images
images
images

बयान फेर्ने सरकारी साक्षीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

images

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जन मुद्दाका सरकारी साक्षीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दामा सरकारी साक्षीको रूपमा पेस भएका व्यक्तिविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

विशेष अदालतमा चलिरहेको रामबाबु महतो भन्ने रामबाबु महतो कोइरीविरुद्धको गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा सरकारी साक्षी रहेका महोत्तरीको बर्दिवास नगरपालिका–६ का जीवराज पोखरेलले अदालतमा दिएको बयान पहिले आयोगमा दिएको बयानभन्दा फरक परेको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

आयोगका अनुसार जीवराज पोखरेलले आफ्नी श्रीमतीको नाममा रहेको धनुषाको हरिहरपुरस्थित जग्गा रामबाबु महतोकी श्रीमतीको नाममा बिक्री गर्दा वास्तविक मूल्य लुकाएर कम रकम देखाइएको पुष्टि भएको छ । रजिष्ट्रेसनमा २५ लाख रुपियाँ देखाइए पनि वास्तविक कारोबार ५२ लाख २३ हजार रुपियाँ भएको प्रमाण फेला परेको न्यौपानेको भनाइ छ।

अनुसन्धानका क्रममा उक्त सम्पूर्ण रकम जीवराज पोखरेलको बैँक खातामा जम्मा भएको देखिएपछि उहाँलाई सुरुमा सहयोगी साक्षीका रूपमा राखिएको थियो। तर अदालतमा बयान फेरेर सत्य कुरा नबोलेको पुष्टि भएपछि अख्तियारले पुनः अनुसन्धान गरी उनविरुद्ध मुद्दा दायर गरेको हो।

आयोगका अनुसार रजिष्ट्रेसनमा नदेखाइएको २७ लाख २३ हजार रुपियाँ लुकाइछिपाई रामबाबु महतोले गैरकानुनी सम्पत्ति आर्जन गर्न सहयोग गरेको ठहर भएको छ।

आयोगले जीवराज पोखरेललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुरजन्य कार्यको मतियार भएर सोही ऐनको दफा २२ बमोजिमको कसुर गरेको हुँदा बिगो २७ लाख २३ हजार कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २२ बमोजिम जरिवान र कैदको सजाय मागदाबी गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्