images
images
images

रामेछापका ‘गेम चेन्जर’ आयोजना बजेटमा नपर्दा झस्किएँ : सांसद बुढाथोकी

images

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. कृष्णहरी बुढाथोकीले आगामी आर्थिक वर्षको बजेटमा रामेछाप जिल्लाका महत्वपूर्ण विकास आयोजना समावेश नभएको भन्दै चिन्ता व्यक्त गरेका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले बजेटमा रामेछापको नाम उल्लेख नभएको विषयमा जिल्लावासीले आफूलाई गुनासो गरेको बताए । उक्त विषयले आफूपनि झस्किएको उल्लेख गर्दै उनले जिल्लाको विकास र समृद्धिका लागि विभिन्न रूपान्तरणकारी (गेम चेन्जर) आयोजना प्रस्ताव गरेको स्मरण गराए ।

उनले रामेछापमा प्रशस्त उत्पादन हुने जुनार, सुन्तला, किबीलगायत फलफूलको व्यावसायिक प्रशोधन तथा उत्पादन वृद्धिका लागि फलफूल प्रशोधन केन्द्र स्थापना, स्थानीय कच्चा पदार्थमा आधारित कागज उद्योग सञ्चालन तथा सुख्खाग्रस्त भूभागमा हात्तीबार खेतीको व्यावसायिक विस्तारमार्फत जुट उद्योगको विकास गर्ने योजना अघि सारेको बताए।

त्यस्तै, पर्यटन प्रवद्र्धनका लागि शैलुङ क्षेत्रबाट ठोसेबाम्बी हुँदै सगरमाथा आरोहण क्षेत्र जोड्ने वृहत् पर्यटन राजमार्ग निर्माणको प्रस्ताव समेत आफूले पेश गरेको उनले जानकारी दिए।

सांसद बुढाथोकीले त्यस्ता आयोजनाले ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना गरी युवा पलायन रोक्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे। समृद्ध रामेछाप निर्माणका लागि यस्ता योजनाको विशेष महत्व रहेको भन्दै मन्त्रालयगत बजेट विनियोजनमार्फत ती आयोजना समेटिने अपेक्षा पनि उनले व्यक्त गरे।

बजेटको समग्र पक्षबारे टिप्पणी गर्दै उनले यस वर्षको बजेटको मुख्य उद्देश्य रोजगारी सिर्जना गर्दै निम्न वर्गलाई मध्यम वर्गमा स्तरोन्नति गर्न सहयोग पु-याउनु रहेको बताए। उनका अनुसार ३६० भन्दा बढी वस्तुमा अन्तःशुल्क हटाउने तथा २७३ प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाउने व्यवस्थाले उत्पादन लागत कम भई निजी क्षेत्र थप प्रतिस्पर्धी बन्ने आधार तयार भएको छ ।

उनले बजेटले निजी क्षेत्रलाई आर्थिक वृद्धिको प्रमुख इन्जिनका रूपमा स्वीकार गर्दै लगानीमैत्री वातावरण निर्माण, स्टार्टअप प्रवद्र्धन तथा उद्यमशीलता विकासलाई प्राथमिकतामा राखेको पनि उल्लेख गरे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्