पूर्वाधार वाच, काठमाडौं ।
रुपन्देहीको बुटवलस्थित नेशनल प्याथ ल्याब नामक एक निजी प्रयोगशालाको गलत रिपोर्टका कारण आफू पीडामा परेको एक जना बिरामीले गुनासो गरेका छन् ।
बुटवल उपमहानगरपालिका- ४ लक्ष्मीनगरका २५ वर्षीय सफल (नाम परिवर्तन)ले नेशनल प्याथ ल्याबले क्षयरोगको नमूना (बायोप्सी) परीक्षणमा त्रुटि गर्दा आफूहरूले मानसिक एवं आर्थिक रूपमा क्षति बेहोर्नु परेको गुनासो गरेका हुन् ।
गत भदौ २५ गते पेट दुखेपछि उनी लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको लागि पुगेका थिए । उक्त अस्पतालका डाक्टरले क्षयरोग टिबीको लक्षण देखिएको आशंकामा बुटवलस्थित नेशनल प्याथ ल्याबमा नमूना परीक्षणका लागि सिफारिस गरे ।

नमूना परीक्षणको लागि दिएको झण्डै १७ दिनपश्चात् नेशनल प्याथ ल्याबले बिरामीलाई क्षयरोग भएको पुष्टि गर्दै रिपोर्ट थमाएपछि प्रादेशिक अस्पतालका डाक्टरले ल्याब परीक्षण रिपोर्टकै आधारमा उनलाई टिबीको औषधि चलाए ।
डाक्टरको सिफारिस र सल्लाहअनुसार टिबीको नियमित औषधि ७ दिन जति सेवन गर्दा स्वास्थ्य अवस्था झनै बिग्रिएपछि उनी भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एण्ड रिसर्च सेन्टरमा थप स्वास्थ्य जाँचको लागि पुगेको बताउँछन् ।
त्यहाँ उनले क्षयरोग सम्बन्धीका झण्डै आधा दर्जन विशेषज्ञ एवं डाक्टरसँग परामर्श मात्र गरेनन् थप ल्याब परीक्षण समेत गराए । तर नेपालमा नेशनल प्याथ ल्याबले दिएको रिपोर्टमा क्षयरोग संक्रमण पुष्टि देखिएका उनलाई भारतमा त्यस्तो कुनै लक्षण र संक्रमण नभएको पत्ता लाग्यो ।
त्यहाँस्थित डाक्टरहरूले उनको क्षयरोगको औषधि बन्द गरिदिए । र यो सामान्य भाइरल ज्वरो मात्रै हुन सक्ने डाक्टरहरुले उनी र उनका आफन्तलाई बताएपछि उनीहरू अचम्ममा परे । क्षयरोगजस्तो गम्भीर परीक्षणमा नेशनल प्याथ ल्याबले यस्तो लापरबाही गरेको विषयले आफूहरूलाई थप पीडा महसुस भएको सफल बताउँछन् । सफलको उपचारमा खटिएकी उनकी दिदी भन्छिन्, ‘नेपालमा भाईको स्वास्थ्य अवस्था अप्ठ्यारो भएपछि भारत गयौं । त्यहाँका डाक्टरहरूले भाईलाई टिबी संक्रमण नभएको र ल्याबको रिपोर्टमा गडबडी देखिएको भनेपछि हामी नेशनल प्याथ ल्याबको यो किसिमको यस्तो लापरबाही देखेर निराश भयौं । आफ्नै देशको जिम्मेवार ल्याबले हामीहरूलाई गलत रिपोर्ट दिएको थाह पाउँदा दुःख लाग्यो । ‘ एउटा ल्याबको त्रुटिको कारण आफूहरु शारीरिक, मानसिक र आर्थिक गरि सबै प्रकारको दवाव झेलेको उनी गुनासो गर्छिन् ।


