images
images
images

‘न हाम्रो माटो स्वस्थ रह्यो न हावा’

images

कौशलेन्द्र झा पेसाले नाम चलेका चार्टर्ड एकाउन्टेन्ट हुन् । पछिल्लो समय उनको काम त्यसमा मात्र सीमित छैन । झाले नेपाली समाजमा बढ्दै गएको रोगव्याधि, खराब मनोवृत्ति र अप्राकृतिक जीवनशैलीबाट उन्मुक्ति दिएर प्राकृतिक स्वस्थ जीवन बाँच्न अभिप्रेरित गर्ने अभियानीको पहिचान बनाइरहनुभएको छ । त्यसको आधार हो-जनकधाम ।
झा जनकधामलाई रैथाने देशी गाईमा आधारित प्राकृतिक जीवनमार्फत स्वस्थ र स्वच्छ जीवन बाँच्ने ‘प्राकृतिक चिकित्सालय’ भन्न रुचाउँछन् । जहाँ अछामी नौमुठेदेखि जुरो भएका विभिन्न जातीका एक सय १० वटा गाई छन्, जसको पञ्चगव्यबाट विभिन्न औषधिय गुण भएका ६० भन्दाबढी ‘प्रोडक्ट’ बन्छन् । उनको दावीलाई मान्ने हो भने जनकधामको प्राकृतिक जीवन बाँच्ने सल्लाह र पञ्चगव्यमा आधारित वस्तुको सेवनले असाध्य रोग भएकाहरू पनि प्रफुल्ल जीवन बाँच्न थाल्छन् । ‘जनकधामसँग जोडिने हरेक व्यक्तिलाई हामी प्राकृति बन्न, प्रकृतिमा फर्कन अभिप्रेरित गर्छौं । प्राकृतिक भोजन र पञ्चगव्यमा आधारित पदार्थ सेवनका लागि सल्लाह दिन्छौँ । हालसम्म अप्रत्याशीत रूपमा प्रतिफल आइरहेको छ’, झा भन्छन् । यिनै विविध पक्षबारे आज हामीले जनकधामका संस्थापक झासँग कुराकानी गरेका छौँ । प्रस्तुत छ, कुराकानीको सम्पादीत अंशः

तपाई चार्टर्ड एकाउन्टेन्टजस्तो मान्छे गौमाता संरक्षण भनेर माटो र गोबरसँग खेलिरहनुभएको छ । यो केका लागि ?

यो धर्तीमा तीनवटा माता छन्- गौमाता, धर्तीमाता र जन्मदिने माता । अहिले यी तीनै माता असुरक्षित छन् । अहिले आर्टिफिसियल गाई छन्, जसले प्राकृतिक गौमाता संकटमा छन् । जन्मदिने माता सन्तान टाढा हुँदाको वियोग र ठूला घरमा एक्लै छन् कि वृद्धाश्रममा छन् । जीवजगतलाई पोषित गर्ने धर्ती माता पनि अशुद्ध हुन थालेकी छन् । अप्राकृतिक मलखाद्यले समस्यामा छन् । दुधदेखि हरेक खानेकुरा कारखानामा बन्न थालेका छन् । यसर्थ यी तीनै माता समस्यामा छन् ।

म सिए भएर पैसा कमाइरहेको छु तर त्यो खान मिल्दैन । विदेशमा भएकाहरूले पनि पैसा कमाइरहेका छन् । के तिनका आमाबुबा वा तिनले पैसा खाएर बस्न मिल्छ ? मिल्दैन । त्यसैले त संसार आक्रान्त अवस्था छ । जताततै दुःखको अवस्था छ । हाम्रो जीवन त संकटमा छ नै, पृथ्वी झन् आक्रान्त छ । त्यही सारतत्व बुझेर, अनुभूति गरेर म यसमा लागेको छु ।

सिए त एउटा जागीर खाने, जीवीकोपार्जनको आधार मात्रै हो । यो कुनै ठूलो कुरा होइन । काठमाडौँमा बसेर सबै खुसी र सुखी छन् भन्ने होइन । सानोदेखि जतिसुकै ठूलो पदमा भएकाहरूलाई प्रकृतिसँग जोड्ने, यी तीनै माताको काखमा जाने, माताको सेवा गरेर असिम जीवन पाउने बाटोमा हिँड्नुपर्छ भनेर म यसमा लागेको छु ।

जनकधामको जन्म कसरी भयो र यसको परिकल्पनाचाहिँ के हो ?

