गण्डकी । होटल संघ पोखराले पर्यटन क्षेत्रलाई उद्योग सरहको मान्यता दिन माग गर्दै सरकारको ध्यानाकर्षण गराएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हालाई शनिबार पोखरामा स्वागतसहित पाँच बुँदे ध्यानाकर्षण पत्र बुझाइएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताए ।
चालु बजेटमा पर्यटन क्षेत्रलाई उद्योग सरहको मान्यता प्रदान गरी सोहीअनुसारको सुविधा प्रदान गर्ने विषय उल्लेख गरिए पनि त्यो कार्यान्वयन हुन नसकेको ध्यानाकर्षण पत्रमार्फत स्मरण गराइएको उनले जानकारी दिए।
ध्यानाकर्षण पत्रमा हालसम्म आन्तरिक उडानमा मात्रै सीमित रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत र चीनका विभिन्न सहरमा उडान सञ्चालन गराउन आवश्यक पहल अगाडि बढाउन, छिमेकी देशका सीमावर्ती सहर र आन्तरिक पर्यटकलाई लक्षित गर्दै प्रादेशिक सहरबिच आन्तरिक हवाई सञ्जाल विस्तार गर्न माग गरिएको छ ।
यसैगरी विसं २०७२ भन्दा पहिले निर्माण भएका साना तथा मझौला होटल उद्योगहरूले गर्नुपर्ने वातावरणीय अध्ययन व्यवहारिक नभएको भन्दै यसलाई खारेज गर्न माग गरिएको छ । जेनजी आन्दोलनबाट प्रत्यक्ष प्रभावित होटल प्रतिष्ठानलाई पुनरुत्थानका लागि उचित राहतको व्यवस्था गर्न र पोखरासँग जोडिएका मुख्य राजमार्गको स्तरोन्नति कार्यलाई तोकिएको समयसम्म पूरा गर्न सम्बन्धित निकायलाई दबाब दिनुपर्ने आवश्यकतासमेत संघले स्मरण गराएको छ ।
ध्यानाकर्षणपत्र बुझ्दै मन्त्री सिन्हाले पर्यटन क्षेत्रलाई उद्योग सरहको सहुलियत दिने विषयमा छलफल अगाडि बढेको र छिट्टै कार्यान्वयन हुने आश्वासन दिनुभयो । पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्ने विषयमा पनि सरकार लागि परेको उनले बताए ।
गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले विमानस्थलको विषयमा धेरै पटक संघीय सरकारको ध्यानाकर्षण गराइएको स्मरण गराउँदै अब पूर्ण सञ्चालनमा ढिलाइ गर्न नहुने बताए ।
त्यस अवसरमा नेपाल पर्यटन बोर्डका पूर्वसदस्य एवम् संघका सल्लाहकार विश्वशङ्कर पालिखे, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय प्रमुख मणिराज लामिछाने, पोखरा पर्यटन परिषद्का प्रथम उपाध्यक्ष हरि भुजेललगायतले पर्यटन क्षेत्रको विकासका लागि गरिनुपर्ने विभिन्न विषयबारे सुझाव प्रस्तुत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्