काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सन् २०२७ लाई ‘आरोग्य (वेलनेस) वर्ष’का रूपमा मनाउने तयारी, त्यसका लागि भइरहेको काम तथा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र मन्त्रालयलाई दिइएको निर्देशनको कार्यान्वयन अवस्थाबारे छलफल गरेको छ।
बधबार बसेको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले पर्यटन क्षेत्रको दिगो विकासका लागि नागरिक उड्डयन क्षेत्रको सुदृढीकरण अपरिहार्य रहेको बताएका छन्।
उनले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान), नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० तथा नागरिक उड्डयनसँग सम्बन्धित अन्य व्यवसायको विकासबिना पर्यटन क्षेत्रले अपेक्षित उपलब्धि हासिल गर्न नसक्ने बताए।
‘नेपालमा नागरिक उड्डयनसँग सम्बन्धित क्षेत्रको विकासबिना पर्यटनको दिगो विकास सम्भव देखिँदैन। क्यान मात्रै होइन, नेपाल एयरलाइन्स र अन्य हवाई सेवासँग सम्बन्धित संस्थाको विकास पनि उत्तिकै आवश्यक छ,’ मन्त्री पौडेलले भने।
उनले निजी क्षेत्रमाथि मात्र निर्भर भएर पर्यटन क्षेत्रको लक्ष्य हासिल गर्न नसकिने उल्लेख गर्दै पर्यटकको लक्षित संख्या नेपाल भित्र्याउन आवश्यक पूर्वाधार विकासका लागि स्पष्ट नीति र दीर्घकालीन योजना आवश्यक रहेको बताए।
मन्त्री पौडेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउन सरकार सक्रिय रहेको उल्लेख गर्दै विदेशी वायुसेवा कम्पनीलाई आकर्षित गर्न विभिन्न पहल भइरहेको जानकारी दिए। ‘जहाज नेपाल ल्याउनु मात्रै हाम्रो उद्देश्य होइन। जहाज यात्रुले भरिएको हुनुपर्छ। विमानबाट ओर्लेका पर्यटक सिधै घर फर्किने होइन, होटल पुग्ने र नेपालमा बस्ने वातावरण बनाउनुपर्छ,’ उनले भने।
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष राजवंशीले आन्तरिक उडानमा हुने लामो ढिलाइप्रति गम्भीर ध्यानाकर्षण गराए। उनले मौसमका कारण हुने ढिलाइ बाहेक दुई–तीन घण्टासम्म उडान ढिला हुँदा यात्रुलाई स्पष्ट जानकारी नदिइने गुनासो गर्दै यसको कारण सार्वजनिक गर्न र समय व्यवस्थापन सुधार गर्न आग्रह गरे।
‘विराटनगर–काठमाडौं उडानको समय ३५ मिनेट भनिन्छ, तर धेरैजसो उडान ५०–५५ मिनेट वा एक घण्टा लाग्छ। कहिलेकाहीँ विमान २० मिनेटसम्म आकाशमै होल्ड भएर बस्नुपर्छ। यात्रुले सुरक्षित र छिटो यात्रा गर्न हवाई सेवा रोजेका हुन्। यसमा सुधार हुनुपर्छ,’ उनले भने।
सांसद राजवंशीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र अत्यधिक मूल्य असुलिने अवस्थाको अन्त्य गर्न पनि सरकारलाई आग्रह गरे। ‘बाहिर २० रुपैयाँ पर्ने खानेपानी विमानस्थलभित्र ६०–८० रुपैयाँमा बेचिन्छ। यस्तो लुटतन्त्र अन्त्य गर्नुपर्छ। एक महिना, दुई महिना वा १५–२० दिनभित्र के सुधार हुन्छ भन्ने स्पष्ट समयसीमा सरकारले दिनुपर्छ,’ उनले भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्