पूर्वाधार वाच, काठमाडौं।
पूर्वाराजा ज्ञानेन्द्र शाहले तीनकुने घटनाबारे मुख खोलेका छन्। नयाँ वर्ष २०८२ को पूर्व सन्ध्यामा शुभकामना सन्देश जारी गर्दै शाहले चैत १५ गते भएको तीनकुने घटनाबारे आफ्नो धारणा सार्वजनिक गरेका हुन्। शाहले यस अवसरमा भिडिओ सन्देशसमेत जारी गरेका छन्।
राजसंस्था पुनर्स्थापनाको माग राख्दै तीनकुनेमा भएको आन्दोलनमा दुई जनाको ज्यान गएको थियो। शाहले उक्त घटनाबारे आफू अत्यन्तै दुस्खी भएको बताएका छन्।
‘केही दिनअघि जनप्रदर्शनमा जुन प्रकारको हिंसा, आगजनी, तोडफोड भयो, त्यसबाट जस प्रकारको मानवीय एवम् भौतिक क्षति भयो, त्यो सुन्दा हामीलाई अत्यन्तै दु:ख लाग्यो,’ शाहले विज्ञप्तिमा भनेका छन्।
नयॅा वर्ष-२०८२ को अवसरमा राजा ज्ञानेन्द्र शाहद्वारा व्यक्त शुभकामना सन्देशको पूर्ण पाठ
हामी नेपालीहरूको घर आँगनमा नयाँ वर्ष दुई हजार बयासी आइपुगेको छ । नयाँ घाम, नयाँ ज्योति, नयाँ उत्साह लिएर आएको नव वर्षको उपलक्ष्यमा देश तथा विदेशमा रहे बसेका सम्पूर्ण नेपालीहरूको सुख र शान्तिको मंगलमय शुभकामना ।
हरेक नयाँ वर्ष नुतन आशा र विश्वास बोकेर आउने तर वर्षको बिदाइमा एउटा घनघोर निराशाका बिच हुने गरेको धेरै साल भयो । समाजका विभिन्न दल, वर्ग र जनसमुदायले आफ्ना धारणा, आस्था तथा अभिव्यक्ति राख्न पाउनु प्रजातन्त्रको सुन्दर विशेषता हो । तर त्यस्तो धारणा र मान्यता प्रस्तुत गर्दा सबैले संयम अपनाउनु पर्दछ ।
केही दिन अघि जनप्रदर्शनमा जुन प्रकारको हिंसा, आगजनी, तोडफोड भयो त्यसबाट जस प्रकारको मानवीय एवं भौतिक क्षति भयो त्यो सुन्दा हामीलाई अत्यन्तै दुस्ख लाग्यो । नागरिक स्वतन्त्रता भन्दा ठूलो तन्त्र वा वाद हुँदैन वास्तविक प्रजातन्त्र त्यहाँ हुन्छ जहाँ राम्रो, नराम्रो जनगुनासो वा गुणगान सुन्ने परम्परा र संस्कार हुन्छ ।
नेपाली जनतामा देश र भविष्यलाई लिएर जुन स्तरको जागरूकता पैदा भएको छ त्यसलाई हामीले सकारात्मक रूपमा लिएका छौँ । वास्तवमा नेपाली जनतामा रहेको देशभक्तिपूर्ण भावना विश्व मै अनुकरणीय र अनुकरणीय छ ।
देशलाई विद्यमान जटिलताबाट मुक्त गराई शान्त, स्थिर र समृद्ध मुलुक बनाउने जागरूकता जुन पैदा भएको छ, नयाँ वर्ष दुई हजार बयासीमा नेपाली जनताको चाहना अनुरूपको परिणाम हासिल हुने विश्वास थपिएको छ ।
मुलुकमा व्याप्त अशान्ति, अराजकता, निराशा र असन्तुष्टिबाट आम नेपालीलाई मुक्त गर्न नेपालको राजसंस्थाले जहिले पनि योगदान पुऱ्याउँदै आएको विदितै छ । राष्ट्रियता र प्रजातन्त्रलाई मूल कार्य मान्दै जनभावना बमोजिम चल्ने बहुदलीय प्रजातन्त्र र संवैधानिक राजसंस्थाको परम्परामा हाम्रो मान्यता रही आएको छ । वर्तमानमा बदलिँदो जनचाहनाको पनि कदर गरी राज्य शक्तिको श्रोत जनता नै हुन भन्ने मन्जुरी सदैव स्थापित हुनु पर्दछ ।
राष्ट्रनिर्माता श्री ५ बडामहाराजाधिराजको दिव्य उपदेशलाई नै अबको राज्यसत्ताको मूल मन्त्र सोच्नुमा के होला ? सन्तुलित कूटनैतिक सम्बन्ध र आत्मनिर्भर नेपालको परिकल्पना नै पृथ्वी पथको मूलसार हो । यही नै राजनीतिको मूलधार हुनु पर्ने हो ।
विश्वको बदलिँदो परिस्थितिलाई मनन गर्दै विश्वव्यापीकरण र स्वतन्त्र व्यापारका आधारहरूलाई चुनौतीको रूपमा लिँदै चरम आर्थिक मन्दी भोग्न परिरहेको अहिलेको सन्दर्भमा नेपाल जस्ता विकासोन्मुख देशले आत्म निर्भर अर्थतन्त्र निर्माणको कार्यमा अर्जुन दृष्टि लगाउनु पर्ने समय आएको छ।
स्वदेशी श्रोत साधनको प्रयोगले स्वदेश मै उत्पादन गरी स्वदेश मै खपत गर्दै आन्तरिक अर्थतन्त्रको चक्र भित्रैबाट मुलुकको समग्र अर्थतन्त्र आत्मनिर्भर र चलायमान गराउनु पर्ने विश्व परिवेश निर्माण हुँदैछ भन्ने संकेतहरु देखा परिरहेका छन् ।
