images
images
images

गोरखा भूकम्पको स्मरण गर्दै इन्जिनियर्स एशोसिएसनको प्रभातफेरी तथा फोटो प्रदर्शनी

images

पूर्वाधार वाच, ललितपुर ।

गोरखा भूकम्पको १० वर्ष पुगेको सम्झनामा नेपाल इन्जिनियर्स एशोसिएसनले प्रभातफेरी र फोटो प्रदर्शनी गरेको छ ।

शुक्रबार बिहान एशोसिएसनको केन्द्रीय कार्यालय पुल्चोकबाट थापाथली इन्जिनियरिङ क्याम्पस, लबिम मल हुँदै पुनः केन्द्रीय कार्यालयमा पुगेर प्रभातफेरी सम्पन्न भएको हो ।
‘भूकम्प नबिर्सौं’- कार्यक्रममा बोल्दै एशोसिएसनका अध्यक्ष ई. सुवासचन्द्र बरालले नेपाललाई विपद पर्दा सघाएकोमा इन्जिनियर समुदायलाई धन्यवाद दिँदै वि.सं. २०७२ को विनाशकारी भूकम्पको समयमा एशोसिएसनले चलाएको जनतासँग इन्जिनियर कार्यक्रमले महत्वपूर्ण प्रभाव पारेको स्मरण गर्नुभयो ।
उहाँले एशोसिएनको सक्रियतामा गोरखा भूकम्पपछिको पुननिर्माण सफल भएको समेत दाबी गर्नुभयो । अब निर्माण हुने र जोखिममा रहेका संरचनाहरुलाई राम्रो बनाउने जिम्मेवारी इन्जिनियरहरुको काँधमा रहेको बताउँदै यो अभियान सबैतिर पुर्याउन एकताबद्ध पहल आवश्यक रहेको पनि उहाँले औंल्याउनुभएको छ ।

एशोसिएसनका पूर्वअध्यक्ष ध्रुव थापाले गोरखा भूकम्पपश्चात नेपाली इन्जिनियरहरुले खेलेको भूमिकाका कारण बैशाख १२ गते नेपाली इन्जिनियरहरुलाई चिन्ने दिनका रुपमा रहेको बताउनुभयो ।

तत्कालीन समयमा कहालिलाग्दो घटनालाई अवसरको रुपमा लिएर इन्जिनियर्स एशोसिएसनले खेलेको महत्वपूर्ण भूमिकाको पनि उहाँले स्मरण गर्नुभयो ।

यस्तै वरिष्ठ भूकम्प इन्जिनियर आमोदमणि दिक्षितले २०७२ को भूकम्पभन्दा पहिलेका संरचनाहरु बनाउँदा ध्यान दिएको भए क्षतिको अवस्थामा कमी आउन सक्ने बताउनुभयो । उहाँले विपदबाट हुने क्षति र मृतकको संख्या घटाउनु इन्जिनियरहरुको दायित्व भएकाले त्यसतर्फ निरन्तर केन्द्रीत रहन आग्रह गर्नुभयो ।
कार्यक्रमका वक्ताहरुले गोरखा भूकम्पबाट हासिल गरेका इन्जिनियरिङ र प्राविधिक ज्ञान संसारलाई देखाउनु पर्ने उल्लेख गर्नुभएको थियो ।

एशोसिएसनको डिजास्टर रिस्क म्यानेजमेन्ट एण्ड रिकन्स्ट्रक्सन कोर्डिनेशन कमिटीको संंयोजकत्वमा विभिन्न पेशागत समूह तथा संघ सस्थाको संयुक्त आयोजनामा २०७२ सालको विनाशकारी भूकम्पको सम्झनामा प्रभातफेरी कार्यक्रम सञ्चालन गरिएको हो । उक्त प्रभातफेरी तथा फोटो प्रदर्शनीमा बाक्लो संख्यामा इन्जिनियरहरुको सहभागिता रहेका थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्