images
images
images

अमेरिकी राष्ट्रपति चुनावमा ट्रम्पलाई खुलेर समर्थन गर्ने एलन मस्क आखिर के चाहन्छन् ?

images

पूर्वाधार वाच, काठमाडौं । 

ज्याण्डर मुन्डी हरेक दिनझैं आफ्नो अफिस जाँदै थिए, त्यही बेला उनलाई थाहा भयो कि टेक अरबपति एलन मस्क फोल्सम शहरको नजिकैको एउटा विद्यालयमा भाषण दिँदैछन्। फोल्सम शहर अमेरिकाको पेन्सिल्वेनिया राज्यमा पर्छ। मुन्डीले सधैं आफूलाई प्रश्न गर्थे, ‘यस शहरमा सबैभन्दा धनी व्यक्ति कहिले आउलान् ?’

फोल्सम एउटा सानो शान्त बस्ती हो, यहाँको जनसंख्या लगभग ९ हजारको हाराहारीमा छ। यहाँका मानिसहरू प्रायः आफ्नो राजनीतिक रुचि खुल्ला रूपमा प्रकट गर्दैनन्, र राजनीतिक पार्टीहरूको पोस्टर, ब्यानर पनि निकै कम मात्र देख्न पाइन्छ।

४२ वर्षका मुन्डी एउटा अपार्टमेन्ट कम्प्लेक्समा लिज एजेन्टको काम गर्छन्। उनी मान्थे नोभेम्बरको चुनावमा भोट दिने उनीहरूको चाहना थिएन। तर, मानिसहरूको उत्साह देखेर मस्कलाई सुन्ने जिज्ञासा जाग्यो।

मुन्डी सम्झिन्छन्- बैठक समाप्त भएपछि, कमला ह्यारिसको सट्टा उनको झुकाव डोनाल्ड ट्रम्पतर्फ बढी भइसकेको थियो। उनले भने जसरी त्यस्तो व्यक्तिले तपाईंलाई भन्छ कि यो चुनाव हाम्रो भविष्यलाई निर्धारण गर्नेछ, यसले केवल आगामी चार वर्षको राष्ट्रपति मात्र तय गर्ने होइन, संसार कस्तो बन्नेछ भन्ने कुरा पनि निर्धारण गर्नेछ  भने मलाई लाग्छ, यो सबैभन्दा ठूलो कुरा हो। यसले पक्का फरक पार्छ। यो महत्त्वपूर्ण छ।

पहिले प्राविधिक गुरुको रूपमा चर्चित ५२ वर्षीय मस्कले राजनीतिक कार्यकर्ताजस्तै अमेरिकी जनतासामु खुलेर आफ्नो समय दिएका छन् र चुनावी प्रचार अभियानमा सक्रिय भाग लिएका छन्। यो ती शीर्ष उद्योगपतिहरूको भन्दा फरक दृष्टिकोण हो, जसले परम्परागत रूपमा पर्दा पछाडिबाट राजनीतिमा प्रभाव पार्न रुचाउँछन्।

यो परम्परागत सीईओहरूभन्दा बिल्कुलै फरक दृष्टिकोण हो, जसमा धेरैले महँगा र विशेष फन्डरेजिङ डिनर आयोजना गर्छन् वा हैम्प्टनका भव्य घरहरूमा सम्भावित दानदाताहरूलाई भेला पार्छन्। यही कारण कतिपय विश्लेषकहरूले एलन मस्कको इरादामाथि प्रश्न उठाएका छन्। साधरणतया कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरू जनताको नजरबाट टाढा रहन चाहन्छन् ।

तर मिसिगन विश्वविद्यालयको रोस स्कूल अफ बिजनेसमा पढाउने एरिक गाेर्डन भन्छन्, ‘मस्कले यो खुल्लमखुल्ला र गर्वका साथ गर्छन्, र शायद त्यसैले उनी आफूलाई मार्गदर्शकको रूपमा प्रस्तुत गर्छन् ।’

पानीजस्तै ट्रम्पमाथि लगानी खन्याइरहेका मस्क 

एक गैरनाफामूलक ट्र्याकर संस्था ओपन सिक्रेट्सका अनुसार, ट्रम्पलाई समर्थन गर्ने मस्कको पोलिटिकल एक्शन कमिटी (अमेरिका पीएसी)ले यस चुनावमा अहिलेसम्म ९३.५ मिलियन डलर खर्च गरिसकेको छ।

यसका साथै, मस्कको व्यक्तिगत चन्दा दानले उनलाई राष्ट्रपति चुनावमा सबैभन्दा ठूलो निजी दाता बनाएको छ, र महत्त्वपूर्ण स्विङ् स्टेटहरूमा ट्रम्पको चुनावी अभियानमा उनी सक्रिय भूमिकामा रहेको बताइएको छ।