उनीहरू भारतबाट क्षयरोग नभएको रिपोर्ट पाएपछि खुशी हुँदै नेपाल फर्किए । तर उनीहरू नेशनल प्याथ ल्याबको (उनीहरूकै भाषामा) गैर जिम्मेवारीप्रति चुप लागेर बस्न सक्ने अवस्था थिएन ।
बुटवल फर्केर उसले दिएको गलत रिपोर्टबारे कुराकानी गर्दा नेशनल प्याथ ल्याबले आफ्नो रिपोर्ट सही रहेको दाबी गर्यो । भारतमा परीक्षण गरेका रिपोर्ट र त्यहाँका विशेषज्ञहरूले दिएको सल्लाहबारे नेशनल प्याथ ल्याबलाई जानकारी गराए पनि प्याथ ल्याब आफ्नो दाबीबाट पछि हटेन ।
नेशनलको दाबी र भारतमा गरिएको परीक्षणको रिपोर्ट फरक फरक परेपछि थप परीक्षणको लागि बुटवलकै सीड मेडिकल ल्याबोरेटरिजमा Interferon Gamma Release Assay Test (IGRA Test) गरियो । त्यहाँ पनि बिरामीलाई टिबी संक्रमण नभएको पुष्टि भएको छ । त्यति मात्र होइन आफूलाई हालसम्म कुनै पनि समयमा टिबी संक्रमण नभएको समेत परीक्षणबाट पत्ता लागेको उनी बताउँछन् ।

दशैंअघि नेशनल प्याथ ल्याब बुटवलका म्यानेजर प्रकाश न्यौपानेसहित अस्पताल प्रशासनका केही व्यक्तिहरूले बिरामी र बिरामीका आफन्तलाई बोलाएर आफूबाट गल्ती भएको हुन सक्ने भन्दै क्षतिपूर्ति दिने आश्वासन समेत दिएको स्रोत बताउँछ । यद्यपि दशैं र तिहारपछि उनीहरूले आफूहरूको रिपोर्ट सही भएको दाबी गर्दै पीडितलाई घुमाउरो किसिमले मानसिक रूपमा आघात पुर्याउन कोसिस गरिरहेको स्रोत बताउँछ ।
पूर्वाधार वाचलाई प्राप्त झण्डै डेढ घण्टा लामो एक गोप्य अडियोमा अस्पताल प्रशासनले बिरामीलाई मानसिक रूपमा दबाब दिने गरी संवाद गरिरहेकाे एवं स्थानीय पत्रकारहरूलाई समेत पीडितसँग भेटाएर दबाब बढाउने प्रयास भइरहेको भेटिएको छ । यस घटनासँग सम्बन्धित अडियो एवं अन्य सामग्रीहरू पूर्वाधार वाचसँग सुरक्षित छन् ।
के भन्छ नेशनल प्याथ ल्याब बुटवल ?
![]()
नेशनल प्याथ ल्याब बुटवलका कन्सल्यान्ट प्याथोलोजिष्ट डा. अनिल काफ्लेले आफूले पाएको स्लाइडमा टिबी नै देखेको बताएका छन् । उनले भने, ‘हामीलाई बिरामीको ब्याकग्राउण्ड के हो ? कसो हो थाह हुँदैन । यो टेक्निकल कुरा हो । स्लाइडमा कोलोनिकल बायोप्सी टेष्ट गर्दा टिबी देखिएको हो । मैले त्यही लेखेको हुँ ।’
