पूर्वाधार वाच, काठमाडौं ।
राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलको दिगो विकास, व्यवस्थापन र प्रवर्द्धनमा सक्रिय ठमेल पर्यटन विकास परिषद् (टीटीडीसी) को सञ्चालक समिति निर्वाचन आगामी असार २७ गते हुने भएको छ । निर्वाचनमार्फत आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गरिनेछ, जसले ठमेलको पर्यटन, आतिथ्य उद्योग तथा सहरी व्यवस्थापनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
वि.सं. २०४६ सालमा स्थापना भएको परिषद्ले ठमेल क्षेत्रको पर्यटन विकास, व्यवसायिक वातावरण सुधार तथा सांस्कृतिक सम्पदाको संरक्षणमा तीन दशकभन्दा बढी समयदेखि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । स्थानीय घरधनी, होटल व्यवसायी, ट्राभल तथा पर्यटन उद्यमीहरूको सहभागितामा स्थापित परिषद्ले सरकारी निकाय तथा निजी क्षेत्रसँग सहकार्य गर्दै ठमेललाई अन्तर्राष्ट्रियस्तरको पर्यटकीय केन्द्रका रूपमा विकास गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
अध्यक्षमा प्रश्रय राजभण्डारीको उम्मेदवारी
निर्वाचनका लागि अध्यक्ष पदमा प्रश्रय राजभण्डारीले उम्मेदवारी दर्ता गरेका छन् । यस्तै प्रथम उपाध्यक्षमा कृष्ण थपलिया, द्वितीय उपाध्यक्षमा प्रकाश श्रेष्ठ, तृतीय उपाध्यक्षमा रमेश थापा, महासचिवमा पुण्यराम लागेजु, सचिवमा प्रकाश थपलिया तथा कोषाध्यक्षमा रमेश अधिकारीले उम्मेदवारी दिएका छन् ।
सदस्य पदका लागि कमल अर्याल, सोजेश मालाकार, नवीन तामाङ, पूर्णिमा मालाकार, लालबाबु चौधरी, गोविन्दकुमार श्रेष्ठ, मीरा अधिकारी तथा सोमईप्रसाद बनियाँ (आलोक) चुनावी मैदानमा रहेका छन् ।
ठमेललाई विश्वस्तरीय पर्यटकीय गन्तव्य बनाउने प्रतिबद्धता
उम्मेदवारहरूको टोलीले ठमेललाई सुरक्षित, व्यवस्थित र विश्वस्तरीय पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य सार्वजनिक गरेको छ । उनीहरूले आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धन, पर्यटन व्यवसायीको हकहित संरक्षण, सरसफाइ, सडक बत्ती, सुरक्षा, डिजिटल प्रवर्द्धन तथा हरित पर्यटन अभियानलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै स्थानीय, प्रदेश र संघीय सरकारसँग सहकार्य गर्दै पूर्वाधार सुधार र सांस्कृतिक कार्यक्रममार्फत ठमेलको आकर्षण थप बढाउने योजना पनि अघि सारेका छन् ।
पर्यटन विकासमा परिषद्को महत्वपूर्ण योगदान
ठमेल पर्यटन विकास परिषद्ले विगतका वर्षहरूमा २४ सै घण्टा व्यवसाय सञ्चालनको अवधारणालाई प्रवर्द्धन, पर्यटक सूचना सेवाको विस्तार, सडक बत्ती तथा सीसीटीभीमार्फत सुरक्षा व्यवस्थापन, सम्पदा संरक्षण, सांस्कृतिक पदमार्गको विकास तथा पर्यटन व्यवसायी र घरधनीबीच सहकार्य अभिवृद्धि गर्ने जस्ता महत्वपूर्ण अभियान सञ्चालन गर्दै आएको छ । साथै ठमेल स्ट्रीट फेस्टिभललगायत पर्यटन प्रवर्द्धनका विभिन्न कार्यक्रममार्फत नेपालको पर्यटन प्रवर्द्धनमा पनि परिषद्ले उल्लेखनीय योगदान पुर्याएको छ ।
नयाँ नेतृत्वप्रति पर्यटन क्षेत्रको अपेक्षा
कोभिड–१९ पछिको पुनरुत्थानसँगै नेपालमा पर्यटन गतिविधि विस्तार हुँदै गएको अवस्थामा ठमेल पर्यटन विकास परिषद्को नयाँ नेतृत्वले ठमेलको अन्तर्राष्ट्रिय छवि अझ सुदृढ बनाउने, व्यवसायिक वातावरण सुधार गर्ने तथा दिगो पर्यटन विकासलाई गति दिने अपेक्षा पर्यटन व्यवसायीहरूले गरेका छन् । निर्वाचनबाट निर्वाचित हुने नयाँ कार्यसमितिले ठमेललाई सुरक्षित, व्यवस्थित र विश्वस्तरीय पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने दिशामा प्रभावकारी भूमिका खेल्ने विश्वास गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्