स्टीव डेविस एलन मस्कका प्रमुख नजिकका व्यक्तिहरूमध्ये एक हुन्, जसले स्पेसएक्स, एक्स, र बोरिङ कम्पनीजस्ता मस्कका धेरै कम्पनीहरूका लागि काम गरिसकेका छन्। उनलाई विशेष रूपमा यस चुनावका लागि नियुक्त गरिएको बताइएको छ। यता मस्कले चुनावी अभियानमा गरेको ठूलो लगानीले मुन्डीको पनि ध्यान तान्न सफल भएको छ।

उनले भने, ‘मेरो लागि यो अचम्मको कुरा हो कि कोही व्यक्तिले मतदाताहरूलाई प्रभावित गर्न यति धेरै समय र आर्थिक रकम खर्च गर्दैछ। यसको मतलब हो कि उनी कुनै विशेष उद्देश्यका लागि यो सबै गरिरहेका छन्।’

पेन्सिल्वेनियाका सिनेटर जोन फेटरम्यानजस्ता केही डेमोक्र्याट नेताहरूले आफ्नो पार्टीलाई मस्कबाट उत्पन्न हुने खतरालाई बेवास्ता नगर्न चेतावनी दिएका छन्।

फेटरम्यान मान्छन्- मस्कले ती वर्गका मानिसहरूलाई आकर्षित गर्छन्, जसले उनलाई अत्यन्तै बौद्धिक व्यक्ति ठान्छन्। मस्कले ती मानिसहरूलाई प्रभावित गर्न खोजिरहेका छन्, जहाँ परम्परागत रूपमा डेमोक्र्याटिक पार्टीको प्रभाव राम्रो छैन।

१३ जुलाईमा पेन्सिल्भेनियाको बटलरमा ट्रम्पमाथि भएको घातक हमलाको पृष्ठभूमिमा पहिलो पटक ट्रम्पलाई समर्थन गरेदेखि, मस्क ट्रम्पको प्रचार अभियानको प्रमुख हिस्सा बनेका छन्, जहाँ उनी प्रायः चेतावनी दिन्छन् कि ट्रम्प मात्र अमेरिकी लोकतन्त्रलाई ‘बचाउन’ सक्छन्।

चुनावी प्रचार अभियानका अन्तिम दिनहरूमा, मस्कले सिंगो पेन्सिल्भेनियामा यात्रा गरे। यो राष्ट्रपति चुनावको प्रमुख राज्य हो, जुन ट्रम्प र कमला ह्यारिस दुवैका लागि अत्यन्त महत्त्वपूर्ण छ।

अमेरिका पीएसीले अब चुनावसम्म हरेक दिन एउटा मतदातालाई १ मिलियन डलरको पुरस्कार दिइरहेछ, चाहे उनी कुनै पनि पार्टीका हुन्। शर्त भनेको उनीहरूले मतदानका लागि पञ्जीकरण गराएका हुनुपर्छ र मस्कद्वारा समर्थित एउटा याचिकामा हस्ताक्षर गरेको हुनुपर्नेछ।

उदाहरणका लागि, ह्यारिसबर्ग र पिट्सबर्गमा सप्ताहान्तमा आयोजित टाउन हल मिटिङहरूमा मस्कले विजेताहरूलाई लटरीजस्तै ठूलो चेक प्रदान गरे, र उत्साहित भीडले ‘एलन’को पक्षमा नारा लगाए। उनले भीडलाई भने कि मानिसहरूको ऊर्जा उनको ‘मनमा उत्साह’ ल्याउँछ।

मस्कको इरादामाथि प्रश्न

तर केही पर्यवेक्षकहरूले मस्कको इरादामा प्रश्न उठाएका छन् र शंका व्यक्त गरेका छन्- मस्क र उनको व्यवसायले ट्रम्पसँगको सम्बन्धको फाइदा उठाउन चाहन्छन्। इलेक्ट्रिक गाडी चार्जिङ प्लेटफर्म चार्जवेका सीईओ म्याट टेस्केका अनुसार, मस्कको राजनीतिक झुकावले इलेक्ट्रिक गाडी उद्योगमा धेरैलाई समस्या सिर्जना गर्नेछ । तर यो अचम्मको कुरा होइन, किनकि कयौं वर्षदेखि उनको राजनीति तर्फको रुझान बढ्दै गएको छ।

टेस्के भन्छन्, ‘मलाई लाग्छ मस्कको चासो अत्यन्तै आत्मकेन्द्रित छ र मुख्य रूपमा केही कुराहरू वरिपरि छ, जुन उनको व्यवसायका लागि अत्यन्तै महत्त्वपूर्ण छन्, जस्तै नियम, जसको बारेमा उनी आफ्ना चिन्ताहरू पटक पटक प्रकट गरिसकेका छन्।’ टेस्केका अनुसार, जब क्यालिफोर्नियामा कोभिड-१९ को प्रतिबन्धहरू लगाइए, मस्कले त्यसको विरोधमा कडा दबाब दिएका थिए।

