ताइपेई । शक्तिशाली समुद्री आँधी ‘सुपर टाइफुन चाम्पी’ ताइवानतर्फ अघि बढेपछि पूर्वी एसियामा सयौँ हवाई उडान रद्द गरिएका छन् । आँधीको जोखिमलाई ध्यानमा राख्दै ताइवानमा विद्यालय, सरकारी कार्यालय र सेयर बजार बन्द गरिएका छन् भने हजारौँ यात्रु प्रभावित भएका छन् ।
बिबिसिका अनुसार चाम्पी शुक्रबार ताइवानमा प्रवेश गर्ने अनुमान गरिएको छ । आँधीसँगै प्रतिघण्टा १७३ किलोमिटरसम्मको झोक्कासहित तीव्र हावा चल्ने र भारी वर्षा हुने पूर्वानुमान गरिएको छ । आँधीको प्रभाव क्षेत्र करिब ३२० किलोमिटरको दायरामा फैलिने भएकाले पूरै टापु प्रभावित हुन सक्ने अधिकारीहरूले बताएका छन् ।
ताइवानका अधिकारीहरूले शुक्रबार देशका २२ मध्ये २१ काउन्टी तथा सहरमा विद्यालय र कार्यालय बन्द गरेका छन् । किनमेन क्षेत्रमा भने सामान्य रूपमा काम र पढाइ सञ्चालन हुने जनाइएको छ । विश्वकै ठूला सेयर बजारमध्ये एक ताइवानको सेयर बजार पनि शुक्रबार बन्द गरिएको छ ।
ताइवानमा शुक्रबारका लागि निर्धारित सबै २६२ आन्तरिक उडान र ६६० भन्दा बढी अन्तर्राष्ट्रिय उडान रद्द गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । रेल तथा फेरी सेवा पनि रोकिएका छन् भने केही राजमार्ग बन्द गरिएका छन् ।
जापानमा पनि जापान एयरलाइन्स र एएनएसहित प्रमुख वायुसेवा कम्पनीहरूले बिहीबारदेखि आइतबारसम्मका १०० भन्दा बढी उडान रद्द गरेका छन् । यसबाट कम्तीमा ११ हजार यात्रु प्रभावित हुने अनुमान गरिएको छ ।
आँधी नजिकिँदै गर्दा ताइवानमा एक जनाको मृत्यु भएको छ भने ९४ जना घाइते भएका छन् । विपद् व्यवस्थापन अधिकारीहरूका अनुसार दक्षिणपश्चिम ताइवाननजिकै रहेको लिउचिउ टापुमा समुद्री छालले बगाउँदा एक जनाको मृत्यु भएको हो । घाइतेमध्ये धेरैजसो सडक दुर्घटना र लडेर चोट लागेका व्यक्ति छन् । सरकारले एक हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिसकेको छ ।
ताइवानको मौसम प्रशासनले राजधानी ताइपेईका केही क्षेत्रमा २४ घण्टाभित्र २०० मिलिमिटरभन्दा बढी वर्षा भएको जनाएको छ । आँधीको प्रभाव शनिबार साँझसम्म जारी रहने अनुमान छ । अधिकारीहरूले समुद्री तट र पहाडी क्षेत्रमा नजान सर्वसाधारणलाई आग्रह गरेका छन् । पहिरोको जोखिममा रहेको उत्तरपूर्वी तटको क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई पनि सुरक्षित स्थानमा सारिँदै छ ।
मौसम पूर्वानुमानअनुसार चाम्पी शनिबार उत्तरतर्फ मोडिने र त्यसपछि जापानतर्फ अघि बढ्ने सम्भावना छ । यसले चीनको पूर्वी तटीय क्षेत्र हुँदै जापानका केही भागमा समेत प्रभाव पार्न सक्छ ।
यस वर्ष पूर्वी एसियामा शक्तिशाली आँधीहरूको गतिविधि असामान्य रूपमा बढेको बिबिसिले जनाएको छ । चाम्पी जापानमा यस वर्ष देखिएको ३०औँ टाइफुन हो । सन् २०१३ पछि पहिलोपटक जापानमा एक वर्षमा यति धेरै आँधी देखिएको बताइएको छ ।
प्रशान्त महासागरको तापक्रम बढाउने शक्तिशाली ‘एल निनो’ अवस्थाले आँधीको गतिविधि थप तीव्र बनाउन सक्ने वैज्ञानिकहरूको आकलन छ । एल निनोले खडेरीदेखि शक्तिशाली आँधीसम्मका चरम मौसमी घटनालाई प्रभावित गर्न सक्छ । यस वर्ष थप टाइफुन विकसित हुन सक्ने वैज्ञानिकहरूले अनुमान गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्