images
images
images

भक्तपुर–ताथली–नालागढी साइक्लिङ सम्पन्न

images

पूर्वाधार वाच, भक्तपुर ।

नगरकोट भ्रमण वर्ष–२०८२ को अवसरमा शनिबार आयोजित २५ किलोमिटर साइक्लिङ एवं हाइकिङ यात्रा सम्पन्न भएको छ । चाँगुनारायण नगरपालिका–९ स्थित ब्रम्हायणी मन्दिरमा चाँगुनारायण नगरपालिका प्रमुख जीवन खत्रीले आज बिहान साइकल यात्राको उद्घाटन गरेका थिए ।

उक्त साइकल यात्रा साँझ ताथलीको फैढोकामा आइपुगेको हो । साइक्लिङमा २७६ जना सहभागी थिए । नगर प्रमुख खत्रीले नगरपालिका क्षेत्रका सम्पदालाई विश्वस्तरमा पुर्‍याउन नगरकोट भ्रमण वर्ष २०८२ घोषणा गरिएको बताउँदै युवा पुस्ता सक्रिय भएर लागे पर्यटनको विकास मात्रै नभई समग्र आर्थिक एवं भौतिक विकासमा टेवा पुग्ने बताए ।

कार्यक्रममा चाँगुनारायण नगरपालिका–९ का वडाध्यक्ष गणेश त्यातले ताथलीमा विश्वकै दुर्लभ चट्टान अभिलेख भएको बताए । नगरकोट भ्रमण वर्ष २०८२ का विज्ञ डा घनश्याम खतिवडाले ऐतिहासिक क्षेत्र पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।

साइक्लिङमा सहभागी विश्व साइकल यात्री पुष्कर शाहले ताथलीका विभिन्न स्थानमा साइक्लिङ गर्न पाउँदा बेग्लै अनुभव गर्न पाएको प्रतिक्रिया दिए । कार्यक्रममा कलाकार सम्राट सापकोटा, ब्रेभ राइडर कमला पुन, फरक क्षमताका साइक्लिष्ट पुरूषोत्तम साहुखललगायतलाई जनप्रतिनिधिले प्रमाणपत्र एवं मायाको चिनो वितरण गरेका थिए।

त्यसैगरी सञ्चारकर्मी हरिसुन्दर छुकाङद्वारा सम्पादित ‘हाम्रो ताथली’ पत्रिका विमोचन गरिएको थियो । कार्यक्रममा आयोजक समूहका अध्यक्ष सुरेशराज गिरीले ओझेलमा परेको पर्यटकीय क्षेत्रका बारेमा साइकल यात्रीहरूलाई जानकारी दिँदै यसको विश्वव्यापी प्रचार गर्न साइक्लिङ तथा हाइकिङ कार्यक्रम गरिएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्