पूर्वाधार वाच, काठमाडौं ।
नेपाल विद्युत् प्राधिकरणले आह्वान गरेको सौर्य ऊर्जाको विद्युत् खरिद बिक्री सम्झौता (पीपीए)का लागि १३४ कम्पनीले ३६ सय मेगावाटको पीपीएका लागि आवेदन र्दिका छन् । ८०० मेगावाट सौर्य ऊर्जाको लागि ३६ सय मेगावाट बराबरको आवेदन परेको हो ।
प्राधिकरणअन्तर्गतको विद्युत् व्यापार विभागका अनुसार १३४ वटा कम्पनीले ३६ सय मेगावाटको पीपीएका लागि आवेदन परेको हो । परेका आवेदनको प्राविधिक मूल्यांकन भइरहेको विभागका निर्देशक राजन ढकालले बताए ।
प्राधिकरणले आगामी दुई वर्षभित्र थप आठ सय मेगावाट विद्युत् सौर्य आयोजनाबाट खरिद गर्ने भन्दै ०८० चैतमा बोलपत्र आह्वान गरेको थियो । एक प्रवर्द्धकले १५० मेगावाटभन्दा बढी नहुने गरी आवेदन दिनुपर्नेछ ।
प्राधिकरणले २५ वर्षका लागि पीपीए गर्ने गरी आह्वान गरिएको बोलपत्रअनुसार १० मेगावाटभन्दा साना आयोजनाले १८ महिनाभित्र र त्यसभन्दा ठूला आयोजनाले दुई वर्षभित्र विद्युत् उपलब्ध गराउनुपर्नेछ । प्राधिकरणले तराईका लोड सेन्टरमा बढ्दो विद्युत्को माग र विद्युत् आपूर्ति सन्तुलन कायम गर्ने गरी प्रस्ताव आह्वान गरेको हो ।
प्राधिकरणको स्वामित्वमा रहेका २००, १३२ र ३३ केभी सबस्टेसन नजिक निर्माण हुने सौर्य आयोजनाहरूको पीपीए गर्ने तयारी छ । जलविद्युत् आयोजना निर्माण हुन केही समय लाग्ने तर सौर्य आयोजनाहरू एकरडेढ वर्षभित्रमा आउने भएकाले हिउँदको बढ्दो विद्युत् मागलाई पूरा गर्न ग्रिडमा आबद्ध सौर्य ऊर्जालाई प्राथमिकता दिइएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । यसबाट सबस्टेसन वरिपरि रहेका जग्गाको पनि प्रयोग हुने उनको भनाइ छ ।
प्राधिकरणले प्रतिस्पर्धी दरमा प्रस्ताव पेस गर्न आह्वान गरेको हो । प्राधिकरणको ९६३ औं बैठकले सौर्य आयोजनाको विद्युत् प्रतिस्पर्धाबाट खरिद गर्न प्रतियुनिट ५ रुपैयाँ ९४ पैसा अधिकतम आधार दर तय गरेको छ ।
प्रतिस्पर्धामा उक्त दरभन्दा कममा प्रस्ताव गर्ने आयोजनासँग उपयुक्तताका आधारमा पीपीए गरिने प्राधिकरणले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्