तर कन्सल्यान्ट प्याथोलोजिष्ट भन्दा वरिष्ठ शैलीमा नेशनल प्याथ ल्याब बुटवलका प्रशासक (म्यानेजर) प्रकाश न्यौपाने यो घटनामा प्रोएक्टिभ भएर लागेका देखिन्छन् । बुटवलकै अर्को ल्याबले समेत नेशनल प्याथ ल्याबले दिएको रिपोर्ट गलत रहेको पुष्टि गरिसक्दा पनि न्यौपाने आफूहरूले दिएको परीक्षण रिपोर्ट कुनै पनि हालतमा गलत नहुने तर्क गर्छन् ।
उनले पूर्वाधार वाचसँग भने, ‘हामीले जुन स्लाइडमा हेरेको हो, त्यो स्लाइडमा टिबी छ । त्यो स्लाइड बिरामीसँग नै छ । त्यसमा हेर्न सक्नुहुन्छ । हामीले परीक्षण गरेको स्लाइड जुनसुकै ठाउँमा चेक गर्दा पनि भेटिन्छ ।’
उनले अर्को ल्याबमा गरिएको परीक्षण समेत पूर्ण परीक्षण नभएको समेत दाबी गर्न भ्याए । भारतमा समेत तपाईँहरूको रिपोर्ट गलत रहेछ भन्ने पुष्टि भइसक्दा पनि तपाईंकै दाबी मात्र कसरी सत्य हुनसक्छ ? भन्ने प्रश्नमा समेत उनले आफूहरूको रिपोर्ट गलत नभएको दाबी गर्न भने छाडेनन् ।
बुटवलका प्रयोगशालाप्रति घट्दो विश्वास, बढ्दो हैरानी
उसो त नेशनल प्याथ ल्याबले यसरी अन्य प्रयोगशालाभन्दा फरक रिपोर्ट निकालेको घटना यो नै पहिलो होइन ।
तत्कालीन कोरोनो महामारीको समयमा नेशनल प्याथ ल्याब र लुम्बिनी प्रादेशिक अस्पतालमा एउटै व्यक्तिको स्वाब परीक्षणको रिपोर्ट एउटामा पोजेटिभ र अर्कोमा नेगेटिभ आएको थियो।
लुम्बिनी प्रादेशिक अस्पतालमा स्वाब नमूना नम्बर ८६९७ संकलन गरी परीक्षण गरेका बुटवलका २० वर्षीय पुरुषको पिसिआर गर्दा कोरोना पोजेटिभ देखायो।
उनले भोलिपल्ट नेशनल प्याथ ल्याबमा फेरि स्वाब परीक्षण गराएका थिए। नेशनल प्याथ ल्याबको रिपोर्ट नेगेटिभ आयो।
उनले अर्को दिन अगष्ट २५ मा नेशनल प्याथ ल्याबमा फेरि परीक्षण गरे। उनको रिपोर्ट नेगेटिभ नै आयो।
तर त्यसको भोलिपल्ट अगष्ट २६ मा लुम्बिनी प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा भने उनको रिपोर्ट पुनः पोजेटिभ नै आयो । त्यसपछि भने उनी आइसोलेसन बसेका थिए ।
यसरी नेशनल प्याथ ल्याबले बेलाबेला यस्ता रिपोर्ट निकाल्ने गरेको सार्वजनिक भएपनि अब भने यसप्रति गम्भीरतापूर्वक सोच्ने बेला भएको छ ।
नेपाल सरकारको ‘क’ वर्गमा सूचीकृत एवं आफूलाई आइएसओ प्रमाणीकरण मान्यता प्राप्त प्रयोगशालाको रूपमा बयान गरी नथाक्ने नेशनल प्याथ ल्याब सरोकारवाला र स्थानीयहरुकाे शंका र अविश्वासको घेरामा परिसकेको छ ।
स्वास्थ्यजस्तो गम्भीर प्राविधिक विषयमा पटक पटक विवादमा तानिँदा नेशनल प्याथ ल्याबमाथि नागरिकको भरोसा उड्ने र भविष्य नै संकटमा पर्न सक्ने एक स्थानीय बताउँछन् ।
कसको दाबी ठीक, के भन्छ नियामक निकाय ?
