images
images
images

एकता होटल तथा गेस्टहाउस व्यवसायी संघ नेपालको १४औँ वार्षिक साधारणसभा सम्पन्न

images

पूर्वाधार वाच, काठमाडौं ।

एकता होटल तथा गेस्टहाउस व्यवसायी संघ नेपालको १४औँ वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ । बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा आयोजित साधारणसभामा होटल तथा पर्यटन व्यवसायका समसामयिक विषय, व्यवसायीले भोगिरहेका समस्या, हकहित संरक्षण, पर्यटन प्रवर्द्धन तथा संस्थागत विकासका विषयमा छलफल गरिएको थियो ।

साधारणसभामा संघको वार्षिक गतिविधि तथा आगामी कार्ययोजना प्रस्तुत गर्दै होटल तथा गेस्टहाउस व्यवसाय सञ्चालनका क्रममा देखिएका विभिन्न चुनौतीबारे समेत चर्चा गरिएको थियो । सहभागीहरूले पर्यटन क्षेत्रको दिगो विकास तथा होटल व्यवसायको प्रवर्द्धनका लागि सरकार, निजी क्षेत्र र सम्बन्धित निकायबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए ।

बागमती प्रदेशका सचिव सुवेदी प्रमुख अतिथि

कार्यक्रममा उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय, बागमती प्रदेशका सचिव दीपेन्द्र सुवेदी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सहदेव धमला विशिष्ट अतिथिका रूपमा उपस्थित थिए ।

त्यस्तै, पर्यटन मन्त्रालयका पर्यटन विज्ञ तथा वातावरणविद् पीके शेर्पा, गोर्खा ब्रुअरीका सेल्स डाइरेक्टर काजिमान सुब्बा, होटल व्यवसायी महासंघ, होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

उत्कृष्ट व्यवसायी र विद्यार्थीलाई सम्मान

साधारणसभाका अवसरमा होटल तथा पर्यटन क्षेत्रमा योगदान पुर्‍याउने उत्कृष्ट व्यवसायीलाई सम्मान गरिएको थियो । साथै, माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा हासिल गर्ने व्यवसायीका छोराछोरीलाई समेत सम्मान प्रदान गरिएको संघले जनाएको छ ।

संघको संस्थागत विकास, व्यवसायीको हकहित संरक्षण तथा संगठन सुदृढीकरणमा योगदान पुर्‍याएका पूर्वकार्यसमिति सदस्य र सल्लाहकारलाई समेत कार्यक्रममा सम्मान गरिएको थियो ।

सुरक्षा र पर्यटक व्यवस्थापनका विषयमा छलफल

कार्यक्रममा होटल संघ नेपाल (हान) का महासचिव साजन शाक्य, संघसँग आबद्ध विभिन्न इकाइका प्रतिनिधि तथा काठमाडौं महानगरपालिकाका वडा नम्बर ७, ८ र ९ का वडाध्यक्षहरूको समेत उपस्थिति रहेको थियो ।

नेपाल प्रहरी, पर्यटन प्रहरी, ट्राफिक प्रहरी तथा पशुपति क्षेत्र विकास कोषका प्रतिनिधिको सहभागितामा होटल तथा पर्यटन क्षेत्रसँग जोडिएका पर्यटक सुरक्षा, यातायात व्यवस्थापन, धार्मिक तथा पर्यटकीय क्षेत्रको व्यवस्थापनलगायतका विषयमा समेत छलफल भएको जनाइएको छ ।

व्यवसायीबीच एकता र सहकार्य आवश्यक : अध्यक्ष आले

संघका अध्यक्ष सरोज आलेले होटल तथा गेस्टहाउस व्यवसायीबीच एकता, सहकार्य र व्यावसायिक क्षमता अभिवृद्धिलाई प्राथमिकतामा राखेर संघले काम गर्दै आएको बताए ।

उनले व्यवसायीले भोगिरहेका साझा समस्या समाधानका लागि सम्बन्धित सरकारी निकायसँग निरन्तर समन्वय र सहकार्य गरिने उल्लेख गर्दै आगामी दिनमा पर्यटन क्षेत्रको विकास तथा प्रवर्द्धनमा संघले थप प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

२०६९ देखि व्यवसायीको हकहितमा सक्रिय

वि.सं. २०६९ सालमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा विधिवत् दर्ता भएको एकता होटल तथा गेस्टहाउस व्यवसायी संघ नेपालले होटल तथा गेस्टहाउस व्यवसायीलाई संगठित गर्दै आएको छ ।

संघले व्यवसायीको पेशागत हकहित संरक्षण, संस्थागत एकता र होटल तथा पर्यटन क्षेत्रको विकास तथा प्रवर्द्धनका लागि सम्बन्धित सरकारी तथा सरोकारवाला निकायसँग समन्वय र सहकार्य गर्दै आएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्