पूर्वाधार वाच, काठमाडौं ।
ललितपुरस्थित सैंबु नख्खुडोल जग्गा एकीकरण आयोजना सहयोग समितिको निर्वाचनसम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सैंबु नख्खुुडोल जग्गा एकीकरण आयोजना सहयोग समितिको निर्वाचन गर्न काठमाडौं उपत्यका विकास प्राधिकरणद्वारा गठित निर्वाचन समितिको आयोजनामा शनिबार अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको प्राधिकरणका कानून अधिकृत एवं निर्वाचन समिति संयोजक घनश्याम पौडेलले जानकारी दिए ।
अन्तर्क्रिया कार्यक्रम काठमाडौं उपत्यका विकास प्राधिकरण, ललितपुर जिल्ला आयुक्तको कार्यालयको सभाहलमा गरिएको थियो ।

झण्डै डेढ दशकदेखि उक्त जग्गा एकीकरण आयोजना सहयोग समितिको निर्वाचन हुन नसकेको अवस्थामा प्राधिकरणले वैधानिक सहयोग समिति गठन गर्न निर्वाचन गर्ने गरी अन्तर्क्रिया गरेको संयोजक पौडेलले जानकारी दिए ।
अन्तर्क्रियामा निर्वाचन समिति संयोजक पौडेलले आयोजना सहयोग समितिको वैधानिकता, सहयोग समितिको निर्वाचन प्रक्रियालगायतका विषयमा जानकारी गराएका थिए । उनले तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्न आयोजना अन्तर्गतका सरोकारवालाहरूलाई आग्रह समेत गरे ।
प्राधिकरणका ललितपुर जिल्ला आयुक्त गणेश महर्जनले आयोजनामा स्थानीयहरूले भोगिरहेको समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै वैधानिक निर्वाचन समिति गठनले आयोजनालाई सहजीकरण हुने अपेक्षा रहेको बताए ।
आयुक्त महर्जनले आफू सरुवा भएर आएको छोटो अवधि मात्रै भएकाले आयोजनालाई व्यवस्थित र स्थानीयका गुनासो सम्बोधन गर्न सबैसँग सहकार्य गरेर अघि बढ्ने समेत बताए ।
यस्तै, आयोजना सहयोग समितिका अध्यक्ष माधव खड्काले आफूहरू निर्वाचन समितिलाई सहयोग गर्न तयार रहेको बताउँदै आयोजना व्यवस्थित बनाउन सबै सरोकारवाला मिलेर अघि बढ्नुको विकल्प नरहेको बताए ।
उनले आगामी बैठकबाट निर्वाचनको मिति तोकेर प्रक्रियागत रूपमा अघि बढ्नुपर्ने समेत औंल्याए । कार्यक्रममा दर्जन बढी सर्वसाधारणले आयोजनालाई थप व्यवस्थित बनाउन आग्रह गर्दै धारणा राखेका थिए ।
कार्यक्रममा ललितपुर जिल्ला आयुक्त गणेश महर्जन, सहयोग समितिका संयोजक माधव खड्का, निर्वाचन समितिका संयोजक घनश्याम पौडेल, स्थानीय जनप्रतिनिधि, सराेकारवालालगायत ३ दर्जन बढी स्थानीय जग्गाधनी एवं उपभोक्ताहरूको समेत उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्