मान्छे भ्रूणदेखि जन्मेसम्म र पछि हुर्काउँदा पनि एउटा सपना देखिएको हुन्छ । आफ्नो सन्तान डाक्टर, पाइलट, सिए वा ठूलो मान्छे बनोस् भन्ने हरेकको चाहना हुन्छ तर हुनुपर्ने त्यति मात्रै होइन । यो जगत्मा हरेक जीवजन्तु बाँचिरहेकै छन्, मनुष्य के त्यसैका लागि जन्मेको हो त ? यो मेरो पनि प्रश्न हो ।

सुरुदेखि परिवार, समाज र परिवेशको संस्कारका कारण म सिए बनेँ । पढ्दा होस् वा अहिले सेवामा क्रियाशील रहँदा मेरो मनमा त्यो प्रश्न रहिरह्यो । देशका र यो विश्वका हरेक उच्च तहमा पुग्ने व्यवसायी वा अन्य व्यक्तिको जीवनमा के यो प्रश्न सकिसकेको हुन्छ ? म त भन्छु मनुष्यका लागि सबैभन्दा ठूलो कुरा सुख र शान्ति हो । सुखसँग शान्ति भएन भने त्यो कुनै कामको हुँदैन । उत्तर खोज्दै जाँदा मेरो जीवनमा धर्ती, गाई र जन्मदिने आमालाई नहेरेर हाम्रो जीवनमा सुख र शान्ति आउँदैन भन्ने बोध भएको छ ।

मैले जान खोजेको बाटो र समात्न खोजेको आदर्श भनेको राजा जनकपथ हो । यो संसारको इतिहासमा यो जगतको भलो गर्ने विज्ञान र आध्यात्म, संसार र सन्यास, भौतिकवाद र आध्यात्मवादको पराकाष्ठा यदी कसैले प्राप्त गरेको छ भने ती राजा जनक नै हुन्- सीरध्वज, राजर्शी जनक । हामी इतिहासबाट थाहा पाउँछौँ उहाँ ज्ञानि पनि हुनुहुन्थ्यो, त्यसैले देहमा भएर पनि विदेह भनिन्छ । जनककालीन सनातन समाजमा आध्यात्म, भौतिकवाद र ज्ञान सबै कुराको उत्तर पाइन्थ्यो । त्यो जीवन निकै अनुकरणीय छ ।

उहाँको दरबारमा गाई, किसान, सारा संसारको आर्थिक, राजनीतिक, आध्यात्मिक, सामाजिक समस्याको समाधान थियो । त्यो जनकको धर्ती आज विभिन्न समस्या र दरिद्रताबाट गुज्रिरहेको छ । त्यो धर्ती निकै ऊर्जाले भरिएको छ । त्यो लिगेसीलाई अनुकरण गर्ने मेरो लक्ष्य हो । जनक, मिथिला र देशलाई उजागर गर्नु भनेको आफ्नो जीवनलाई पनि उजागर गर्नु हो भनेर लागिरहेको छु । जनकालीन सभ्याता झल्काउने उद्देश्उसहित जनकधामको जन्म भएको हो ।

त्यहाँबाट आध्यात्मिक, कृषि, आर्थिक, रोजगारीका क्षेत्रमा क्रान्ति गर्ने हाम्रो परिकल्पना छ । सङ्युक्त राष्ट्रसङ्घले अघि सारेका १७ वटा दीगो विकास लक्ष्यलाई जनकधामको परिकल्पनाले समेटेको छ । यसबाट सिंगो संसारलाई उज्यालो गर्न नसकिए पनि एउटा टुकी बालेर देखाउने हाम्रो सपना छ ।

अनि स्वास्थ्य र जनकधामको सम्बन्धचाहिँ कसरी जोडिएको छ ?

आज हामी जति पनि खाद्यवस्तु खाइरहेका छौँ, म दावाका साथ भन्छु सत्प्रतिशत अखाद्यवस्तु खानुपर्ने अवस्था छ । पानी, चामल, तरकारी, दुध, माछामासु होस् या अरु नै, त्यो अखाद्य छ । गर्भदेखि नै त्यो अवस्थाको निर्माण भएको छ । आमाले अखाद्यवस्तु खाँदा बच्चाको विकास त्यसरी नै हुने हो । पछिल्लो समय त त्यही खानपिनका कारण निसन्तान समस्या (बाँझोपन) देखिएको छ ।

