images
images
images

शहरी विकासको भवनबाट भौतिक पूर्वाधार मन्त्रालय सञ्चालन गर्ने तयारी

images

पूर्वाधार वाच, बागमती ।

बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय हेटौँडास्थित शहरी विकास तथा भवन कार्यालयको नवनिर्मित भवनबाट सञ्चालन गर्ने तयारी गरिएको छ ।

जेनजी प्रदर्शनका क्रममा मन्त्रालयको भवनसहित आगजनीले क्षति पुर्‍याएपछि सो भवनबाट सञ्चालन गर्ने तयारी थालिएको हो । “आगजनीबाट मन्त्रालयको केही कोठा बाहेक अधिकांश भाग जलेर ध्वस्त छ, त्यसैले मन्त्रालय सञ्चालनका लागि तत्काल शहरी विकासको नयाँ भवन उपयोग गर्ने तयारीमा छौँ”, मन्त्रालयका सूचना अधिकारी बासुदेव दाहालले भन्नुभयो, “सोहीअनुसार कार्यालय व्यवस्थापनका लागि मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहठ्ठाको नेतृत्वमा टोली परिचालन गरिएको छ, एक/दुई दिनमै कार्यालय व्यवस्थापन गरी सेवाप्रवाह गर्छौँ ।”

आन्दोलनकारीले नवनिर्मित सो भवनमासमेत तोडफोड गरेकाले मर्मत गरी कार्यालय व्यवस्थापन गरिने जनाइएको छ । आगजनीबाट जोगिएका मन्त्रालयको केही फर्निचर तथा कागजात सार्ने र नयाँ समान ल्याएर कर्मचारीका लागि आवश्यक कक्ष व्यवस्थापन गरिरहेको मन्त्रालयले जनाएको छ ।

हेटौंडा उपमहानगरपालिका–१ चौकीटोल ओरालोस्थित एउटै भवनमा सञ्चालन भइरहेको बागमती प्रदेश सरकारको भौतिक मन्त्रालयसहित चार वटा मन्त्रालय प्रदर्शनका क्रममा जलेको थियो ।

आगजनीबाट प्रदेश सरकारको भौतिक पुर्वाधार मन्त्रालय तथा अन्तर्गतका कार्यालयमा साढे पाँच करोड मूल्य बराबरको क्षति भएको अनुमान गरिएको छ । उहाँका अनुसार प्रदर्शनकारीले मन्त्रालय अन्तर्गतको पूर्वाधार कार्यालय चितवन, शहरी विकास तथा भवन कार्यालय हेटौँडा, पूर्वाधार विकास कार्यालय ललितपुर र प्रदेश राजधानी पूर्वाधार विकास विशेष आयोजना कार्यालय हेटौँडामा पनि क्षति पुर्‍याएका छन् ।

त्यस क्रममा मन्त्रालयका पाँच वटा चार पाङ्ग्र्रे सवारी तथा ३५ वटा मोटरसाइकल गरी ४० वटा सवारी साधन जलाइएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्