दमौली । यहाँको व्यास नगरपालिका–३ बिपी वनवाटिकास्थित कभर्डहल खेलकुद विकास समिति तनहुँमार्फत सञ्चालन गरिने भएको छ । व्यास नगरपालिकाको लगानीमा निर्माण भएको कभर्डहल खेलकुद विकास समितिलाई हस्तान्तरण गर्न लागिएको हो ।
नगरपालिकाको हालै सम्पन्न कार्यपालिका बैठकले जिल्ला समन्वय समितिसँग समन्वय गरी खेलकुद विकास समितिमार्फत सञ्चालन व्यवस्थापन मिलाउने निर्णय गरेको नगर प्रवक्ता सुरेश थापाले जानकारी दिए ।
हाल कभर्डहलमा व्याडमिन्टन प्रतियोगिता सञ्चालन हुँदै आएको छ । व्यास नगर व्याडमिन्टन क्लबले रु ९६ लाख ६३ हजार ७४७ को लागतमा कभर्डहल निर्माण गरेको हो ।
पछिल्लो समय व्याडमिन्टनतर्फ खेलाडीको आकर्षण बढ्दै गएकाले कभर्डहल निर्माण गरी यहाँ व्याडमिन्टनका खेल सञ्चालन गरिएको क्लबका अध्यक्ष जीवन गुरुङले जानकारी दिए।
उनका अनुसार कभर्डहल निर्माणका लागि व्यास नगरपालिकाले रु ८७ लाख ८५ हजार २३४ सहयोग गरेको छभने लागत नगद सहभागिता रु सात लाख रहेको छ । त्यस्तै रु एक लाख ७८ हजार ५२२ श्रमदान गरी कुल रु ९६ लाख ६३ हजार ७४७ को लागतमा कभर्डहल निर्माण भएको हो ।
जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको उक्त कभर्डहलको जग्गा व्यास नगरपालिकालाई हस्तान्तरण गरिएको थियो । कभर्डहल निर्माणका लागि आर्थिक वर्ष २०७७/७८ मा नगरपालिकाले रु ३२ लाख ८४ हजार २९३, आव २०७८/७९ मा रु ३१ लाख २५ हजार ९३१, आव २०८०/८१ मा रु १४ लाख २५ हजार र चालु आवमा रु नौ लाख ५० हजार सहयोग गरेको थियो ।
तनहुँमा निर्वाचन प्रहरीका लागि पुनः दरखास्त माग
जिल्ला प्रहरी कार्यालयले निर्वाचन प्रहरीका लागि जनशक्ति अभाव भएको जनाउँदै पुनः दरखास्त आह्वान गरेको छ । निर्वाचन प्रहरीका लागि एक हजार पाँच सय ७३ जनाको निवेदन माग गरिएकामा तनहुँमा एक हजार ४३३ जनाको निवेदन परेको थियो ।
कार्यालयले शारीरिक तन्दुरुस्ती र स्वास्थ्य जाँचपश्चात् एक हजार २३६ जना उत्तीर्ण गरी लिखित परीक्षा सञ्चालन गरेकामा एक हजार २१६ जना उत्तीर्ण भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।
कार्यालयले सूचना जारी गरी निर्वाचन प्रहरीको थप दरखास्त माग गरेको छ । कार्यालयले यसअघि पुस २५ गतेदेखि माघ ३ गतेसम्म दरखास्त लिएकामा पुनः माघ १० र ११ गते दुई दिन निवेदन दिनसक्ने व्यवस्था गरिएको छ ।
प्रनाउ विकका अनुसार जिल्ला प्रहरी कार्यालय दमौली, इलाका प्रहरी कार्यालय आँबुखैरेनी, इलाका प्रहरी कार्यालय बेलचौतारा, इलाका प्रहरी कार्यालय भानु र इलाका प्रहरी कार्यालय बन्दीपुरमा निवेदन दिन सकिनेछ ।
पुनः आवेदन माग गरिएकामा शनिबार एक सय ९२ जनाले आवेदन दिएका छन् । त्यसमध्ये ६७ जना महिला र एक सय २५ जना पुरुष छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्