आइभिएफ सेन्टर त्यसका प्रमाण हुन् । धर्ती त्यस्तै अशुद्ध छ । माटो, पानी विषाक्त हुँदैछ । हामीले फेर्ने स्वास पनि शुद्ध रहेन । अब कुनै विज्ञानले त्यसलाई शुद्ध गर्न सक्दैन । त्यो शक्ति छ भने प्रकृतिमै छ । देशी इन्डिजिनस जुरो भएको पूर्वीय गाईआधारित संस्कृतिमा मात्रै छ । यदि त्यसलाई संरक्षण ग¥यो भने पञ्चगव्यले डेड स्वायल (मृत माटो) जीवित हुन थाल्छ । माटो स्वस्थ हुनु भनेको अरु सबै स्वच्छ हुनु हो । जनकधाममा बसेर विगत चार वर्षमा हामीले त्यो चमत्कार हेरिसकेका छौँ ।

अहिले हामी गड्यौला मलको कुरा गरिरहेका छौँ नि ! फेरि पाश्चात्य गड्यौला ल्याएर गल्ती गरिरहेका छौँ । यसरी ल्याइएको गड्यौलाले गोबर खान्छ तर हाम्रो धर्तीमा भएको गड्यौलाले माटो खान्छ । माटो खाएर त्यसलाई सोना बनाएर निकाल्छ । हाम्रो माटोमा जति पनि जीव जीवाश्मा, माइक्रो अर्गानिजम् थियो, तिनलाई युरिया, डिएपी, पेस्टिसाइज र किटनाशक हालेर मारिदियौँ । जो बाँचेको छ त्यो १०, १५ फिट तल गएर बाँचिरहेको छ ।

हाम्रो जनकधाममा दुई महिनामा मोटामा अर्थवर्न गड्यौला आएको छ । देशी गाईको गोबरको कमाल हो यो । भन्नुको अर्थ हामीले अप्राकृतिक जीवनपद्धतिलाई निरुत्साहित गर्दै मान्छेलाई प्रकृतिको गोदमा लिन चाहेका छौँ । खानपिनदेखि आचरण गौआधारित पद्धतिमा समाहित गर्न खोजेका छौँ । यसले माटो, त्यसबाट हुने उब्जनी र त्यसको खानपिनले मान्छेलाई माथि उल्लेखित अखाद्यको चक्रबाट बाहिर निकाल्छ । त्यो भनेको स्वास्थ जीवनका आधार निर्माण गर्नु हो ।

अनि आध्यात्मको सम्बन्ध ?

जहाँ जीवन छ, त्यहाँ आध्यात्म हुन्छ । जीवात्मा हुन्छ । मलाई त यो बोध एसएलसीकै बेलादेखि भएको हो । परिवार र समाजका कारणले उच्च शिक्षा पढेँ, राम्रै भयो । साथसाथै २५ वर्षदेखि आध्यात्म र योग साधना गरेँ । सिए गरेपछिको २० वर्ष पैसा कमाउने ग्राफको निकै माथि नै थिए ।

तीन हजार सिएमा १५/२० जनाकै होडमा थिए । त्यहीबीचमा जब कोरोना महामारी आयो, लकडाउन भयो । त्यसपछि थप बोध भयो कि अब धेरै कमाउनेतिर जानुभएन, बरु समाजकल्याण र आफ्नो आत्मिक कल्याणको काममा लाग्नुपर्छ । त्यसै सोचले अगाडि बढेको छु ।

त्यो अगाडि बढ्ने बाटो भनेको गौमाता, गौशाला…!

जनकको दरबारमा एक लाख जातका १० लाख गाई थिए भनेर हामी पढ्छौँ । अहिले नेपालमा करिब नौवटा जातका गाई छन् । त्यसमा पनि धेरै संकटोन्मुख छन्, तर सबैभन्दा बढी संकटमा नौमुठे अछामी गाई छ । नेपालमा चौरीबाहेक सबैजसो गाई सानो सानो छन्, एक दुई लिटर दुध दिने त्यसको शक्ति बेग्लै छ ।

धर्ती र हाम्रो जीवनलाई नै बदल्ने शक्ति । विडम्बना पछिल्लो समय स्वेत क्रान्तिको नाममा हाम्रा रैथाले गाईको अस्थित्व संकटमा छ । हरित क्रान्तिको नाममा हामीले धेरैजसो रैथाने बाली मारिदियौँ । जुनसुकै नामको होस् क्रान्तीको नाममा शान्ति आउनेवाला छैन ।

