images
images
images
images

अवकाशप्राप्त राष्ट्रसेवकको ज्ञान र सीप राष्ट्र निर्माणमा उपयोग गर्ने अवधारणा सार्वजनिक

images

पूर्वाधार वाच, काठमाडौं ।

सरकारी सेवाबाट अवकाश प्राप्त अनुभवी, दक्ष तथा विषयगत विज्ञ राष्ट्रसेवकहरूको ज्ञान, सीप र अनुभवलाई राष्ट्र निर्माण तथा आर्थिक विकासमा उपयोग गर्ने उद्देश्यसहित ‘उत्पादन वृद्धि, सुशासन र समृद्धिका लागि पूर्व राष्ट्रसेवक परिचालन’ सम्बन्धी अवधारणा सार्वजनिक गरिएको छ ।

images

काठमाडौंमा आयोजित कार्यक्रममा अवधारणा-पत्र तथा विस्तृत कार्यप्रस्ताव सार्वजनिक गर्दै अवकाश प्राप्त राष्ट्रसेवकहरूको अनुभवलाई राज्यको विकास प्रक्रिया, सार्वजनिक सेवा प्रवाह र उत्पादनमूलक क्षेत्रमा पुनः परिचालन गर्ने प्रस्ताव अघि सारिएको हो ।

अवधारणा-पत्रअनुसार नेपालमा हरेक वर्ष करिब चार हजार राष्ट्रसेवक उमेरहदका कारण सरकारी सेवाबाट अवकाश हुने गरेका छन् । लामो प्रशासनिक अनुभव, प्राविधिक दक्षता, संस्थागत ज्ञान र कार्यसम्पादन क्षमता भएका यस्ता जनशक्तिलाई विकास प्रक्रियामा जोड्न सके राज्यले उल्लेखनीय लाभ लिन सक्ने प्रस्तावमा उल्लेख छ ।

प्रस्तावित व्यवस्थाअनुसार अवकाश प्राप्त जनशक्तिलाई परिचालन गर्दा नयाँ कर्मचारी नियुक्तिका लागि लाग्ने खर्चको तुलनामा २५ देखि ५० प्रतिशतसम्म कम लागतमा सेवा लिन सकिनेछ । उनीहरूलाई कामको प्रकृति र आवश्यकताअनुसार यातायात, खाजा तथा भत्ता वा कार्यसम्पादनमा आधारित सेवा सुविधासहित परिचालन गर्ने प्रस्ताव गरिएको छ ।

नेपालको संविधानको धारा ४८ (ग) तथा प्रचलित निजामती सेवा ऐनका व्यवस्थालाई आधार बनाएर आवश्यक नियमावली, कार्यविधि र संस्थागत संयन्त्र निर्माण गरी संघ, प्रदेश तथा स्थानीय तहमा यस्तो कार्यक्रम सञ्चालन गर्न सकिने अवधारणामा उल्लेख छ ।

व्यवस्थित परिचालनका लागि संस्थागत संयन्त्र प्रस्ताव

पूर्व राष्ट्रसेवक परिचालन कार्यक्रमलाई पारदर्शी, व्यवस्थित र नतिजामुखी बनाउन विभिन्न संस्थागत संरचना निर्माण गर्ने प्रस्ताव गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विषयगत मन्त्रालय, मातहतका निकाय तथा समाज कल्याण परिषद्सँग समन्वय गरी कार्यक्रम व्यवस्थापन गर्ने अवधारणा छ ।

त्यस्तै, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत व्यवस्थापन समिति र विषयगत अनुगमन समिति गठन गर्ने प्रस्ताव गरिएको छ । योग्य जनशक्तिको विवरणसहितको रोस्टर तयार गर्ने, कार्यविवरण निर्धारण गर्ने तथा जिम्मेवारी, पारिश्रमिक र कार्यसम्पादन मूल्याङ्कनको स्पष्ट व्यवस्था गर्ने विषयलाई पनि प्रस्तावमा समेटिएको छ ।

कार्यक्रमलाई आवश्यकताअनुसार अन-कल सेवा, विषयगत परामर्श, स्वतन्त्र अनुगमन तथा मूल्याङ्कन टोली र मेन्टरसिपसहितको घुम्ती प्रशिक्षणका रूपमा सञ्चालन गर्न सकिने उल्लेख छ ।

