images
images
images
images

कपनगढी सहकारीको १५औँ साधारणसभा सम्पन्न, कुल सम्पत्ति २२ करोड ८९ लाख रुपैयाँभन्दा बढी

images

पूर्वाधार वाच, काठमाडौं ।

कपनगढी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार, २०८३ मंसिर ५ गते कपनस्थित कपन दरबार ब्याङ्क्वेटमा संस्थाका अध्यक्ष दिलिप खत्रीको अध्यक्षतामा साधारणसभा आयोजना गरिएको हो ।

images

सभामा संस्थाको आर्थिक अवस्था, वार्षिक प्रगति, आगामी आर्थिक वर्षको बजेट, लेखापरीक्षण प्रतिवेदन तथा भावी योजनालगायतका विषयमा छलफल गरी विभिन्न प्रस्ताव पारित गरिएको छ ।

सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षले स्वागत मन्तव्य राखेका थिए भने सचिवले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको थियो । त्यसैगरी, आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तावित बजेट, कोषाध्यक्षको आर्थिक प्रगति प्रतिवेदन, आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण प्रतिवेदन तथा लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरी अनुमोदन गरिएको थियो ।

सभाले आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ । साथै, साधारणसभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने प्रतिनिधि चयन तथा विविध विषयमा छलफल गरी आवश्यक निर्णय गरिएको संस्थाले जनाएको छ ।

कुल सम्पत्ति तथा दायित्व २२ करोड ८९ लाख रुपैयाँ

संस्थाले सभामा प्रस्तुत गरेको आर्थिक विवरणअनुसार आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म कपनगढी सहकारीको कुल सम्पत्ति तथा दायित्व २२ करोड ८९ लाख ८२ हजार रुपैयाँ पुगेको छ ।

यस अवधिमा संस्थाको शेयर पुँजी २ करोड ४८ लाख ४५ हजार ५०० रुपैयाँ रहेको छ भने सदस्यहरूबाट संकलित बचत १७ करोड ७३ लाख ४१ हजार रुपैयाँ पुगेको छ । संस्थाले १७ करोड ९४ लाख ७६ हजार रुपैयाँ ऋण लगानी गरेको छ ।

त्यस्तै, नगद तथा बैंक मौज्दात ३ करोड ९१ लाख १९ हजार रुपैयाँ र जगेडा तथा अन्य कोषमा १ करोड ६७ लाख १२ हजार रुपैयाँ रहेको विवरणमा उल्लेख छ ।

आर्थिक वर्ष २०८२/८३ मा संस्थाले २ करोड ५९ लाख ५० हजार रुपैयाँ कुल आम्दानी गरेको छ । सोही अवधिमा कुल खर्च २ करोड ४ लाख ४८ हजार रुपैयाँ रहेको छ । यसअनुसार आयकर तथा अन्य व्यवस्था गर्नुअघिको खुद बचत ५५ लाख १ हजार रुपैयाँ रहेको संस्थाको प्रतिवेदनमा उल्लेख छ ।

तरलता २२.०६ प्रतिशत कायम

सदस्यहरूको बचत सुरक्षालाई प्राथमिकतामा राख्दै संस्थाले औसत २२.०६ प्रतिशत तरलता कायम गरेको जनाएको छ । भाखा नाघेका तथा जोखिममा रहेका ऋणको सुरक्षणका लागि मापदण्डअनुसार करिब ३० लाख ९१ हजार रुपैयाँ ऋण सुरक्षण कोषमा व्यवस्था गरिएको पनि प्रतिवेदनमा उल्लेख छ ।

संस्थाले सदस्यहरूबाट संकलित बचतलाई उत्पादनशील तथा आयआर्जनमूलक क्षेत्रमा परिचालन गर्दै आएको जनाएको छ । सदस्यको आर्थिक हित र बचत सुरक्षालाई केन्द्रमा राखेर वित्तीय कारोबार सञ्चालन गरिएको संस्थाको भनाइ छ ।

२५ जना प्रवर्द्धकबाट सुरु भएको सहकारीमा १ हजार ४३० सदस्य

कपनगढी बचत तथा ऋण सहकारी संस्था २०६८ सालमा २५ जना प्रवर्द्धक सदस्यबाट स्थापना भएको हो । संस्थाको सुरुवाती शेयर पुँजी प्रतिव्यक्ति २५ हजार रुपैयाँका दरले कुल ६ लाख २५ हजार रुपैयाँ संकलन गरी कायम गरिएको थियो ।

२०६८ फागुन १ गते बसेको प्रारम्भिक भेलाले संस्था स्थापना गर्ने निर्णय गरेको थियो । त्यसपछि विनियम सर्वसम्मत रूपमा पारित गरी २०६८ चैत १ गते सहकारी विभागअन्तर्गत डिभिजन सहकारी कार्यालय काठमाडौंमा दर्ता भएपछि संस्थाले औपचारिक रूपमा कारोबार सुरु गरेको थियो ।

सुरुमा कपन गाविसलाई कार्यक्षेत्र बनाएर सञ्चालनमा आएको संस्थाले सदस्यहरूको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासलाई आफ्नो मुख्य उद्देश्य बनाउँदै आएको छ ।

२०८३ असार मसान्तसम्म संस्थामा ७५३ पुरुष, ६६२ महिला र १४ अन्य गरी कुल १ हजार ४३० जना शेयर सदस्य आबद्ध रहेका छन् । अन्तर्राष्ट्रिय सहकारीका मूल्य, मान्यता र सिद्धान्तलाई आत्मसात् गर्दै सदस्यहरूमा छरिएर रहेको पुँजी तथा स्रोतसाधनलाई एकीकृत गरी सामूहिक आर्थिक विकासमा योगदान पुर्‍याउँदै आएको संस्थाले जनाएको छ ।

सदस्यकेन्द्रित सेवा विस्तारमा जोड

साधारणसभाको समापनमा अध्यक्ष दिलिप खत्रीले सभामा उठेका विषय तथा सदस्यहरूले दिएका सुझावबारे आफ्नो धारणा राखेका थिए । उनले सदस्यहरूको विश्वास, सहकार्य र सहभागितालाई संस्थाको प्रगतिको आधारका रूपमा उल्लेख गर्दै आगामी दिनमा वित्तीय अवस्था थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे ।

सदस्यहरूको बचत सुरक्षित राख्ने, वित्तीय अनुशासन कायम गर्ने तथा सदस्यकेन्द्रित सेवा विस्तार गर्ने विषयलाई आगामी कार्यदिशाको प्राथमिकतामा राखिएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्