पछिल्लो समय विदेशी जर्सी गाईको उत्पत्ति र विस्तार भएको छ । जुरो भएको हाम्रो गाई त पन्ध्रौँ हजार वर्षदेखि छ किनकि नन्दी (गोरु) भगवान शिवकै बाहन थियो । सात आठ हजार वर्षअघिको जनक सभ्यतादेखि नै हाम्रा गाईहरू थिए । धर्ती, मानव सभ्यातासँगै गाईको उत्पत्ति भएको छ ।

तराईमा सेतो उच्च कदको गाई अहिले पनि छन् । त्यो पनि नगन्य अवस्थामा छन् । हामीले सुरु गर्दा पहिले तराई, त्यसपछि पहाड, भारतबाट गीर र पञ्जाबबाट साहीबाल गरी चारवटा नश्लको गाई सङ्कलन गरेका छौँ । पहिलो गाई हरियौनबाट ल्याएर यात्रा प्रारम्भ  गर्‍याैँ, हाल ११० वटा छन् । त्यहाँ भएका गाईबाटै कुनै नश्ल नबिग्रिने गरी हामीले सङ्ख्या बढाउँदै लगेका छौँ । भोलिका दिनमा त्यसैलाई देशभर फैलाउँछौँ ।

अनि त्यहाँ उपचारका लागि आएका बिरामी पनि देखिन्छन्, खास यो होचाहिँ के ?

यो गौशाला बिरामीका लागि हस्पिटल, आध्यात्मिक साधना गर्नेका लागि आश्रम, व्यापारीका लागि व्यापार हो । समाजको लागि समाजिक संस्था, सरकारका लागि राजश्व दिने क्षेत्र, कृषि, भेटेरेनरी, कृषि संस्कृतिलगायत नीतिमा सघाउने थलो पनि हो जनकधाम ।

जहाँसम्म बिरामीको सन्दर्भ छ, सनातनकालमा वेद र आयुर्वेद घरघरमा, गाउँगाउँमा थियो । हरेक गाउँमा वैद्य हुन्थे । हरेक घरका लागि व्यक्तिगत वैद्य, पण्डित, पुरोहित हुन्थे । अहिले हरेकका लागि व्यक्तिगत डाक्टर चाहिएको छ । समाज र देशमा ठूला ठूला हस्पिटल चाहिएका छन् । जो डाक्टर पढेको छ उनै महान हुने भाष्य बनेको छ । यसर्थ हाम्रो शिक्षा र स्वास्थ्यको अवधारणा नै गलत छ ।

शिक्षा र स्वास्थ्य व्यापार भइरहेको छ तर यो पूर्णतः सरकारी सेवा हुनुपर्ने थियो । अनि पो नागरिकको स्वास्थ्य कसैका लागि नाफाको विषय हुन्थेन । सरकारले आफ्नो नागरिक स्वस्थ होस् भन्ने नीति लिन्थ्यो । अहिले त फर्मास्युटिकल्स, हस्पिटल धेरै होस् भनेजस्तो भएको छ । वैदिककालमा जस्तो हरेक नागरिक बिरामी भए पनि वा नभए पनि वैद्यको निगरानीमा रहेर शुल्क दिनुपर्थ्यो ।

यदि कुनै व्यक्ति बिरामी भएमा व्यक्तिको हेरचाह गर्ने जिम्मा लिएको डाक्टर वा सरोकारवालाले उल्टै जिम्मेवारी पूरा नगरेको भनेर जरिवाना लिने हुनुपथ्र्यो । अहिले त डाक्टर पढ्नै करोडौँ खर्च हुन्छ, यदि त्यो लगानी असुल नभएमा डाक्टर र उसको परिवारलाई नै डिप्रेसनको अवस्था आउँछ । त्यो अवस्था नआउनका लागि त डाक्टरले के के गर्नुपर्ला, कल्पना गर्नुस् न । हामी जनकधाममा मेडिकली कुनै हस्तक्षप गर्दैनौँ । हामी कुनै स्वास्थ्य उपचार गर्दैनौँ । जसरी वैदिककालमा सबै स्वास्थ्यको औषधि, जडिबुटी, मसला हाम्रो भान्छामा थियो ।

सारमा के हो भने प्राकृतिक व्यक्तिले अप्राकृतिक जीवन बाँच्न थाल्यो भने बिरामी हुने हो । जसरी कसैले रोडमा गाडी चलाउँदा नियम उल्लंघन गरेमा जरिवाना तिर्नुपर्छ । त्यसैगरी कुनै व्यक्तिले प्राकृतिक नियम तोड्छ भने स्वास्थ्य समस्या आउने हो । फेरि पञ्चतत्वले बनेको यो शरिर पृथ्वी, अग्नी, जल, वायु, आकाशको समीपमा गएमा जस्तोसुकै समस्याबाट मुक्ति पाउँछन् ।