विश्व कै उत्कृष्ट यो भूमिमा, बाँच्न समेत गाह्रो हुने स्थिति पैदा भएपछि बढ्दो युवा पलायनलाई रोकी युवा शक्तिको श्रम र सीपलाई स्वदेश मै उच्च उपयोग गर्नु पर्दछ ।
युवा स्वरोजगारको निम्ति अवसरहरूको खोजी गरी नेपाल मै आय आर्जन गर्न सक्ने वातावरण तयार गर्नु पर्ने आजको पहिलो आवश्यकता बनेको छ। सबै नेपालीको तन, मन र ध्यान त्यसैमा लगाउनु परेको छ ।
विश्वभरि छरिरहेका नेपालीहरू एकताको सूत्रमा बाँधिन अब ढिला गर्नु हुँदैन। आफ्ना ज्ञान, सीप र सामर्थ्य मात्र होइन, त्यहाँ आर्जेको पुँजी, श्रोत र साधन समेत नेपालमै लगाउनु पर्दछ भन्ने भावना सबैमा जागृत गराउनु परेको छ । प्रकृतिले दिएको स्वर्ग जस्तै सुन्दर हिम्वत् खण्ड नेपाल श्रृंगार्न र विकासको बिकुल फुक्न कसेर लाग्न र लगाउन ‘स्वदेश फर्क स्वदेश नै स्वर्ग’ भन्ने अभियान चलाउनु पर्ने आजको आवश्यकता भएको छ ।
जनभावना र चाहना बुझी मुलुकको समग्र संरचनामा नै हेरफेर र सुधारका कदम चाल्नु पर्ने तथ्य स्पष्ट देखिन्छ । शिक्षा, स्वास्थ्य र दैनिक कामकाजका पद्धति र प्रणालीहरूमा आमूल परिवर्तन र सुधार गरी यीनको आधुनिकीकरण अनिवार्य भइसकेको छ। युग प्रविधिको हो, सावधानीपूर्वक उपयोग गर्न सकेमा राष्ट्रको योगदानमा ठूलो टेवा पुग्न सक्ने छ । “सुशासन र भ्रष्टाचारमुक्त प्रशासनू मूल नारा हुनु पर्दछ।
हामी अस्थिरता, अशान्ति, अराजकता, विपन्नता र भ्रष्टाचारको अन्त्य चाहन्छौँ। त्यसका निम्ति नेपाली जनताबाट हुने हरेक प्रयासहरूमा हाम्रो एकबद्धता रहने छ।
मुलुकको गिर्दो अर्थ व्यवस्था, रुग्ण हुँदै गएको औद्योगिक उत्पादन, बढ्दो राष्ट्र ऋण र बेरोजगारी, रक्षात्मक बन्दै गएको राष्ट्रियता, राष्ट्रिय एकता, सामाजिक सद्भाव, मौलिक धर्म, संस्कृति तथा जनस्तरमा बढेको निराशा, असन्तुष्टि हाम्रो चिन्ताको चिन्ताको मूल विषय हो। नागरिक पलायनसँगै पुँजी पलायन, भ्रष्टाचार र बेथिति देशले थेग्नै नसक्ने स्तरमा झाँगिएको छ। यो स्थितिमा नयाँ वर्षलाई उपलब्धिमूलक बनाउन हामी सबै नेपालीको सामूहिक र एकताबद्ध प्रयास अपरिहार्य भएको छ ।
नेपाली नेपाली बिच द्वन्द्व नहोस् परस्पर अविश्वास र हिंसाको दुस्खद मनस्थिति नबनोस्, देशवासीहरू कुनै पनि नाम र निहुँमा धूर्वीकृत नबनुन् भन्ने तर्फ हामी सदैव सचेत र संवेदनशील छौँ । नेपालीको एकतामा नै नेपालको भविष्य निहित रहेको यर्थाथलाई हामीले आत्मसाथ गरेका छौँ, सबैले यही वास्तविकतालाई आत्मबोध गर्नु पर्दछ भन्ने ठान्दछौं।
हाम्रो आव्हान हामी कसैको निजी स्वार्थपूर्तिका निम्ति होइन, कुनै खालको सैद्धान्तिक वाद वा विचारको होइन समग्र राष्ट्रको स्वाधीनता, समग्र जनताको सम्प्रभुता तथा नेपाल र नेपालीको सुखमय प्रतिष्ठाको निम्ति हो। आफ्नै प्रकारको अग्रणी राष्ट्र हामीले नै बनाउने हो। अनि आफ्नो स्वतः र अस्तित्व हामी आफैले उठाउने हो ।
संसार धेरै अघि बढिसक्यो तर हामी यो वा त्यो वादको चक्रव्यूहमा फसेका छौँ । नेपाल आमालाई केन्द्रमा राखेर हाम्रा विचार बन्नु पर्छ, हाम्रा कदम चल्नु पर्छ । हरेक समस्याको समाधान संवाद, सहमति, समन्वय र सहकार्यबाट हुनसक्छ ।
आगामी वर्ष नेपाली इतिहासको स्मरणीय र सुनौलो सम्झना बन्नु पर्छ र बनाउन सकिन्छ भन्ने विश्वास हामीले लिएका छौँ। नयाँ वर्षले नयाँ आशा, उमङ्ग र उत्साह ल्याओस्, अनि नेपालीको सुनौलो भविष्यको सुनिश्चितता होस् ।
श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन्, जय नेपाल !
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्