पूर्वाधार वाच, काठमाडौं ।
बागमती पेट्रोलियम डिलर्स एसोसिएसनको आज (श्रावण १६ गते) हुने अधिवेशनमा अध्यक्ष पदका उम्मेदवार प्रह्लाद तिमिल्सिनाले आफ्नो उम्मेदवारीसँगै व्यवसायीको हक, हित र समृद्धिलाई केन्द्रमा राखेर विभिन्न प्रतिबद्धता सार्वजनिक गरेका छन् ।
“तपाईंको साथ, हाम्रो प्रतिबद्धता” भन्ने नारासहित मैदानमा उत्रिएका तिमिल्सिनाले पेट्रोलियम व्यवसायीको दीर्घकालीन हित संरक्षण, व्यवसायमैत्री वातावरण निर्माण तथा संगठनलाई थप सशक्त बनाउने लक्ष्य अघि सारेका छन् ।
उनले व्यवसायीको वास्तविक लागतअनुसार कमिसन वृद्धि गराउने पहल, वर्षौंदेखि देखिएको वर्किङ लस (Working Loss) सम्बन्धी समस्या समाधान, तथा नीतिगत सुधार र कर प्रणालीलाई सहज बनाउने विषयलाई प्राथमिकतामा राखेका छन् । साथै अव्यवहारिक कर, जीविकामा पर्ने असर तथा जाँच प्रक्रियामा सुधारका लागि निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
त्यसैगरी तिमिल्सिनाले डिलर्सको कानुनी अधिकारको संरक्षण, सुरक्षित र व्यवसायमैत्री वातावरण निर्माण, संगठनमा एकता, पारदर्शिता र उत्तरदायित्व अभिवृद्धि, तथा व्यवसायीबीच सहकार्यलाई थप मजबुत बनाउने एजेन्डा अघि सारेका छन् ।
उनको घोषणापत्रमा व्यावसायिक क्षमता अभिवृद्धिका लागि तालिम, सूचना प्रवाह र नवीन प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने, साथै व्यवसायीका समस्या समाधानका लागि सरकार, नेपाल आयल निगम तथा सरोकारवाला निकायसँग प्रभावकारी समन्वय गर्ने प्रतिबद्धतासमेत समावेश गरिएको छ ।
तिमिल्सिनाले “एकता, विश्वास र विकास” लाई आफ्नो अभियानको मूल आधार बनाउँदै व्यवसायीको विश्वासलाई सम्मान गर्दै जिम्मेवारीपूर्वक नेतृत्व गर्ने बताएका छन् । उनले सम्पूर्ण सदस्य व्यवसायीलाई परिवर्तन र प्रगतिका लागि आफ्नो पक्षमा मतदान गर्न आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्