आधुनिक चिकित्सा समस्याको समाधान होइन, समाधान हुँदो हो त बिरामी ठीक हुन्थे, न कि हरेक वर्ष अस्पताल बढ्थे । यसर्थ जनकधामसँग जोडिने हरेक व्यक्तिलाई हामी प्राकृति बन्न, प्रकृतिमा फर्कन अभिप्रेरित गर्छौं । प्राकृतिक भोजन र पञ्चगव्यमा आधारित पदार्थ सेवनका लागि सल्लाह दिन्छौँ । हालसम्म अप्रत्याशीत रूपमा प्रतिफल आइरहेको छ । मुटु, किड्नी फेल भएर, क्यान्सर भएर नेपाल र भारतका ठूला अस्पतालले रिजेक्ट गरेका बिरामी यही जीवन बाँच्न जनकधाममा आएपछि रिकभर भएर सामान्य जीवनमा फर्किंदै छन् । मृत्युको मुखबाट बाँचेर फेरि जीवनको आशा देखिरहेका छन् ।

अन्तिममा, तपाई जुन सोचका साथ अगाडि बढिरहनुभएको छ, त्यसमा देशको अवस्थाले कस्तो प्रभाव पार्ला ?

मैले त जनकधामलाई कसरी सोचेको छु भने यसलाई अनुशरण गर्दै देशमा बीसौँ धाम बनुन् । यसको महत्व तलदेखि माथिल्लो तहमा बस्नेहरुले बुझ्यो भने त्यो हुन्छ हुन्छ । हाल राजनीति जति आक्रान्त छ त्यसको मूल कारण हो- हाम्रो चित्त बिग्रनु । जसरी रक्सी खाएपछि नसा लाग्छ नि, हो त्यसरी सात्विक भोजन गर्‍यो भने त्यसको पनि सोहीअनुसार प्रभाव पर्छ ।

रक्सी मासु खाएर, नारा लगाएर विद्रोहमा गएपछि त उसले मान्छे जलाउने नै हो । उसले ध्वंश गर्ने र आगो लगाउने नै हो । यदि उ सात्विक हुन्थ्यो, गाईको दुध खाएर गौशालाको आनन्द लिएर जान्थ्यो भने त्यसो हुँदैनथ्यो होला । त्यसपछि न आफू, न समाज, न त परिवार, बालबच्चालाई मार्थ्यो होला । नकारात्मक कुराको सहारा लिएर हुने कामको परिणाम नकारात्मक नै हुन्छ । नकारात्मक सोचसहित गरेको विद्रोहले संसारमा कही पनि शान्ति कायम भएको छैन । नेपालकै उदाहरण लिऊ, दशवर्षे द्वन्द्वपछि के नेपालमा शान्ति भएको छ? त्यसैले आत्मचिन्तन मूल कुरा हो ।

जनकधामको कल्पना र संकल्प नै हरेक कुराको सुधारका लागि हो । राजनीतिको कुरा गर्दा जब हाम्रा नेताको स्वास्थ्य सुधार हुन्छ नि त्यसपछि देशको स्वास्थ्य सुधार हुन्छ । अहिले हाम्रा हरेक नेता केही न केही कुराबाट बिरामी हुनुहुन्छ । स्वास्थ्य ठीक भएपछि त उसको सोचाइ सही हुन्छ र योगदान पनि सही नै हुन्छ । राजनीतिले हाम्रो र हाम्रो सन्तानको भविष्य निर्धारण गर्छ । त्यसैले जनकधाम राजनीतिबाट अछुतो हुँदैन ।

अब नेताहरूले देशमा जनकधामजस्ता परियोजना फलुन् फुलुन् भनेर सोच्नुपर्‍यो । जसले नेतासहित सबैको चित्तवृत्ति गर्छ । सात्विक कुराहरूको पक्षपोषण गर्छ, बस् यत्ति हो । हामी राज्यसँग कुनै अपेक्षा नगरी, दानउपदान नलिएर जनकधाम चलाइरहेका छौँ । प्रत्यक्ष रूपमा न हाम्रो स्वार्थ छ, न राजनीतिक प्रभाव । केवल उपयुक्त वातावरण बनाउन सबैको सहयोग चाहिन्छ । अब कुरा गरेर होइन, काम गर्नुपर्‍यो । काम पनि सही हुनुपर्‍यो । त्यो जनकधामबाट प्रमाणित गरेर देशका हरेक मान्छेलाई देखाउँने छौँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्