images
images
images

बेनीको खेलमैदानलाई फराकिलो पारेर ‘प्यारापिट’ निर्माण

images

पूर्वाधार वाच, म्याग्दी ।

जिल्ला सदरमुकाम बेनीस्थित खेलमैदानलाई फराकिलो पारेर ‘प्यारापिट’ बनाउन थालिएको छ। खेलमैदानको दायाँतर्फ रहेको कालीगण्डकी नदीको किनारबाट पर्खाल उठाएर फराकिलो पारिएको खेलमैदानको सतहभन्दा माथि दर्शक बसेर खेल अवलोकन गर्ने प्यारापिट बनाउन लागिएको हो ।

चार तहको २० मिटर लामो प्यारापिट बनाउन रु। १९ लाख ९३ हजारमा ठेक्का सम्झौता गरेको कस्तुरी कन्स्ट्रक्सनले ढलानको काम थालेको बेनी नगरपालिका–७ का वडाध्यक्ष रमेश श्रेष्ठले बताए। कालीगण्डकी नदीतर्फ खेलमैदान विस्तार गर्न यसअघि उठाइएको पिल्लरमाथि प्यारापिट बनाउन चालू आवमा नगरपालिकाले २५ लाख र संघीय सरकारले २० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो।

संघीय सरकारको योजनामार्फत थप करिब १५ मिटर प्यारापिट बनाउन उपभोक्ता समितिले सम्झौता गरेका छन्। चालू आर्थिक वर्षमा दुईवटा शीर्षकका आयोजनामार्फत करिब ३५ मिटर प्यारापिट तयार पार्ने लक्ष्यका साथ काम भइरहेको छ।

‘यसअघि ९७ मिटर भएको बेनी खुला मञ्चको खेलमैदानको लम्बाइ विस्तार गरेर १०० मिटर बनाएका छौँ,’ वडाध्यक्ष श्रेष्ठले भने, ‘३८ मिटर चौडाइ भएको खेलमैदानलाई ४५ मिटर चाक्लो बनाउन म्याग्दी नदीको किनारमा पर्खाल उठाएर प्यारापिट बनाइसकिएको छ।’

एघाररएघार जना फुटबल खेलाउन मिल्ने बनाउन गत वर्ष बेनी भगवती मन्दिरको पर्खाललाई तीन मिटर पछि सारेर खैलमैदानको लम्बाइ १०० मिटर बनाइएको थियो । खेलमैदानको क्षेत्रफल विस्तार गर्न बेनी नगरपालिकाले गत आर्थिक वर्षमा रु। ५० लाख विनियोजन गरेको थियो।

सो बजेटबाट खेलमैदानमुनि कालीगण्डकी र म्याग्दी नदीको दोभानमा दुईकोठे मलामी घर र मन्दिरपरिसरको पर्खाल सारिएको वडाध्यक्ष श्रेष्ठले बताए। मलामी घरको माथिल्लो भागमा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीमार्फत ११ वटा सार्वजनिक शौचालय निर्माण गरेको छ।

हाल फुटबल खेल्दा खेलाडीले फालेको बल खोलामा पुगेर हैरान हुन्छ। विसं २०५१ मा तत्कालीन सांसद निल पुनले सांसद विकास कोषबाट एक लाख रुपैयाँ बजेट विनियोजन गरेर खुला मञ्चलाई व्यवस्थित बनाउन सुरु गरिएको थियो। आर्थिक वर्ष ०७७/७८ र आव ०७८/७९ मा बजेटविहीन हुँदा अलपत्र बनेको बेनी खेलमैदान योजनालाई पूर्णता दिन यसअघिका दुई आर्थिक वर्षमा बेनी नगरपालिकाले ५०/५० लाख रुपैयाँ बजेट व्यवस्थापन गरेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्