काठमाडौं । अटो व्यवसाय क्षेत्रमा चर्चित दुई कम्पनीबीचको आर्थिक विवाद अब औपचारिक रूपमा अदालतको दायरामा प्रवेश गरेको छ।
जगदम्बा मोटर्स प्रा.लि. र बतास ब्रदर्श प्रा.लि.बीचको लेनदेन विवाद चर्किंदै जाँदा काठमाडौं जिल्ला अदालतले प्रतिवादी पक्षलाई २१ दिनभित्र उपस्थित हुन कडा निर्देशन दिएको छ।
पोखरा महानगरपालिका–९ मा मुख्य कार्यालय रहेको बतास ब्रदर्श प्रा.लि. (जसमा व्यवसायी आनन्दराज बतास र उनका दाजुभाइहरूको संलग्नता छ) विरुद्ध जगदम्बा मोटर्सले २०८१ फागुन २८ गते लेनदेनसम्बन्धी मुद्दा दायर गरेको थियो।
प्रारम्भिक म्याद तामेल हुन नसकेपछि अदालतले पुनः सार्वजनिक सूचना जारी गर्दै इलायतनामा मार्फत २१ दिने अन्तिम मौका दिएको हो।
अदालतले स्पष्ट रूपमा भनेको छ, ‘सूचना प्रकाशित भएको मितिले बाटोको म्यादसमेत जोडेर २१ दिनभित्र अदालतमा उपस्थित भई लिखित प्रतिवाद पेश नगरे कानुन बमोजिम मुद्दा एकतर्फी रूपमा अघि बढाइनेछ।’ त्यसपछि कुनै पनि उजुरी वा दाबी सुन्ने आधार नहुने चेतावनी समेत दिइएको छ।
यससँगै अदालतले बतास ब्रदर्श प्रा।लिका साथै आनन्दराज बतास, शान्तराज बतास र विपेन्द्रराज बतासलाई व्यक्तिगत रूपमा समेत अदालतमा उपस्थित हुन आदेश दिएको छ।
व्यवसायिक साझेदारीबाट सुरु भएको सम्बन्ध अब कानुनी टकरावमा परिणत भएको यो प्रकरणले अटो बजारमा नयाँ तरंग सिर्जना गरेको छ। अब प्रतिवादी पक्ष अदालतमा उपस्थित हुन्छ कि हुँदैन, त्यसले आगामी कानुनी प्रक्रियाको दिशा तय गर्नेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्