पूर्वाधार वाच, काठमाडौं ।
रुपन्देहीको बुटवलस्थित नेशनल प्याथ ल्याबले आफूले त्रुटिपूर्ण रिपोर्ट दिएकोबारे गल्ती स्वीकार्दै पीडित बिरामीलाई झण्डै २ लाख रुपैयाँ क्षतिपूर्ति स्वरुप दिएको छ । पूर्वाधार वाच डटकमले बुधबार नेशनल प्याथ ल्याबले क्षयरोगको बायोप्सी परीक्षणको रिपोर्टमा त्रुटि गर्दा बिरामीले सास्ती भोग्नुपरेको विषयमा विस्तृत समाचार सामग्री प्रकाशन गरेपछि पीडितलाई क्षतिपूर्तिबापत एक लाख ९६ हजार रुपैयाँ दिएको स्रोतले जानकारी दिएको छ ।
नेशनल प्याथ ल्याबले बिहीबार पीडित बिरामीको खातामा नेपालदेखि भारतका अस्पताल एवं ल्याबहरूमा लागेको सम्पूर्ण खर्चबापत पीडित बिरामीले उपलब्ध गराएको विवरणको आधारमा सो रकम बिरामीको बैंक खातामा जम्मा गरिदिएको हो ।
नेशनल प्याथ ल्याबले पीडित बिरामीको खातामा क्षतिपूर्ति रकम जम्मा गरेपछि पूर्वाधार वाच डटकममा प्रकाशित समाचार हटाई दिनको लागि पीडित पक्षलाई अनुरोध गर्न समेत दबाब दिएको छ । नेशनल प्याथ बुटवलका जिम्मेवार अधिकारीले आफूहरूबारे समाचार छाप्न लगाएको भन्दै पीडित पक्षलाई समाचार हटाउन लगाउनु पर्ने भन्दै फोन गरेको स्रोत बताउँछ ।
पूर्वाधार वाच डटकमसँग पीडित बिरामीका पक्षबाट आफूहरूले क्षतिपूर्ति पाएको बताउँदै समाचार हटाइदिन भनेको स्वीकार्यो । तर पूर्वाधार वाच डटकमले समाचार हटाउने विषय पत्रकारिता एवं सञ्चार माध्यमको आचारसंहिता विपरीत रहेको ध्यानाकर्षण गर्दै कुनै पनि हालतमा समाचार तोडमोड एवं डिलिट नहुने अडान व्यक्त गरेको छ ।
बुटवलस्थित नेशनल प्याथ ल्याब नामक उक्त निजी प्रयोगशालाको गलत रिपोर्टका कारण यसअघि आफू पीडामा परेको एक बिरामीले गुनासो गरेपछि पूर्वाधार वाचले यसबारे समाचार सम्प्रेषण गरेको थियो ।
यसअघि नेशनल प्याथ ल्याब बुटवलका कन्सल्यान्ट प्याथोलोजिष्ट डा. अनिल काफ्लेले आफूले पाएको स्लाइडमा टिबी नै देखेको बताएका थिए । उनले भनेका थिए, ‘हामीलाई बिरामीको ब्याकग्राउण्ड के हो रु कसो हो थाह हुँदैन । यो टेक्निकल कुरा हो । स्लाइडमा कोलोनिकल बायोप्सी टेष्ट गर्दा टिबी देखिएको हो । मैले त्यही लेखेको हुँ ।’
नेशनल प्याथ ल्याब बुटवलका म्यानेजर प्रकाश न्यौपाने यो घटनामा प्रोएक्टिभ भएर लागेका देखिन्थे । बुटवलकै अर्को ल्याबले समेत नेशनल प्याथ ल्याबले दिएको रिपोर्ट गलत रहेको पुष्टि गरिसक्दा पनि न्यौपाने आफूहरूले दिएको परीक्षण रिपोर्ट कुनै पनि हालतमा गलत नहुने तर्क गरेका थिए ।
यद्यपि पूर्वाधार वाचले विस्तृत विषयवस्तु केलाएर समाचार सम्प्रेषण गर्दा नेशनल प्याथ आफ्नो दाबीबाट पछि हट्न बाध्य मात्र भएको छैन उल्टै उक्त गलत रिपोर्टका कारण बिरामीले भोग्नुपरेको आर्थिक क्षतिको समेत भरपाई गर्न बाध्य भएको छ ।
बुटवलमा नेशनल प्याथ ल्याबको ‘आतंक’ : गलत रिपोर्टले हैरानी खेप्दै सर्वसाधारण, छानबिनमा तान्दै सरकार
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्