images
images
images

चिनियाँ राजदूतद्वारा तातोपानी नाका निरीक्षण

images

सिन्धुपाल्चोक । नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले आइतबार तातोपानी नाका, इको पहिरो क्षेत्र तथा सडकलगायत संरचनाको स्थलगत निरीक्षण गर्नुभएको छ ।

प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीका अनुसार चिनियाँ राजदूत झाङ तिब्बती क्षेत्र खासाबाट तातोपानी नाका प्रवेश गरी इको पहिरो क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको हो । इको पहिरोका कारण सो क्षेत्र ६ दिनदेखि अवरुद्ध रहेको छ ।

छ सदस्यीय राजदूत टोलीले इको पहिरो, सडक तथा नाका क्षेत्रको अवलोकन गरी आवश्यक जानकारी संकलन गरेर फर्किएको थियो । राजदूतले करिब आधा घण्टासम्म नाका, पहिरो क्षेत्र र सडकको अवलोकन गर्नुभएको हो ।

चिनियाँ राजदूतले इको पहिरो, सडक तथा नाकाका विषयमा कुनै प्रतिक्रिया नदिएको प्रमुख जिल्ला अधिकारी अधिकारीले बताउनुभयो । निरीक्षणपछि टोली पुनः खासा फर्किएको थियो ।

करिब पाँच वर्षअघि देखिएको इको पहिरोका कारण दुई देशबीचको व्यापारिक गतिविधि महिनौँसम्म प्रभावित हुँदै आएको छ । सोही समस्याको अवस्थाबारे जानकारी लिन राजदूतको टोली स्थलगत निरीक्षणमा आएको प्रजिअ अधिकारीले बताउनुभयो । तर पहिरो नियन्त्रण कहिलेदेखि सुरु हुने भन्नेबारे कुनै स्पष्ट जानकारी प्राप्त नभएको उहाँले बताउनुभयो ।

खासा क्षेत्रबाट मालसामान बोकेर आएका कन्टेनर तातोपानी नाका हुँदै नेपाल प्रवेश गरे पनि इको पहिरोका कारण तातोपानी भन्सारमा जाँचपासका लागि आउन रोकिएको छ । यसले राज्यलाई नोक्सान भइरहेको छ ।

यसअघि चीनले नै इको पहिरो नियन्त्रण गर्ने विषयमा सहकार्य गर्ने बताउँदै आएको थियो । सडक डिभिजन कार्यालय चरिकोटका अनुसार केही समयभित्रै पहिरो नियन्त्रणको काम सुरु हुने अपेक्षा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्