नेपाल र भारतका गरी ३ वटा फरक फरक ल्याबमा एउटै जना बिरामीको स्लाइड परीक्षणको रिपोर्ट फरक पर्नु आफैमा अनौठो मात्र होइन गम्भीर विषय हो ।
नेपालमा ल्याबहरूको नियामक निकाय नेशनल पब्लिक हेल्थ ल्याबोरेटरी (राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला) यो विषय गम्भीर रहेको भन्दै यसमाथि छानबिन आवश्यक रहेको बताउछ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी एवं डेपुटी चिफ मेडिकल टेक्नोलोजिष्ट सन्तोष सुवेदी भन्छन्, ‘ल्याबरेटरिज एरर नहुने भन्ने हुँदैन । नमूना जाँच गर्नुभन्दा अघि, जाँचको बेलामा र रिपोर्ट तयार पार्ने बेलामा गरी विभिन्न चरणमा त्रुटि नहुने भन्ने हुँदैन । एक ठाउँमा एउटा र अर्कोमा अर्कै खालको रिपोर्ट छ भने कहीँ न कतै मिस्टेक त छ नै । दुई थरी त रिपोर्टमा त्यस्तो नआउनु पर्ने हो । यसमा कहीँ न कहीँ त्रुटि भएकै छ । यो गम्भीर विषय हो ।’
उनले यसबारे नियामक निकायले पीडितको उजुरी प्राप्त भए गम्भीरतापूर्वक छानबिन हुने बताएका छन् । यस्तै छानबिनमार्फत गल्ती देखिएकाहरूमाथि कानुनी कारबाही गर्न सकिने समेत पूर्वाधार वाचलाई बताए ।
गलत रिपोर्टका कारण बिरामी र परिवारले भोग्नुपरेको प्रताडना
नेशनल प्याथ ल्याबको एक रिपोर्टले बिरामीमाथि मात्र होइन बिरामीको परिवारले नै मानसिक, आर्थिक र सामाजिक रूपमा समेत प्रताडना खेप्नु परेको छ । नेशनल प्याथ ल्याबबाट जब टिबी पोजेटिभ रिपोर्ट लिएर बिरामी लुम्बिनी प्रादेशिक अस्पताल पुगे, त्यहीँबाट सुरु भयो उनको मानसिक तनाव ।
नेपालमा पुरातन र पछौटे चेतनाले एक्काइसौं शताब्दीसम्म आइपुग्दा समेत जरा गाडेर बसेको सत्य घामजस्तै छर्लङ्ग छ । बिरामीकी दिदीले भाईको लागि टिबीको औषधि लिन अस्पताल जाँदा उनले आफूले अस्पतालमै विभेदको महसुस गरेको दुःखेसो गरिन्, ‘म भाईको लागि टिबीको औषधि लिन अस्पताल पुगेकी थिएँ, रोगको नाम सुन्ने बित्तिकै अस्पतालका कर्मचारीले अनौठो मान्दै टाढै बस्नु भन्दै औषधि समेत परबाटै दिनुभयो । एउटा ल्याबको गलत रिपोर्टले हामीले निकै पीडा खप्न बाध्य भयौं । ‘
बिरामीको आमाले समेत विभेद खेप्नु परेको गुनासो छ । बिहान किराना पसलमा दूध लगायतका दैनिक उपभोग्य वस्तु किन्न जाँदा समेत उनले नजानिँदो गरी विभेद महसुस गर्नुपरेको छ । यो सबै एक ल्याबको गलत रिपोर्टका कारण सिर्जना भएका समस्याहरू बाहेक अरू होइनन् ।
यति बिघ्न पीडाहरुबीच २५ वर्षीय सफलले पूर्वाधार वाचलाई एक कारुणिक पत्र लेख्दै अब आफूलाई यो देशमै बस्न मन नभएको निराशा व्यक्त गरेका छन् ।
यही देशमा केही गरौ भन्ने युवाहरु समेत नेशनल प्याथ ल्याबजस्ता संस्थाहरुकै कारण पलायनको सोचमा पुग्नु दुःखद् विषय हो ।
नेशनल प्याथ ल्याबको लागि यो विषय सामान्य भए पनि आम सर्वसाधारणको लागि यो गम्भीर र जटिल विषय हो । यसबारे सत्यतथ्य र निष्पक्ष जाँजबुझको आवश्यकता समेत टड्कारो रूपमा देखिएको छ ।
बिरामी र उनका आफन्तले न्यायप्राप्तिका लागि आफूहरु पछि नहट्ने बताएका छन् । उनीहरुले छिट्टै सरकारको नियामक निकायसँग छानबिनको लागि नेशनल प्याथ ल्याबविरुद्ध उजुरी दिने तयारी गरिरहेको समेत जानकारी दिए ।
जनचेतना एवं आर्थिक अभावका कारण नेपालमा मानिसहरु महंगो स्वास्थ्य सेवा लिन बाध्य छन् । यसरी गलत ल्याब रिपोर्टका कारण समेत भित्रभित्रै पीडित हुनेको संख्या बाक्लो हुन सक्ने जानकारहरू बताउँछन् ।
(बिरामीको आग्रह अनुसार उनको परिचय गोप्य राखिएको छ । स.)
पूर्वाधार वाच समाचार प्रभाव : ‘नेशनल प्याथ ल्याब’ बुटवलले पीडितलाई दियो २ लाख क्षतिपूर्ति, समाचार हटाउन दबाब
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्