images
images
images

अझै बनेन पालिका घर, जग्गा जुटाउन चन्दाको भर

images

बागलुङ। स्थानीयतह गठनको नौ वर्ष पग्दासमेत यहाँका केही पालिकाले भाडाकै घरबाट कार्यालय सञ्चालन गरिरहेका छन्।

बागलुङको जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका र गलकोट नगरपालिका आफ्नै भवन तयार नहुँदा भाडाको घरबाट सञ्चालन गर्न बाध्य भएका हुन्।

पाँच वर्ष पहिले सुविधासम्पन्न भवन निर्माण थालेका जैमिनी नगरपालिका र गलकोट नगरपालिकाको भवन निर्माणमा निर्माण व्यवसायीको ढिलासुस्तीका कारण समस्या छ । जिल्लाका अन्य सात स्थानीय तहका भने आफ्नै सुविधासम्पन्न भवन छन्।

निर्माण थालेको पाँच वर्षमा समेत भवन नबन्दा पालिकाको सेवा प्रवाहनै प्रभावित बनेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताए। मासिक लाखौँ रुपैयाँ भाडा तिरेर व्यक्तिको साँघुरो घरबाट सेवा प्रवाह गर्न बाध्यता रहेको उनले बताए।

सदरमुकाम बागलुङ बजारसँग जोडिएको काठेखोला गाउँपालिकाले प्रशासनिक भवन बनाउन नौ वर्षको प्रयासपछि जग्गा प्राप्ती गरेको छ। विभिन्न सङ्घसंस्थाले चन्दा सङ्कलन गरेर पालिकाको प्रशासनिक भवन बनाउन जग्गा खरिद गरिएको हो।

बिहुँकोट समाज जापान, बिहुँकोट विकास मञ्च र जापान समाज बिहुँकोटलगायतका सङ्घ संस्था र स्थानीयवासीसँग चन्दा सङ्कलन गरेर काठेखोला गाउँपालिका–६ बिहुँको आमपाटामा छ रोपनी जग्गा खरिद गरिएको वडा अध्यक्ष तथा जग्गा व्यवस्थापन समितिका संयोजक बृहस्पति शर्मा कँडेलले जानकारी दिए।

प्रतिरोपनी सात लाख रुपैयाँका दरले ४२ लाखमा छ रोपनी जग्गा खरिद गरिएको हो। स्थानीय चार जनाको जग्गा खरिद गरिएको र केही जग्गा स्थानीयले निःशुल्क उपलब्ध गराएको कँडेलको भनाइ छ। ‘चार वर्षको प्रयासपछि सबै प्रक्रिया पु¥याई गाउँपालिकालाई सरकारी प्रयोजनार्थ जग्गाधनी–पुर्जा हस्तान्तरण गरियो,’ संयोजक कँडेलले भने।

लामो समयको अथक प्रयासपछि गाउँपालिकाको प्रशासनिक भवन बनाउन जग्गा प्राप्ति भएको पालिका अध्यक्ष राजु थापाले बताए। जग्गा प्राप्तिमा भूमिका खेल्ने र निःशुल्क जग्गा उपलब्ध गराउने दाताप्रति गाउँपालिकाले आभार व्यक्त गरेको छ। ‘जग्गा प्राप्ति र केन्द्रको विवाद टुङ्गिएको छ, अब छिट्टै प्रदेश र सङ्घीय मन्त्रालयको प्रक्रिया पुर्‍याएर प्रशासकीय भवन बनाउने काममा लाग्छौँ,’ अध्यक्ष थापाले भने।

काठेखोलाको १७ औँ गाउँसभाको तेस्रो बैठकले सर्वसम्मत निर्णय गर्दै गाउँपालिकाको प्रशासनिक भवन आमपाटामा निर्माण गर्ने निर्णय गरेको थियो। राजनीतिक दलबीच असहमति र स्थानीयको असहयोगका कारण लामो समयदेखि पालिकाको केन्द्र काठेखोला–२ को अक्षते कि वडा नं ६ को आमपाटा भन्ने विवाद लामो समय चल्यो।

सर्वदलीय बैठकले अक्षते र सुल्डाँडालाई प्रशासनिक केन्द्र मान्ने र भवन आमपाटामा बनाउने सहमति जुटाएपछि १७ औँ गाउँसभामा सर्वसम्मत निर्णय गरिएको हो। हरेक वर्ष सात लाख रुपैयाँ भन्दा बढी घरभाडा तिर्दै आएको पालिकाले अहिले भीमसेन मविको भवनबाट सेवा दिइरहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्