images
images
images

नेपाली आकाशलाई गतिशील, सुचारु र सुरक्षित बनाइन्छ : मन्त्री पाण्डे

images

पूर्वाधार वाच, काठमाडौं ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाली आकाशलाई गतिशील, सुचारु र सुरक्षित बनाउनु पर्नेमा जोड दिनुभएको छ।

सोमबार प्रतिनिधि सभामा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ माथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री पाण्डेले नेपाली आकाश र विमानस्थलहरूलाई व्यवस्थित र चलायमान बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो।

उहाँले विगत दुई दिनमा ७० जना सांसदहरूले उठाएका जिज्ञासाहरू परिपूरक रहेको उल्लेख गर्दै सांसदहरूबाट देखिएको अठोट र संकल्पले आफूलाई पनि थप दृढ बनाएको बताउनुभयो।

“हामीले नेपालको पर्यटन क्षेत्रलाई पनि चलायमान बनाउनुपर्छ,” मन्त्री पाण्डेले भन्नुभयो, “अन्तर्राष्ट्रिय तथा आन्तरिक विमानस्थलहरूलाई सक्रिय बनाउनु पर्छ।”

मन्त्री पाण्डेले विधेयकमा संशोधनको बाटो खुला रहेको बताउँदै ७२ घण्टा भित्र विभिन्न संशोधन प्रस्ताव आउने अपेक्षा व्यक्त गर्नुभयो।

उहाँले सरकार सार्थक संवादका लागि तयार रहेको र ‘कन्फ्लिक्ट अफ इन्टरेस्ट’ अन्त्य गर्दै प्रभावकारी ऐन निर्माण गर्ने प्रतिबद्धता दोहोर्याउनुभयो।

दुई निकायलाई अलग बनाउँदा व्यवस्थापन थप प्रभावकारी र गतिशील हुने आशा व्यक्त गर्दै मन्त्री पाण्डेले कर्मचारीहरूको सेवा सुविधा यथावत् राखिने विश्वास पनि दिलाउनुभयो।

उहाँले नियामक निकायमा सुधार देखिएको र भ्रष्टाचार नियन्त्रणमा मन्त्रालयले कुनै सम्झौता नगर्ने बताउनुभयो।

सौर्य विमान दुर्घटनाको प्रारम्भिक प्रतिवेदन आइसकेको र अन्तिम प्रतिवेदन निष्पक्ष हुने उल्लेख गर्दै मन्त्री पाण्डेले दोषीलाई कारबाही गरिने स्पष्ट पार्नुभयो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्