images
images
images

पहाडी र तराई क्षेत्रमा पानी सुरक्षा चुनौती समाधानबारे राष्ट्रिय कार्यशाला सम्पन्न

images

पहाडी र तराई क्षेत्रमा देखिँदै आएका पानी सुरक्षा चुनौतीहरू समाधानका लागि केन्द्रित अर्धदिवसीय कार्यशाला आज काठमाडौँमा सम्पन्न भएको छ । वेल्टहङ्गरहिल्फे (WHH) नेपालले राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता विकास केन्द्र (NWSSRICDC) सँगको सहकार्यमा आयोजना गरेको उक्त कार्यक्रम सम्पन्न भएको हो ।

पानी सुरक्षामा देखिएका गम्भीर चुनौतीबारे छलफल

कार्यशालामा नेपालमा आधारभूत खानेपानी सेवामा पहुँच बढे पनि सुरक्षित रूपमा व्यवस्थापन गरिएको खानेपानी प्रयोग गर्ने जनसंख्या अझै न्यून रहेको अवस्थाबारे चर्चा गरिएको थियो । पहाडी क्षेत्रमा पानीका मुहान सुक्दै जानु तथा तराई क्षेत्रमा भू–गर्भीय पानीको अत्यधिक दोहन र प्रदूषण प्रमुख चुनौतीका रूपमा औंल्याइयो । जलवायु परिवर्तन, भू–उपयोग परिवर्तन, वन विनाश र अनियन्त्रित पानी उपयोगले समस्या थप जटिल बन्दै गएको सहभागीहरूको निष्कर्ष रहेको थियो ।

अनुसन्धान निष्कर्ष प्रस्तुत

कार्यक्रममा बागमती प्रदेशको मकवानपुर र मधेश प्रदेशको सिराहामा गरिएको भू–गर्भीय पानी तथा मुहान (स्प्रिङ सोर्स) सम्बन्धी अध्ययनका प्रमुख निष्कर्षहरू प्रस्तुत गरियो । तराई क्षेत्रको भू–गर्भीय पानी मूल्याङ्कन सम्बन्धी प्रस्तुति WHH का परामर्शदाता प्रताप सिंह टाटेर र शाहिद मुस्लिमले गरेका थिए भने पहाडी क्षेत्रमा गरिएको मुहान स्रोत अध्ययनको प्रस्तुति नवराज खड्किवाडाले प्रस्तुत गरेका थिए ।

नीतिगत सुधार र समन्वयमा जोड

छलफलमा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरूको कमजोर शासन व्यवस्था, सीमित प्राविधिक क्षमता, अपर्याप्त वित्तीय स्रोत तथा जलवायुजन्य विपद्का कारण सेवा प्रवाह प्रभावित भइरहेको विषय उठान गरिएको थियो । सहभागीहरूले स्थानीय, प्रदेश र संघीय तहबीच समन्वय सुदृढ गर्दै प्रमाणमा आधारित योजना र नीति निर्माण आवश्यक रहेकोमा जोड दिएका थिए ।

प्यानल छलफल र सरोकारवालाको सहभागिता

कार्यशालाको दोस्रो सत्रमा प्यानल छलफल आयोजना गरिएको थियो । खानेपानी मन्त्रालयका वरिष्ठ डिभिजन इन्जिनियर योगेन्द्र चित्रकारले संयोजन गरेको प्यानल छलफलको अध्यक्षता NWSSRICDC का कार्यकारी निर्देशक इ. रामकुमार श्रेष्ठले गर्नुभएको थियो । प्यानलमा खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दुवाडी, युनिसेफकी अरनिता मास्के श्रेष्ठ, वास क्षेत्र विज्ञ डा. महेश भट्टराई तथा भू–गर्भीय पानी विज्ञ डा. लक्ष्मण शर्माले धारणा राख्नुभएको थियो ।

५० भन्दा बढी सरोकारवालाको उपस्थिति

कार्यक्रममा सरकारी निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, दाता निकाय, निजी क्षेत्र, शैक्षिक क्षेत्र, सञ्जाल संस्था र सञ्चारमाध्यमका प्रतिनिधिसहित करिब ५० जनाको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन NWSSRICDC का मुकुन्द अगास्तीले गर्नुभएको थियो ।

दीर्घकालीन पानी सुरक्षाका लागि साझा प्रतिबद्धता

कार्यशालाको निष्कर्षमा पानी स्रोत संरक्षण, जलवायु अनुकूल पूर्वाधार, स्थानीय शासन सुदृढीकरण र अनुसन्धान तथा क्षमता विकासमा लगानी बढाउनुपर्नेमा साझा सहमति जनाइएको छ । सहभागीहरूले यस्ता संवाद र अनुसन्धानले नेपालमा दीगो वास प्रणाली र दीर्घकालीन पानी सुरक्षा सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्