमानले पत्रकार सम्मेलनमा उल्लेख गरे ।
यता घिसिङको कार्यकालमा अन्तर्राष्ट्रिय परामर्शदाताबाट प्राधिकरणको सम्पत्तिको वास्तविक मूल्याङ्कन गरिएको, देशैभरि रहेको सम्पत्तिको खोजबिन गरिएको, अतिक्रमण गरिएका जग्गा फिर्ता ल्याउन आवश्यक पहल गरिएको र हालसम्म प्राधिकरणको नाममा लालपुर्जा आउन नसकेको जग्गाहरू दर्तारलगतकट्टा गरी आफ्नो स्वामित्वमा ल्याउन सुरु गरिएको लगायत पनि मुख्य उपलब्धि मानिएको छ ।
अत्याधुनिक सुविधा सम्पन्न अन्तर्राष्ट्रिय स्तरको वितरण प्रणाली नियन्त्रण तथा डेटा सेन्टर निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको, ग्राहकहरूलाई सिङ्गल फेज कनेक्सन ३ दिनमा र ३ फेज मिटर १ दिनमा (जिआइएस) गर्नुपर्ने (बाहेक) उपलब्ध गराउने व्यवस्था गरिएका पनि उनले बताए ।
आन्तरिक प्रसारण लाइनतर्फ नयाँ खिम्ती -बाह्रबिसे-काठमाडौं ४०० केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको, काठमाडौंको लप्सीफेदीमा प्रसारण लाइन तथा सबस्टेसन निर्माणमा रहेको अवरोध समाधान गरी निर्माण कार्य सुरु गरिएको, चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण अन्तिमचरणमा पुगेको, आयोजनाअन्तर्गत त्रिशूली ३ बी हब र चिलिमे हब सबस्टेसन निर्माण सम्पन्न गरिएको प्रबन्ध घिसिङको ३ वर्षे कार्यकालको उपलब्धिमा समेटिएका छन् ।
नेपाल, भारत र बंगलादेशबीचको विद्युत् व्यापारलाई थप सहज बनाउन इनरुवाबाट अनारमणीसम्म ४०० केभी प्रसारण लाइन निर्माण प्रक्रिया अगाडि बढाइएको, सन् २०३५ सम्ममा २० हजार मेगावाट विद्युत् निर्यात गर्न सक्ने प्रसारण लाइन सञ्जाल विस्तार हुने सुनिश्चित गरिएको र छिमेकी देश चीनसँगको विद्युत् व्यापारका लागि पनि चिलिमे ९ केरुङ प्रसारण लाइन अगाडि बढाइएको पनि घिसिङको उपलब्धि मानिएको छ ।
यस्तै भारतको प्रतिस्पर्धी बजारको डे अहेड तथा रियल टाइम र मध्यकालीन सम्झौता बमोजिम दैनिक रूपमा ७ सय मेगावाट विद्युत् निर्यात भइरहेको, बंगलादेशमा ४० मेगावाट विद्युत निर्यातका लागि प्रतिस्पर्धामा सहभागी भई बिड स्वीकृति भइसकेकाले नेपाल, भारत र बंगलादेशका निकायहरुबीच विद्युत खरिद बिक्री हुने चरणमा पुगेको ।
नेपाल र भारतको विहार १३२ केभी प्रसारण लाइनहरूबाट विहारको अन्तराज्य प्रसारण संरचना मार्फत विद्युत निर्यात गर्न भारतीय विद्युत व्यापार कम्पनीबीच विद्युत खरीद बिक्री सम्झौता गरिएको रविद्युत निर्यात सुरु गर्न स्वीकृतिका लागि भारतको केन्द्रीय विद्युत प्राधिकरण समक्ष प्रस्ताव पेश गरिएको समेत प्रबन्ध निर्देशक घिसिङले आफ्नो ३ वर्षे कार्यकालको महत्त्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गरेका छन् ।
प्रबन्ध निर्देशक घिसिङले ऊर्जा मन्त्रालयले गरेको कार्यसम्पादन सम्झौताको मूल्याङ्कनमा पनि आफू खरो उत्रिएको दाबी गरेका छन् । आर्थिक वर्ष २०७८/७९, २०७९८० मा क्रमशः ९४.२३ र ९८.९४ प्रतिशत अंक प्राप्त गरेको उल्लेख गर्दै आर्थिक वर्ष २०८०/८१ को मूल्यांकनको क्रममा रहेको बताए ।
उनले ३ वर्षअघि ८९.७ प्रतिशत रहेको विद्युतीकरण अहिले ९९ प्रतिशत पुगेको तथ्यांक प्रस्तुत गरेका छन् ।
विद्युत प्राधिकरणमा कुलमानका मुख्य उपलब्धि पूर्णपाठ…
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्