कृषि, पूर्वाधार र सार्वजनिक सेवा सुधारमा उपयोग गरिने

अवकाश प्राप्त राष्ट्रसेवकहरूको अनुभव कृषि तथा उद्यम प्रवर्द्धन, सरकारी सेवा प्रवाह सुधार, विकास आयोजनाको गुणस्तर परीक्षण, बेरुजु फर्छ्योट, शिक्षा, स्वास्थ्य, अनुसन्धान तथा विपद् व्यवस्थापनलगायतका क्षेत्रमा उपयोग गर्न सकिने प्रस्ताव गरिएको छ ।

मालपोत, नापी, यातायात, राहदानी तथा स्थानीय तहका वडा कार्यालयमा सेवा प्रवाहलाई छिटो, सहज र नागरिकमैत्री बनाउन अनुभवी जनशक्तिको सहयोग लिन सकिने अवधारणामा उल्लेख छ ।

त्यसैगरी, विकास आयोजनाको प्राविधिक परीक्षण, निर्माण कार्यको गुणस्तर अनुगमन, प्रशासनिक समस्या समाधान, संस्थागत क्षमता विकास तथा कार्यरत कर्मचारीलाई कार्यस्थलमै व्यावहारिक मार्गदर्शन गर्ने जिम्मेवारीसमेत पूर्व राष्ट्रसेवकलाई दिन सकिने प्रस्ताव छ ।

वन तथा वातावरण क्षेत्रलाई विशेष प्राथमिकता

अवधारणा-पत्रमा वन तथा वातावरण क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको छ । नेपालको कुल भूभागको करिब ४५ प्रतिशत वन क्षेत्र रहेको सन्दर्भमा अवकाश प्राप्त वन अधिकृत, रेञ्जर, फरेस्टर, वन रक्षक तथा अन्य प्राविधिक विज्ञहरूको अनुभव उपयोग गर्ने विस्तृत कार्ययोजना प्रस्ताव गरिएको छ ।

अनुभवी जनशक्ति परिचालन गरी दिगो वन व्यवस्थापन, स्वदेशी काठ उत्पादन, काठमा आधारित उद्यम विकास, जडीबुटी तथा गैरकाष्ठ वन पैदावारको प्रवर्द्धन, जलाधार संरक्षण, पानी पुनर्भरण, कार्बन व्यापार र जलवायु अनुकूलनका कार्यक्रमलाई प्रभावकारी बनाउन सकिने उल्लेख छ ।

यसका साथै वन डढेलो नियन्त्रण, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, वन क्षेत्रको संरक्षण तथा वन सुशासन कायम गर्न संघ, प्रदेश र स्थानीय तहमा पूर्व राष्ट्रसेवकहरूको अनुभव उपयोग गर्न सकिने प्रस्ताव गरिएको छ ।

नयाँ पुस्तामा अनुभव र ज्ञान हस्तान्तरण हुने अपेक्षा

प्रस्तावित कार्यक्रमले अवकाश प्राप्त राष्ट्रसेवकहरूको अनुभव र योगदानलाई सम्मान गर्दै उनीहरूलाई पुनः राष्ट्र निर्माणमा सहभागी हुने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।

अनुभवी जनशक्तिमार्फत नयाँ पुस्ताका कर्मचारी तथा प्राविधिक जनशक्तिलाई मेन्टरसिप, प्रशिक्षण र व्यावहारिक ज्ञान हस्तान्तरण गर्न सकिने भएकाले सरकारी संस्थाहरूको कार्यक्षमता बढाउन तथा संस्थागत ज्ञान संरक्षण गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

अवकाश प्राप्त जनशक्तिको स्वदेशमै उपयोग, युवा जनशक्तिको विदेश पलायनबाट सिर्जित चुनौती न्यूनीकरण, सार्वजनिक सेवा प्रवाहमा सुधार, विकास आयोजनाको गुणस्तर अभिवृद्धि र उत्पादनमूलक क्षेत्रको विस्तारलाई एकीकृत रूपमा अघि बढाउने लक्ष्यसहित अवधारणा तयार गरिएको हो ।

प्रस्तावित कार्यक्रम कार्यान्वयनमा आए अनुभवी जनशक्तिको ज्ञान, सीप र क्षमतालाई राज्यको विकास प्रणालीसँग जोड्न सकिनेछ । यसबाट उत्पादन वृद्धि, प्रशासनिक सुधार, सुशासन तथा आर्थिक समृद्धिको अभियानलाई थप प्रभावकारी बनाउन योगदान पुग्ने अपेक्षा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्