images
images
images

नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा

images

चितवन । वर्षात् सुरु भएसँगै नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो पन्छाउनका लागि उपकरणसहित जनशक्ति तयारी अवस्थामा राखिएको छ । सडक डिभिजन कार्यालय भरतपुरले आफ्नो कार्यक्षेत्र रहेको मुग्लिन–नारायणगढ सडकखण्ड र कालीगण्डकी करिडोरमा वर्षायाममा हुनसक्ने पहिरोको जोखिमलाई मध्यनजार गर्दै आवश्यक उपकरण तयारी अवस्थामा राखेको हो ।

कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर नारायण लामिछानेका अनुसार वर्षात्को समयमा पहिरो खस्न सक्ने जोखिम रहेका स्थानमा पहिरो गई सडक आवागमन अवरुद्ध हुनसक्ने अवस्थालाई मध्यनजर राख्दै आवश्यक उपकरण राखिएको हो ।

उनका अनुसार मुग्लिन क्याम्पमा एक लोडर, सेती दोभान क्याम्पमा एक एक्स्काभेटर, एक लोडर र एक ब्याकहोलोडर पहिरो पन्छाउनका लागि तयारी अवस्थामा राखिएको छ । यस्तै सडक डिभिजन कार्यालय परिसरमा एक ब्याकहोलोडर तथा कालीगण्डकी करिडोरमा एक लोडर तयारी अवस्थामा राखेको उहाँले जानकारी दिए ।

पहिरोका कारण सडक अवरुद्ध भएमा तत्काल हटाई सवारी आवागमनलाई चुस्त र नियमित सञ्चालन राख्ने उद्देश्यले उपकरण अपरेटरसहित तयारी अवस्थामा राखिएको उनले बताए ।

नारायणगढ–मुग्लिन सडक वर्षात्को समयमा लेदोसहितको पहिरो र हिँउदको समयमा सुक्खा पहिरोका कारण पटकपटक अवरुद्ध हुने गर्दछ । काठमाडौं प्रवेश गर्ने मुख्य नाकाका रूपमा रहेको यस सडकमा दैनिक १० हजारभन्दा बढी सवारी आवतजावत गर्दछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्