मिसिगन विश्वविद्यालयका प्राध्यापक गोर्डन भन्छन्,’मस्क आफूलाई नियामकहरूको बन्दी ठान्छन्, र उनलाई लाग्छ कि जुन प्रविधि विकासमा उनी काम गरिरहेका छन्, सरकारको हस्तक्षेपले त्यसको उन्नतिकाे घाँटी निमोठिरहेको छ, जस्तै चालकविहीन कार।’

गोर्डनका अनुसार, ‘उनी केही हदसम्म अघि रहन चाहन्छन्, जस्तो कि एउटा बेबाक र मनकारी उद्यमी जसले नयाँ बाटाहरू खोल्छ, र ती नियमहरूका अघि आफू पछाडि हट्दैन, जुन प्रविधिको प्रगतिमा पाँच, दश वा बीस वर्ष पछाडि छन्।’

उनी भन्छन्, ‘मस्कले अर्को बाटो छान्न चाहन्छन्। उनी मङ्गल ग्रहमा जान चाहन्छन्।’ क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूसमकी पूर्वप्रमुख आर्थिक र व्यवसाय सल्लाहकार लेनी मेन्डोन्सा भन्छिन्, ‘यो अनैतिक र गैरकानूनी छ।’

उनको विचारमा, जुन मानिसहरूको चासो सरकार र नियमहरूसँग सम्बन्धी छ, उनीहरूले ‘आफ्नो कुरा राख्न सक्छन्, तर समान हितग्राही व्यक्तिहरूसँग तुलना गर्दा उनीहरूको पहुँच र पदले बढी अधिकार पाउन हुँदैन।’

स्वार्थको द्वन्द्व

डोनाल्ड ट्रम्पले भनेका छन्, यदि उनी नोभेम्बरमा राष्ट्रपति निर्वाचन जिते भने एलन मस्कले अमेरिकी सरकारमा खर्च कटौतीका कार्यक्रमको रेखदेख गर्नेछन्। पर्यवेक्षकहरूको शंका छ कि यदि मस्कले यो काममा राम्रोसँग रिजल्ट देखिने गरी काम गर्न नसके पनि, चुनाव प्रचार अभियानमा साथ दिएका कारण उनी ट्रम्पको विश्वासपात्र बनिसकेका छन्, र प्रशासनका नीतिगत निर्णयहरूमा उनको ठूलो प्रभाव पर्न सक्नेछ।

मस्कले अमेरिकाको ‘घाँटी निमोठ्ने’ नियमहरू हटाउनका लागि ‘दक्षता विभाग’को नेतृत्व गर्ने कुराप्रति आफू सकारात्मक रहेको यसअघि नै बताइसकेका छन् ।  डेमोक्र्याट नेताहरूको विचारमा स्पेसएक्स र टेस्लाका लागि मस्कले पाएका अर्बौं डलरका ठेक्काहरूलाई ध्यानमा राख्दा, उनको यो भूमिकाले स्वार्थहरूको जटिल द्वन्द्व उत्पन्न गराउन सक्छ।

फेडरल इलेक्शन कमिसनका पूर्वअधिवक्ता लरेन्स नोबलले चुनावका क्रममा मस्कले दिएका पुरस्कारहरूको वैधतामाथि नै प्रश्न उठाएका छन्। उनी मान्छन् कि चुनाव प्रचारको यो तरिका ती अमेरिकीहरूका लागि चिन्ताको विषय हुनुपर्छ, जो कामको सुरक्षित वातावरण र उपभोक्ता संरक्षणका मूल्यहरूलाई महत्त्व दिन्छन्।

उनले भने, ‘हामीलाई थाहा छ कि जब खुला छूट दिइन्छ, तब कम्पनीहरूले के गर्छन्। उनीहरू सुरक्षाभन्दा मुनाफा, सेयर धनीको मूल्य, र सीईओको तलबलाई प्राथमिकता दिन्छन्, र व्यवसायको लागतको रूपमा सुरक्षा उपायहरूको बेवास्ता गर्छन्।’

उनी भन्छन्, ‘व्यवसाय र सरकारलाई यस्तो दृष्टिकोणबाट हेर्ने व्यक्ति हुनु खतरनाक कुरा हो।’

मस्क आफूलाई ‘नियमहरूको पर्वाह नगर्ने’ र ‘विद्रोही’ ठान्छन्, र नोभेम्बरको चुनावको नतिजा जे भए पनि, अमेरिकी सरकारसँगको उनको रोचक सम्बन्ध जारी रहनेछ। तर उनको ब्रान्ड र प्रतिष्ठा अब डोनाल्ड ट्रम्पसँग जोडिएको छ, र उनीहरूले गरेका गतिविधिहरूले उनीहरू यसबारे राम्रोसँग जानकार छन् भन्ने संकेत गर्छ।

(विभिन्न अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुको सहयोगमा पूर्वाधार वाचकर्मी विष्णु रैगाईंले तयार पारेको सामग्री)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्